coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इएमपी कार्यान्वयन नगर्दा धुलाम्मे भयो उपत्यका

काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले वातावरण व्यवस्थापन योजना (इएमपी) कार्यान्वयन नगर्दा उपत्यकामा धुलो बढेको पाइएको छ। निर्देशनालयले पाइप बिछ्याउन सडक खनेका कारण उपत्यका धुलाम्मे छ।

तीन स्वतन्त्र युवालेे सूचनाको हक प्रयोग गरेर निर्देशनालयसँग मेलम्चीको वातावरण व्यवस्थापन योजना माग गरेका थिए।

जगन्नाथ लामिछाने, दिवेश गिरी र प्रियशा महर्जनले योजनाअनुसार काम नभएको पाइएको बताए। 'निेर्देशनालयको योजनामा धुलो भएको सडकमा पानी छर्कने, बढार्ने र तत्कालै कालोपत्रे गर्ने भए पनि निर्देशनालयले पनि योजनाअनुसार काम नगरेको पाइयो,' लामिछानेले भने, ‘योजना बनाएर करोडौं रकम खर्च गर्ने तर कार्यान्वयन नगरेर आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन भएन नि।’

निर्देशनालयले वातावरण व्यवस्थापनका लागि सात लाख ९५ हजार आठ सय ६० अमेरिकी डलर खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। पाँचवर्षे जनचेतनामूलक कार्यक्रम, वातावरण व्यवस्थापन योजना कार्यक्रम सञ्चालन र पुराताŒिवक प्रभाव मूल्यांकनका लागि यो बजेट छुट्याइएको थियो।

'योजनाअनुसार काम नभएकाले धुलो बढेको पाइयो,' लामिछानेले भने।

वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्कीले राजधानीको धुलो र प्रदूषण भावी पुस्तालाई समेत ठूलो स्वास्थ्य चुनौती रहेको बताउँछन्। उनका अनुसार धुलो र प्रदूषणका कारण  हाच्छिउँ आउने, नाक बन्द हुने, घाँटी खसखस हुने र छालामा समस्या देखिन्छन्। 'लामो समय घाँटी दुख्ने र खोकी लागेमा श्वासप्रश्वासमा दीर्घकालीन समस्या देखा पर्न सक्छन्,' उनले भने।

सरोकार निकायले धुलो हटाउन चासो दिएका छैनन्। कोटेश्वरका स्थानीय अनिल नेपाल भन्छन्, 'सडक धुलोले कुइरीमण्डल भइसक्यो। पाइप बिछ्याउने मात्रै  होइन, सडक मर्मत गर्नेतर्फ पनि ध्यान दिनुपर्‍यो।'

आयोजना कार्यान्वयन निर्देशनालय निर्देशक तिरेशप्रसाद खत्री धुलो व्यवस्थापनका लागि दैनिक पानी छर्कंदै आएको बताउँछन्। 'बिहान नियमित  सडकमा पानी छर्किरहेका छौं,' उनले भने, 'हजारौं सवारीसाधन गुड्ने सडक तत्कालै उस्तै देखिन्छ।' निर्देशनालयले आमनागरिकको स्वास्थ्य ख्याल गर्दै वातावरण व्यवस्थापन योजनाअनुसार नै काम गरिरहेको खत्रीको भनाइ छ। भत्काइएका सडक समेत धमाधम कालोपत्रे गरिरहेको उनले बताए। 'राजधानीमा अहिले एकैपटक धेरै पूर्वाधार निर्माण भइरहेकाले धुलो नियन्त्रण गर्न नसकिएको हो,' उनले भने, 'धुलो नियन्त्रण गर्न सबै सडक कालोपत्रे गर्नुपर्छ।'

यसअघि राष्ट्रिय योजना आयोगको नेतृत्वमा खानेपानी तथा सरसफाइ, सहरी विकास, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र केयुकेएलका प्रतिनिधि सम्मिलित बैठकले खानेपानी पाइप बिछ्याउन खनिएका सडकमा दिनको तीनपल्ट अनिवार्य पानी छर्किनुपर्ने निर्णय गरेको थियो।

चावहिलका स्थानीय भने सरकारले नियमित पानी नछर्किएको बताउँछन्। 'यस्तो धुलाम्मे सडकमा दैनिक तीनपटक पानी छर्किएका छौं भनेर कसरी पत्याउनु?’ स्थानीय रुद्र तामाङले भने, ‘बस्न, हिँड्न सकस छ। सरकारले सडक भत्काउने मात्रै होइन। तत्कालै कालोपत्रे पनि गर्नुपर्‍यो।' महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठ धुलो नियन्त्रणका लागि दैनिक चार घन्टा चार ट्यांकरले पानी छर्किने र एउटा बु्रमरले सडक सफा गर्दै आएको बताउँछन्।

वातावरण मन्त्रालय वातावरण विभाग, प्रदूषण महाशाखा प्रमुख शंखरप्रसाद पौडेलले पनि पछिल्लो समय निर्देशनालयले वातावरणमा परेको असरलाई ध्यान दिएरै काम गरिरहेको बताए। ‘अहिले निर्देशनालयले वातावरणमा परेको असरमा चासो दिएकै छ,’ निर्देशनालयको वातावरणीय गतिविधिको अनुगमन समेत गरिरहेका पौडेलले भने, ‘पहिले केही कमजोरी भए पनि अहिले वातावरण बिग्रिएर जनस्वास्थ्यमा परेको असरलाई मध्यनजर गरेर निर्देशनालय अगाडि बढिरहेको छ।’

 

प्रकाशित: २६ फाल्गुन २०७३ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App