८ वैशाख २०८१ शनिबार
समाज

वागमती सफाइको दुई सय हप्ता मनाइँदै

काठमाडौं- सरकारले वागमती सफाई महाअभियान दुई सय साता पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रमका लागि मुख्यसचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ।

'यही शनिबार वागमती सफाई महाअभियानको २००औं हप्ता पूरा हुन लागेको अवसरमा सरकारले यसलाई विशेष ढंगले मनाउन लागेको हो,' महाअभियान प्रचार उपसमिति संयोजक सूचना तथा सञ्चारसचिव महेन्द्रमान गुरुङले भने।

उनका अनुसार महाअभियान अवसरमा सरकारले बिहीबार कवि सम्मेलन तथा नेपाल सफाइ सम्मेलन आयोजना गर्न लागेको छ। त्यस्तै, शुक्रबार बिहान नेपाल सफाइ र्‍याली तथा शनिबार सुन्दरीजलदेखि चोभारसम्म १४ वटा विभिन्न क्षेत्रमार्फत बृहत् कार्यक्रमको आयोजना गर्न लागिएको सचिव गुरुङले बताए।

कार्यक्रमबारे जानकारी दिन सोमबार सञ्चार मन्त्रालयमा कार्यक्रम आयोजना गरियो।

महाअभियानको मूल समारोह प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा शंखमूल मनोहरा दोभानमा सम्पन्न हुनेछ भने बाँकी १४ क्षेत्रमा पनि विशिष्ट अतिथिको उपस्थिति हुने जनाइएको छ। मूल समारोहबाहेकका क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रिपरिषद् पूर्वअध्यक्ष खिलराज रेग्मी तथा राप्रपा अध्यक्ष कमल थापालगायत विशिष्ट अथितिको उपस्थिति हुने सचिव गुरुङले जानकारी दिए।

१४ वटै क्षेत्रलाई प्रभावकारी बनाउन सरकारले विभिन्न मन्त्रालयका सचिवलाई संयोजक तोकेको छ।

कार्यक्रमलाई भव्य बनाउन उपत्यकाका विभिन्न ठाउँमा २५ वटा गेट निर्माण गर्न लागिएको छ। कार्यक्रमको प्रचारका लागि विभिन्न सञ्चारमाध्यम तथा सार्वजनिक स्थानमा समेत विज्ञापन गर्न लागिएको सचिव गुरुङले जनाए। महाअभियानको विशेष अवसरमा विभिन्न क्षेत्रका मानिसको व्यापक उपस्थितिका लागि प्रयास गरिने समितिले जनाएको छ। ०७० जेठ ५ बाट सुरु भएको वागमती सफाइ महाअभियानअन्तर्गत हालसम्म वागमती नदीबाट सात हजार पाँच सय मेटि्रक टन फोहोर निकालिएको छ। यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रचार उपसमितिले जनाएको छ।

प्रकाशित: २६ फाल्गुन २०७३ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App