६ वैशाख २०८१ बिहीबार
समाज

डलर साट्ने नाममा ठगी गिरोह सक्रिय

काठमाडौं- देउमाया रिमालले गत पुस २८ गते महानगरीय प्रहरी अपराध महाशाखामा डलर साट्ने भन्दै १० लाख रुपैयाँ ठगेको आरोपमा बुनु तामाङ लामाविरुद्ध उजुरी दिइन्। पाँचथरमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी रिमाललाई तामाङले भूकम्पका बेला फेला पारेको ठूलो परिमाणमा डलर रहेको भन्दै कम मूल्य भए पनि साटिदिन आग्रह गरे। सस्तो मूल्यमा डलर पाइने लोभमा रिमाल पैसा बोकेर तामाङसँगै धादिङको गल्छी पुगिन्। गल्छी पुगेपछि तामाङले ठगी गरेर भागेको रिमालको उजुरीमा उल्लेख छ।

माघ २ गते सुनिल घिमिरेका नामबाट डलर साट्ने बहानामा दुई लाख रुपैयाँ ठगी गरेको उजुरी महाशाखामा दर्ता भयो। सिन्धुपाल्चोक घर बताउने अशोक गोलेलाई प्रतिवादी बनाएर दर्ता गराएको उजुरीमा घिमिरेले भूकम्पमा फेला पारेको डलर साट्न पासपोर्ट नभएको भन्दै गोलेले झुक्याएर आफूलाई ठगेको उल्लेख गरेका छन्।

महाशाखामा माघ ९ गते शिवजी ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक बताउने शैलेशविरुद्ध राधादेवी घिमिरेले ठलर ठगीको आरोपमा उजुरी दर्ता गराइन्। दुबई जाँदा डलर आवश्यक पर्ने भन्दै डलर साटिदिने बहानामा ६५ हजार रुपैयाँ लिएर आरोपित फरार भएको उजुरीमा उल्लेख छ।

गत पुस ८ गते महाशाखामा अर्जुन थापाले दिएको उजुरीमा देव तामाङ र राजु सिंहले पाँच लाख रुपैयाँ ठगेको उल्लेख छ। यसमा पनि डलर साटिदिने भन्दै ठगी गरेको जनाइएको छ।

यी घटनामध्ये देउमायालाई १० लाख ठगी गर्ने बुनु पक्राउ परेका छन् भने बाँकी आरोपित फरार छन्। तामाङलाई थप कारबाहीका लागि प्रहरीले धादिङ पठाएको छ।

यसरी हुन्छ ठगी

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक किरण न्यौपानेका अनुसार ठगी गर्ने गिरोहले आफ्नो 'सिकार' फसाउनुभन्दा पहिले विभिन्न उपाय अपनाउँछन्। उनीहरूले होटल तथा पसलमा खाना तथा खाजा खाएपछि नेपाली रुपैयाँ नभएको भन्दै डलर भुक्तानी गर्छन्।

डलर भुक्तानी गर्दा पसलेबाट सकारात्मक प्रतिक्रिया पाएमा त्यस्ता गिरोले आफूसँग ठूलो परिमाणमा यस्तो रकम रहेको भन्दै सस्तो मूल्यमा साटिदिन आग्रह गर्छन्।  'विश्वास दिलाउन १०/२० डलरलाई सक्कली भए–नभएको चेक गर्न भन्दै गिरोहले सम्बन्धित व्यक्तिलाई सक्कली डलर दिने गर्छन्', न्यौपानेले भने।

आफूले फसाएका व्यक्तिलाई पूर्ण रूपमा विश्वास दिलाएपछि प्रहरीले पक्रन सक्ने भन्दै डलर साट्न एकान्तमा लैजाने र सक्कली डलर देखाएर सम्बन्धित व्यक्तिबाट पैसा लिएपछि रुमालमा कसिलो गरी बाँधेको नक्कली डलर दिएर फरार हुने गरेको प्रहरीको भनाइ छ। डलर लिइसकेपछि पीडितले रुमाल खोल्ने बेलासम्म ठगी गर्ने व्यक्ति फरार भइसक्ने प्रहरीले जनाएको छ।

'डलरकै आकारको कागज राखेको रुमाल कसिलो गरी बाँधिएको हुन्छ। त्यो खोल्नै २/३ मिनट लाग्छ त्यतिबेलासम्म ठग फरार भइसक्छ', न्यौपानेले भने। यस्ता गिरोहले ठूलो परिमाणमा डलरको प्रलोभन देखाएर लाखौं ठगी गरेको पाइएको न्यौपानेको भनाइ छ। 

निशानामा होटल व्यवसायी

अपराध महाशाखाका अनुसार डलर साट्ने भन्दै ठगीमा पर्नेमध्ये अधिकांश होटल व्यवसायी छन्। ठगले सामान्य अवस्थामा होटलमै गएर विभिन्न उपाय अपनाएर व्यवसायीको विश्वास जित्छन्। कतिपय अवस्थामा होटल व्यवसायीलाई फोन गरेर आफूसँग डलर भएको बताउँदै सस्तोमा साटिदिन आग्रह गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यसरी ठगिनेमा पोखरा, नवलपरासी, मनाङलगायतका  व्यवसायी बढी छन्। डलर ठगीमा १०/१२ समूह सक्रिय रहेको न्यौपानेको अनुमान छ।

उजुरी गर्नै डराउँछन् पीडित

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्की पछिल्लो समय डलर ठगीका घटना धेरै हुन थालेको बताउँछन्। छिट्टै धनी बन्ने लोभले डलर ठगीमा पर्नेको संख्या धेरै भए पनि उजुरी गर्नेको संख्या न्यून रहेको उनको भनाइ छ। गैरकानुनी रूपमा डलर खरिद गर्ने तथा बिक्री गर्नै दुवै कानुनको दायरामा आउने भएकाले सानो रकम ठगिएकाहरू उजुरीका लागि नआउने उनले जानकारी दिए।

प्रकाशित: २६ फाल्गुन २०७३ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App