coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हतारको संशोधनले संकट : पौडेल

चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हतारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा पर्छ भनेर आफूले प्रधानमन्त्रीलाई बेलैमा सचेत गराए पनि बेवास्ता गरिएको बताएका छन्।

भरतपुरमा बुधबार आयोजित कार्यक्रममा नेता पौडेलले अब सत्ताको सन्दर्भलाई जोडेर भए पनि राष्ट्रिय सहमति नगरे तोकिएको मितिभित्रै तीनै तहका चुनाव सम्पन्न हुने वातावरण नभएको पनि बताए।

'मैले प्रस्टसँग प्रधानमन्त्री र हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजीलाई हतारमा संविधान संशोधन प्रस्ताव अघि नबढाऔं, एमाले र मधेसी दलसँग छलफल गरेर मिलनविन्दु खोजेर जाऔं भनेको थिएँ। प्रधानमन्त्रीलाई त हतार गरे तपाईंको कुर्ची नै संकटमा पर्छ पनि भनेको हुँ। तर म जापान गए, यहाँ उहाँले संशोधन दर्ता गराउनुभएछ', पौडेलले भने। संशोधन प्रस्ताव अन्योलमा पर्दा देश र चुनाव पनि अनिश्चित भएको उनले बताए।

 उनले राष्ट्रिय सहमति गरेर देशलाई निकास दिनुपर्ने बेला आएको बताए। 'चुनावका लागि सहज वातावरण बनाउन सबै जिम्मेवार पक्ष हदैसम्म लचिलो भएर लाग्नुपर्छ। अब आवश्यक परे सत्ताको सन्दर्भमै राष्ट्रिय सहमति गरेर अब देशलाई निकास दिनुपर्‍यो',  पौडेलले भने।

 'सहमति व्यवस्थाका लागि गरौं सत्ताका लागि नगरौं' भन्ने आफ्नो मत रहेको पनि उनले बताए। 'देशमा चारवटै पक्षबीच सहमति आवश्यक छ। एकताको आधार, छुट्टिने र जोडिने आधार फेरि पनि सत्ता नै हुँदोरहेछ। त्यसैले सत्ताकै लागि भए पनि राष्ट्रिय सहमति गरौं भन्ने विन्दुमा म पुगेको छु', पौडेलले भने।

नेता पौडेलले मधेसी दलका नेता र मधेसका जनताका कुरा फरक–फरक भएको बताएका छन्। उनले मधेसी नेताको धारणा र माग नै त्यहाँका जनताको हो भनेर बुझ्नु गलत हुने बताए।  'मधेसी जनताले चाहेको संघीयता र समावेशी हो, संविधानले त्यो पूरा गरेको छ। यो विषय बुझाउन हामीले जनतासँग सम्वाद गरौं', पौडेलले भने। संविधान जारी भएपछि मधेसमा कांग्रेसको उपस्थिति कम भएको पनि उनले बताए।

 सप्तरी घटनाप्रति टिप्पणी गर्दै पौडेलले एउटा राजनीतिक पार्टी देशको कुनै भूभागमा जानै नपाउने अवस्था आउनु दुःखद भएको बताए। सप्तरी घटनाको मूल कारणमा गएर समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो।

 मधेसी दलका नेतालाई उनको आग्रह थियो, 'संविधानले मधेसका माग सम्बोधन गरेको अवस्था छ। अब पनि द्वन्द्व मच्याएर देशलाई कहाँ पुर्‍याउने? त्यसैले विचार गर्नुपर्ने बेला आएको छ। हामी कुन शक्तिको चक्करमा फसेका छौं, निमित्तनायक मात्रै भयौं कि भनेर सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।' 

प्रकाशित: २६ फाल्गुन २०७३ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App