८ वैशाख २०८१ शनिबार
खेल

चेल्सीको अग्रता पुनस्र्थापित

लन्डन(एएफपी)– इडेन हाजार्डको उत्कृष्ट गोलप्रेरित चेल्सी सोमबार वेस्ट ह्याममा २–१ को विजयनतिजा निकाल्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १० अंकको अग्रता पुनस्र्थापित गर्न सफल भएको छ।
एन्टोनियो कोन्टेको टोलीका लागि हाजार्डले अत्यन्तै तीव्र गतिमा भएको काउन्टर अट्याक मुभलाई गोलमा परिणत गर्दै २५औं मिनेटमा अग्रता दिलाएका थिए । डिएगो कोस्टाले ५०औं मिनेटमा गोल थपेपछि टोलीको जित पक्का भइसकेको थियो । चेल्सीका लागि कोस्टाको यो ४९औं लिग गोल थियो । घरेलु मैदानमा म्यानुअल लान्जिनीले इन्जुरी समयमा वेस्ट ह्यामका लागि एक गोल फर्काए पनि पुनरागमनका लागि निकै ढिलो भइसकेको थियो ।
‘मेरो विचारमा हामीले एउटा राम्रो खेल खेल्यौं र खेललाई पूर्ण रूपमा नियन्त्रणमा राखेका थियौं । अन्तिम समयमा गोल खानु दुःखको विषय हो । अन्तिम समयमा गोल खाएर पोस्ट सुरक्षित नरहेको सन्देश दिनु राम्रो होइन,’ चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘यो पक्षमा हामीले केही सुधार गर्नुपर्छ । तर आजको नतिजासँगै समग्र प्रदर्शनबाट म सन्तुष्ट छु । हामीले खेलमा एकाग्रता, प्रतिबद्धता र जितको भोक प्रदर्शन ग¥यौं ।’
सप्ताहान्तमा निकट प्रतिद्वन्द्वीहरू टोटेनह्याम र म्यानचेस्टर सिटीले विजय हासिल गरेपछि चेल्सीमाथि दबाब थियो । तर सोमबारको नतिजापछि कोन्टेको टोली उपाधिको थप नजिक पुगेको छ । ११ खेल बाँकी रहेको अवस्थामा चेल्सी ६६ अंकका साथ शीर्ष स्थानमा रहँदा टोटेनह्याम ५६ अंकका साथ दोस्रो तथा सिटी ५५ अंकका साथ तेस्रो स्थानमा छन् । सिटीले एक खेल कम खेलेको छ ।
पछिल्लो पटक अक्टोबरमा दुई टोलीबीच लिग कपको खेलमा भेट हुँदा वेस्ट ह्यामले चेल्सीमाथि २–१ को जित हासिल गरेको थियो । तर सोमबारको दृश्य ठीक उल्टो रह्यो । अन्तिम समयमा लान्जिनीको गोल  मात्र घरेलु टोलीले चित्त बुझाउने एउटा पक्ष थियो ।
‘चेल्सी अहिले निकै उच्च फर्ममा छ र एकरूपको प्रदर्शन गरिरहेको छ । त्यसैले उनीहरू फराकिलो अग्रतासहित लिगको शीर्ष स्थानमा छन्,’ पराजयपछि अंकतालिकाको ११औं स्थानमा कायम रहेको वेस्ट ह्यामका प्रशिक्षक स्टेभन बिलिकले भने, ‘चेल्सीलाई हराउन उनीहरूकै गल्ती कुर्नुपर्छ । अरू उपायबाट उनीहरूलाई हराउन सकिन्न ।’
पछिल्लो भेटमा चेल्सीलाई हराएको वेस्ट ह्यामसामु सोमबार उत्साहित हुनुपर्ने थुप्रै कारण थिए । घरेलु मैदानमा खेल्दा अघिल्लो खेलको नतिजाले टोलीलाई मनोबल दिएको थियो । साथमा चोटका कारण एक महिनासम्म मैदानबाहिर रहेका स्टार स्ट्राइकर एन्डी क्यारोलले पनि यही खेलमार्फत मैदानमा पुनरागमन जनाएका थिए । क्यारोलको आगमनले आक्रमणमा थप आत्मविश्वासी देखिएको टोलीले सबै बल अगाडि उनैलाई फालेको थियो । चेल्सीको रक्षापंक्तिले पनि उनैलाई बढी महत्व दिँदा अन्तिम समयमा लान्जिनीले गोलको मौका पाएका थिए ।

प्रकाशित: २५ फाल्गुन २०७३ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App