coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रणनीतिक महत्वको सडक पूरा गर्न कुनै कसर छाेडिन्न– उपप्रम गच्छदार

काठमाडौँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले भौतिक पूर्वाधार, सडक, रेल यातायातको विकासका लागि सरकारले योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम अगाडि सारेको र त्यसलाई पूर्ण क्षमतामा कार्यान्वयन गरिने बताएका छन्।

व्यवस्थापिका–संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायातको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ आज दिँदै उनले भौतिक पूर्वाधारको विकासका लागि पाँच वर्षे रणनीतिक योजना अगाडि सारेर त्यसलाई संस्थागत गर्ने प्रयास गरेको बताए।

सरकारले उत्तर दक्षिण कोरिडोर, कर्णाली करिडोर, मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, रसुवागढी गल्छी सडक पूरा गर्दै नेपाल–भारत जोड्ने महत्वपूर्ण सडकखण्डलाई छ लेनको बनाइने, काठमाडौँ निजगढ द्रुतमार्गलाई आगामी पाँच वर्षभित्र सम्पन्न गरिने उनको भनाइ छ ।

सवारी साधनलाई आगामी आवभित्र इम्बोस्ड नम्बर उपलब्ध गराइने उल्लेख गर्दै उनले सम्भाव्यता भएका क्षेत्रमा केवलकार निर्माण गर्न सहज वातावरण बनाइने र सहज सडक सञ्जाल निर्माण गर्न सबै साधन र स्रोतको प्रयोग गरिने स्पष्ट पारे।

काठमाडौँ उपत्यकामा एक हजार २९८ योजना अगाडि बढेको जानकारी दिँदै उपप्रधानमन्त्री गच्छदारले ठूला योजनालाई समयमै सम्पन्न गर्ने र साना आयोजनालाई स्थानीय निकायको सहयोगमा सम्पन्न गरिने, नागढुङ्गा–नौबिसे क्षेत्रमा सुरुङ मार्ग निर्माण सुरु गर्न परामर्शदाता चयन गरिन लागेको जानकारी दिए।

कर्णाली राजमार्गलाई स्तरोन्नति गर्दै सो राजमार्गका पुल निर्माण गरिने र कालोपत्रे गरिने जानकारी दिँदै उनले अन्य राजमार्गको मर्मत सम्भारलाई व्यवस्थित रुपमा अगाडि बढाउने र चार लेनको बनाउनेतर्फ ध्यान दिइएको छ भने।

अरनिको राजमार्ग, धुन्चे–रसुवागढी राजमार्ग सडक पुनःनिर्माण तथा स्तरोन्नतिको काम सुरु भएको भन्दै उनले सडक तथा पुल निर्माणका कामलाई जारी राख्दै हुम्ला सदरमुकाम जोड्ने सडक निर्माणलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै उनले आगामी दुई वर्षभित्र डोल्पा सदरमुकामलाई सडक सञ्जालमा जोडिने मन्त्री गच्छदारले जानकारी दिए।

काठमाडौँ तराई द्रुत मार्ग निर्माण गर्ने लक्ष्य सरकारले राखेको भन्दै उहाँले सो परियोजनाका लागि रु १० अर्बको बजेट वक्तव्यमा नै उल्लेख गरिएको र हेटौँडा–बुधुने सडक सोही मार्गको प्रमुख अङ्गका रुपमा राखिएको बताए।

बाढी तथा पहिरो प्रभावित राजमार्गमा हेभी इक्युपमेन्ट तम्तयारी हालतमा राखिएको भन्दै उनले नारायणगढ–मुग्लिन सडकखण्डको अर्को किनारामा दुई लेनको सडक निर्माणको प्रक्रिया सुरु गरिने र नारायणगढ–मुग्लिन सडकलाई आगामी आवभित्र चार लेनको बनाइने स्पष्ट पारे।

प्रत्येक निर्वाचन क्षेत्रमा एक सडक र एउटा पुलको योजनालाई न्यूनतम रुपमा अगाडि बढाइने र काठमाडौँ उपत्यकाभित्र बाहिरी चक्रपथ निर्माण प्रक्रिया सुरु गर्न चीन सरकारसँग सहयोगका लागि आग्रह गरिएको बताए।

सांसदहरु कृपासुर शेर्पा, रामकृष्ण यादव, पार्वती चौधरी डिसी, अमरसिंह पुन, गुरुप्रसाद बुर्लाकोटी, डिल्लीप्रसाद काफ्ले, तारामान गुरुङ, आदित्यनारायण कशौधन, अमरबहादुर थापा, हरिप्रसाद नेपाल, बुद्धिराम भण्डारी, भरतबहादुर खड्का, तुलसा राना, ओङ्दी शेर्पा, ओफीलाल ओखेडा, दीर्घराज भाट, प्रकाश शर्मा पौडेल, चूडामणि विक जङ्गली, तेलुलाल चौधरी, दीलमान पाख्रिन, प्रेम सुवाल, रामेश्वर फुयाँललगायतले उपप्रधानमन्त्री गच्छदारसँग स्पष्टीकरण माग्गेका थिए। रासस

 

प्रकाशित: २५ असार २०७३ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App