७ वैशाख २०८१ शुक्रबार
विचार

नारी दिवसको विक्रासक्रम

संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो। सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखिमात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो। नेपाली पञ्चाङ्गअनुसार यो दिवस सालाखाला फागुन २५ गते पर्छ । यसरी संसारका विभिन्न देशले ५० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमितरूपमा यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भनी निर्णय गरेको वर्ष सन् १९०९ सम्ममा संसारमा नारीलाई मत दिने अधिकार केवल न्युजिल्यान्ड, अस्ट्रेलिया र फिनल्यान्ड गरी ३ देशमा मात्र सीमित थियो । न्युजिल्यान्डमा सन् १८३० मा, अस्ट्रेलियामा सन् १९०२ मा र फिनल्यान्डमा सन् १९०६ मा महिलाले मत दिने अधिकार पाएका थिए । नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिने भनी संयुक्त राष्ट्र सङ्घबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्यान्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको हो । नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि.सं. २००७ देखि नै प्राप्त भएको हो । भारतले भने त्यहाँको अधिवेशनमा एक प्रस्ताव पारित गरी भारतीय राष्ट्रिय काङ्ग्रेसले  नारीलाई मत दिने अधिकार दिन माग गरेकामा त्यस बेला त्यो मागलाई घरेलु समस्या भनी पन्छाइयो र पछि सन् १९२० देखि १९२९को बीचमा विभिन्न प्रस्ताव पारित गर्दै अन्त्यमा नारीलाई मत दिने अधिकार दिइएको हो ।

यसरी हरेक वर्षको मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आइएकामा सन् १९७२ (वि.सं. २०२९) डिसेम्बर १८ का दिन संयुक्त राष्ट्र सङ्घको साधारण सभाले एक प्रस्ताव पारित गरेर सन् १९७५ (वि.सं.२०३२ साल) लाई अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाएर संसारका सबै देशका सबै नारी पुरुषसरह स्वतन्त्र र बन्धनमुक्त होउन्, उनीहरूमा पनि जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावना विकास होस् भन्ने विश्वव्यापी मान्यता हो ।

यसरी विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । श्रीलङ्कामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत तत्तत् देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे । नेपालमा प्रधानमन्त्री बिपी कोइरालाको प्रधानमन्त्रित्वकालमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकामा अहिले आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु भनेको यो सवालमा विश्व इतिहासमा नेपाल अग्र पङ्क्तिमा देखा पर्नु हो । विश्वका महिलाले नेपालका महिला सहभागिताको उदाहरण देखेर हर्ष मान्नुपरेको छ । यो उदाहरण नै अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्षको उपादेयता हो । यसप्रकार नेपालमा एकै समयमा राजनीतिक र न्यायिक उच्च पदमा महिला सहभागी हुनुले विश्व गिनिज बुकमा नेपालको नाम लेखाउनुपर्ने वातावरण सिर्जना भएको छ । यति हुँदा पनि नेपालका महिलाले अधिकार पाइएन, पुरुषको दास भएर बस्नुप¥यो, भातभान्सामा रुमल्लिनुप¥यो भन्नु मानसिक कमजोरीमात्र हो ।

 

प्रकाशित: २५ फाल्गुन २०७३ ०२:३५ बुधबार

नारी दिवसको विक्रासक्रम