८ वैशाख २०८१ शनिबार
समाज

‘वन डढेको देख्दा मनमा डढेलो लाग्छ’

भोटसिपा (सिन्धुपाल्चोक)-भोटसिपा गाविस–८ का ऋषिराम भट्टराई गर्मीयाम सुरु भएपछि निकै चिन्तित हुन्छन् । आफूहरूले दुःख गरेर जोगाएको वन डढेलोले खाने हो कि भन्ने चिन्ता गर्छन्। गाउँलेलाई भेला गराएर डढेलो लाग्न नदिन अनेक उपाय सिकाउँछन्।

‘हामीले के गरेनौं ? डढेलो लगाउनेलाई तह लगाउन झोलामा ढुंगा बोकेर हिँड्यौं, डोको पनि बोकेर हिँड्यौं’, ६४ वर्षीय भट्टराईले भने, ‘ढुंगाले हान्दा ज्यान गयो भने को जिम्मेवार हुने भन्ने प्रश्न उठ्न थालेपछि ढुंगा बोक्न पनि बन्द ग¥यौं ।’

तर उनी अहिले पनि भन्छन्, ‘जब वनमा डढेलो लागेको देख्छु, तब मनमा पनि डढेलो लाग्छ । जन्मदेखि मर्ने बेलासम्म चाहिने वनजंगल बर्सेनि लाग्ने डढेलोले सकिने त होइन भन्ने चिन्ता लागिरहन्छ ।’

इन्द्रावती सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले संयोजन गरेको डढेलो नियन्त्रण सचेतना अन्तरक्रियामा भट्टराईले भने, ‘गाउँघरकै छरछिमेक रक्सी र कुखुरा वनमै लगेर खान्छन्, उनीहरूविरुद्घ कसरी उजुरी दिनु ? शत्रु मात्र कमाइन्छ ।’ उनले जिल्ला वन अधिकृत शिव सापकोटासमक्ष माग राखे, ‘हामी सूचना त दिन्छौं तर हाम्रो नाम गोप्य राख्नुपर्छ । गोप्य रुपमै पुरस्कृत पनि गर्नुपर्छ ।’

                अर्का सहभागी बुद्घिप्रसाद भट्टराईले भने वन कर्मचारीले वास्ता नगरेको दुःखेसो पोखे । ‘वनमा डढेलो लागिरहेको छ, अतिक्रमण भइरहेको छ । तपार्इंहरू कहा“ हुनुहुन्थ्यो ? आज भर्खर अनुहार देख्न पाइयो’, उनले भने, ‘हामीस“ग साधनस्रोत पनि केही छैन । जनताले मात्र कसरी डढेलो नियन्त्रण हुन्छ ?’  भट्टराईले वन कर्मचारी कहिलेकाहीं आइदिए आफूहरूलाई पनि संरक्षणमा हौसला बढ्ने बताए ।

जिल्ला वन अधिकृत शिव सापकोटाले भने आफूहरूस“ग जनशक्ति र साधनस्रोत अभाव भएको जिकिर गरे। ‘तपाईंहरू सधैं राज्यको मात्रै भर नपर्नुहोस् । हामीस“ग पनि धेरै चिज अभाव छ ।’ उनले २२ जना कर्मचारी रिक्त भएको ११ वटा गाविस हेर्नुपर्ने नवलपुर इलाका वन कार्यालयमा एक सहायक वन अधिकृत र दुई मात्र रेन्जर भएको जानकारी दिए । उनले भने, ‘११ गाविस हेर्ने कार्यालयमा एउटा मोटरसाइकल पनि छैन । तपाईंहरू आफंै भन्नुहोस् हाम्रा कर्मचारी कसरी घुम्न सक्छन् ?’

सापकोटाले डढेलो नियन्त्रणका लागि इन्द्रावती पुस्तकालयलाई एक सेट आगो निभाउने औजार र पोसाक हस्तान्तरण गरे । ‘यो तपाईंहरूका लागि पर्याप्त हुँदैन । सामान्य अवस्थामामात्र प्रयोग गर्न सकिन्छ । भौगोलिक विकटताले गर्दा तराईको तुलनामा पहाडमा डढेलोको जोखिम हुन्छ  । त्यसैले आगो लाग्न नदिनु सबैभन्दा ठूलो उपलब्धि हो’, सापकोटाले भने, ‘यो कार्यमा हामी तपाईंहरूलाई सहयोग गर्छांै ।’

वन ऐन २०४९ को दफा ४९ ‘ख’ ले आगो लगाउन तथा आगलागी हुन जाने कार्यलाई अपराध मानेको छ । दफा ५० ‘ख’ यसमा बिगो असुली गरी १० हजार रुपैयाँसम्म जरिबाना वा एक वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । ‘ऐनमा यस्तो व्यवस्था गरे पनि डढेलो लगाउने मान्छेविरुद्घ उजुरी नपर्नाले अहिलेसम्म कसैलाई कारबाही गर्न सकिएको छैन’, उनले भने ।

वन विभागअन्तर्गतको वन व्यवस्थापन शाखाका प्रमुख मोहनराज काफ्लेले सामुदायिक वनको तुलनामा राष्ट्रिय वन डढेलोको बढी जोखिममा रहेको बताए । ‘सामुदायिक वन समुदायको नजिक रहने भएका ती बढी सुरक्षित छन् । तर राष्ट्रिय वन बस्तीबाट धेरै टाढा हुन्छन्, ती बढी असुरक्षित छन्’, उनले भने ।

काफ्लेले पर्याप्त जनशक्ति र साधनस्रोत अभावले गर्दा डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्न नसकिएको बताए । ‘पहिलो त मानव स्रोत अभाव छ । डढेलो नियन्त्रण तालिम प्राप्त त छँदैछैन’, उनले भने । तर सरकारले पछिल्लो समय सात सय जना सशस्त्र वनरक्षक राख्ने निर्णय गरेको काफ्ले जानकारी दिए ।

उनले डढेलो भनेको वनले मात्र नियन्त्रण गर्नुपर्छ भन्ने बुझाइ राज्यको भएको बताए । ‘यो गलत हो, डढेलो नियन्त्रण राष्ट्रिय प्राथमिकताको योजनामा पर्नुपर्छ । सबै निकायले उत्तिकै जिम्मेवारी लिनुपर्छ’, उनले भने । वन विभागले डढेलो नियन्त्रणका लागि भनेर १० करोड रुपैयाँ छुट्ट्याएको छ । यसमध्ये साढे चार करोडको डढेलो नियन्त्रण उपकरण खरिद गरिएको छ । साढे पा“च करोड रुपैयाँ सचेतना कार्यक्रमका लागि छुट्ट्याइएको काफ्लेले जानकारी दिए । ‘विभिन्न जोखिम क्षेत्रमा दुई सय वटा पोखरी निर्माण गर्ने र भएका पोखरीलाई मर्मतसम्भार गर्ने कार्यक्रम छ’, उनले भने ।

विश्वमा मानवीय र प्राकृतिक कारणले आगलागी हुने गरेका छन् । तर नेपालमा ९९ प्रतिशत ढडेलो मान्छेले जानेर वा नजानेर लगाइरहेका छन् । यसमध्ये ६४ प्रतिशत डढेलो मान्छेले गलत नियतले लगाउने गरेका छन् भने ३२ प्रतिशत लापरबाहीका कारण लाग्ने गरेको छ । चार प्रतिशत डढेलोको कारण खुल्न सकेको छैन । वन क्षेत्रको अतिक्रमण गर्न खोरिया फडानीका नाममा, वन्यजन्तुको सिकार गर्न, हरियो घास उत्पादन हुन्छ भन्ने गलत अवधारणका कारण, कृषिजन्य वस्तु जलाउँदा, गोठालाले डढेलो लगाउने गरेका छन् । मध्यफागुनदेखि मध्यवैशाखबीचको समय डढेलोका दृष्टिकोणले निकै जोखिम मानिन्छ । भौगोलिक विकटताले गर्दा तराईको तुलनामा पहाडमा वनजंगलमा लाग्ने आगो बढी जोखिमपूर्ण हुन्छ । त्यसलाई नियन्त्रण गर्ने सम्भावना कम रहन्छ ।

वन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो वर्ष मात्र मुलुकका ७२ वटा जिल्लामा २८४२ ठाउँमा डढेलो लागेको थियो । डढेलो निभाउने क्रममा ११ जनाको मृत्यु र ११ जना घाइते भएका थिए । सन् २००९ मा डढेलो निभाउन गएका १३ जना सैनिकसहित ४९ जनाको निधन भएको थियो । सन् २०११ देखि सन् २०१६ सम्म ३२ जनाको मृत्यु र ३८ जना घाइते भएका थिए ।

                काफ्लेका अनुसार डढेलोले आर्थिक, पारिस्थितिकीय, सामाजिक र वातावरणीय क्षेत्रमा क्षति पु¥याइरहेको छ । वनजन्य स्रोतको विनाश हु“दा ग्रामीण जीविकोपार्जनमा असर गरेको छ । काठदाउरा जलेर नष्ट भइरहेका छन् । आगलागीले वनको उत्पादन घट्छ, वन्यजन्तुको बासस्थान विनाश तथा उर्वर  माटो नष्ट हुन्छ । जैविक विविधता नष्ट हुनका साथै भूक्षय र पानीका स्रोत सुकिरहेका छन् । मानवीय क्षति पनि त्यत्तिकै छ । जलवायु परिवर्तनको प्रमुख कारण मानिएको कार्बनडाइअक्साइड उत्सर्जन अत्यधिक हुन्छ ।

डढेलो कतिबेला ?

नवलपुर इलाका वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत सुदीप छत्कुलीका अनुसार तापक्रम २५ डिग्री सेल्सियसभन्दा बढी भएमा, हावामा पानीको मात्रा ३० प्रतिशतभन्दा कम भएमा, हावाको गति प्रतिसेकेन्ड चार मिटरभन्दा बढी भएमा डढेलो फैलिने र लाग्ने जोखिम अझ बढी हुन्छ ।

 

प्रकाशित: २५ फाल्गुन २०७३ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App