६ वैशाख २०८१ बिहीबार
समाज

रोकेन प्रगति दृष्टिले

काठमाडौं-बाल्यकालमा उनी खुबै चित्र बनाउँथिन्– फूलमा पुतली बसेको, हिमाल हाँसेको, अनि सूर्यको उज्यालो चारैतिर छरिएको।

सात वर्षको उमेरमा टाइफाइडले उनको आँखाको ज्योति लग्यो । कक्षा २ पास गरेकी नीरा अधिकारीको जीवनमा चारैतिर अँध्यारो छायो।

 उनले रंगीविरंगी फूल देखिनन्, अग्ला हिमाल देखिनन्, चम्किलो सूर्य देखिनन् । सधैँ हिँडिरहेका बाटा देखिनन् । उनी खुबै रोइन् । आँसुले मनको पीर पखालिएपछि उनी मौन रहिन् । अब उनी चित्रहरूको कल्पना गर्न थालिन् । बिस्तारै हिँड्न थालिन् । मानसपटलमा यादका चित्र बनाउन थालिन् । पढेरै सक्षम बढ्ने अठोट गहिरोसँग मनमा कोरिन् ।

कक्षा १ र २ मा आफ्नै हातले बाह्रखरी लेखेर प्रथम भएकी उनले कक्षा ३ मा तिनै अक्षर पढ्न ब्रेल लिपिको सहारा लिनुप¥यो । यसैको सहयोगले आफ्नो पढाइ अगाडि बढाइन् । कक्षा ५ देखि उनी आफ्नो पुरानो लयमा फर्किन् । उनले छामेकै भरमा आँखा देख्नेका माझ प्रथम भइन् । नमुना मच्छिन्द्र आवासीय मावि, लगनखेलमा उनी सधैं पहिला भइन् ।

‘मलाई पढेरै अगाडि बढ्नुपर्छ भन्ने हिम्मत आयो,’ उनले भनिन्, ‘त्यसमा सफल हुँदै गए ।’ पद्मकन्या क्याम्पसबाट अंग्रेजीमा स्नातक गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर गरिन् ।

यसैबीच, ०६६ मा शाखाअधिकृत पदमा नाम निकालिन् । दिदीबहिनी तथा साथीलाई किताब पढ्न लगाएर, क्यासेट रेकर्ड गरेर तथा ब्रेलमा लेखेर उनले जाँचको तयारी गरेकी थिइन् । ‘मेहनत गरेपछि सफल भइन्छ भन्ने आत्मविश्वास विद्यालय तहदेखि नै बढेको थियो,’ उनले भनिन्, ‘मेहनत गरें, सफल भएँ ।’

निजामती सेवामा पहिला दृष्टिविहीन महिला अधिकृत बन्ने अवसर प्राप्त गरिन् । छोरीको आँखाको ज्योति गुमेपछि निराश भएका उनका आमाबुबाको अनुहार छोरीको सफलतासँगै उज्यालियो ।

यज्ञबहादुर र हरिमायाका ६ छोरी र एक छोरामध्ये पाँचौं सन्तान हुन् उनी । अरुहरू आ–आफ्नो खेतीपाती र घरगृहस्थीमा छन । उनी परिवारकै पहिलो सरकारी जागिरे भइन् । उनको यो सफलताबाट परिवार मात्र हैन सिंगो गाउँ खुसी भयो । त्यसैले ललितपुरको गोटीखेलमा जन्मिएकी उनलाई गाउँलेले सम्मान समेत गरे। सानैमा आँखाको ज्योति गुमाएकी उनले गाउँमा आशाको उज्यालो छरिन् । त्यसो त उनी सरकारी जागिरे हुनुभन्दा पहिलेदेखि नै विभिन्न काममा जुटेकी थिइन् । केही समय उनले शिक्षिका बनेर विद्यालयमा पढाइन् । राष्ट्रिय अपांग महासंघअन्तर्गतको परियोजनामा दृष्टिविहीनलाई उनले चार वर्षसम्म कम्प्युटरको ज्ञान बाँडिन् । विभिन्न अनुसन्धानात्मक काममा जुटिन् ।

 सरकारी जागिरको सुरुका दिन केही असहज भए पनि बिस्तारै उनी आफ्नो कामलाई सहज बनाउँदै लगिन्। ‘कतिपय समय सेवाग्राही कोठामा पसेपछि दृष्टिविहीन देखेर कामै नभनी फर्कन्थे,’ महिला तथा बालबालिका विभागमा शाखा अधिकृतको रुपमा कार्यरत उनले भनिन्, ‘बिस्तारै यो क्रम घट्दै गयो ।’ अहिले सेवाग्राहीको समस्या हल गरेर पठाउँदा खुसी लाग्ने उनले सुनाइन् । पछिल्लो समय दृष्टिविहीनलाई हेर्ने सामाजिक सोचमा केही परिवर्तन आएको उनले सुनाइन् ।

उनी अपांगता भएका महिलालाई दयामायाभन्दा पनि सीप र शिक्षाको खाँचो रहेको सुनाउँछिन् । ‘महिला, त्यसमा पनि अपांगता भएकालाई शिक्षाको पहुँच अत्यन्त जरुरी छ,’ उनले भनिन्, ‘सरकारले उचित शिक्षा दिए उनीहरू आफ्नो पाइला आफैं बढाउन सक्छन् ।’

फुर्सदको समय सिर्जनात्मक काममा पनि उत्तिकै ध्यान दिने उनले नेत्रहीन संघका विभिन्न नारा पनि लेखेकी छन् । विभिन्न गीत गजल लेखेकी छिन्, चेतना बाँड्ने अभियानमा लागेकी छन् । ‘अपांगता भएका महिलाले पीडा भोग्न नपरोस् भनेर लागिरहेकी छु,’ उनले भनिन्, ‘उनीहरूमा आत्मविश्वास जगाउने कार्यमा सधैं लाग्ने छु ।’

प्रकाशित: २५ फाल्गुन २०७३ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App