७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘अब कसको मुख हेरेर बाँच्नु’

गोली लागेर मृत्यु भएका सञ्जन मेहताकी पत्नी सवितालाई सम्हाल्दै आफन्त। तस्बिर: मिथिलेश

मलेठ (सप्तरी)-मलेठ–२ की सविता मेहता ओछ्यान परेको दुई दिन भयो । पानीको सहारामा प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्, उनी ।  बेलाबेलामा होस आउँदा उनी ‘उनले (सञ्जन मेहता) बोलाउँदैछन्, मलाई जान देऊ भन्दै चिच्याउँछिन् ।’ छिनमै फेरि मुर्छा परिहाल्छिन्।

                सप्तरी, बसबिटी–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रदेखि डेढ किलोमिटर दक्षिणपूर्वमा जस्तापाताले छाएको घर सोमबारदेखि शोकमा छ ।

                मधेसी मोर्चाले सप्तरीमा एमाले मेची–महाकाली अभियान बिथोल्न गरेको अवरोध पन्छाउने क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबाट सञ्जन (२५) को मृत्यु भएपछि नवविवाहित सवितासहित परिवारका सदस्य शोकमा डुबेका छन् । सञ्जनकै भरमा परिवारको खर्चपर्च चल्दै आएको थियो । गाउँको चोकमा किराना र पान पसल गरेर उनले परिवार पाल्दै आएका थिए ।

                सविता र सञ्जन नौ महिनाअघि (जेठ २२) विवाह बन्धनमा बाँधिएका थिए । सुरक्षाकर्मीले चलाएको गोली कञ्चट छेडेपछि सञ्जनले घरनजिकै प्राण त्यागेका थिए ।

गोली चलेको खबर सुनेपछि सविता घटनास्थलतर्फ दौडिन् । घरभन्दा ५० मिटर पश्चिम बाटो छेउ पुग्दा चारैतिर भीड थियो । भीड छिचोल्दै बीचमा पुग्दा गोली लागेर ढलेका व्यक्ति आफ्नै पति सञ्जन भएको उनले देखिन् । उनी त्यहीं ढलिन् । उनलाई छिमेकी र आफन्तले घर पु¥याए ।

मंगलबार मेहता निवास पुग्दा आफन्त र छिमेकी महिला थिए । कोही सविताको मुखमा चमचाले पानी हाल्दै थिए, कोही नाक बन्द गरेर मुर्छा खुलाउने घरेलु उपाय अपनाउँदै थिए ।  होस खुलेपछि उनले आँखा खोल्दै सञ्जनलाई खोज्थिन् । नपाएपछि चिच्याएर मुर्छा पर्थिन् ।

‘सञ्जन विहे गरेको दुई महिनापछि रोजगारीका लागि मलेसिया पुगेका थिए,’ छिमेकी सुशीलादेवी साहले भनिन्, ‘तर राम्रो काम नपाएपछि ६ महिनामै फर्किएका थिए ।’ 

                सुशीला भन्छिन्, ‘दुनियादारीसँग खासै रुचि नराख्ने सञ्जन घर र पसलबाहेक व्यर्थ बरालिने मान्छे थिएनन् ।’ गम्भीर स्वाभावका थिए उनी । राजनितिसँगै खासै सरोकार नराख्ने उनी परिवार र आफ्नो व्यापार व्यवसायमै रमाउँथे । ‘त्यो दिन (सोमबार) घरमा खाजा खाएर पसलतर्फ जाँदै थिए,’ मेहता परिवारका एक सदस्यले नागरिकसँग भने, ‘घरबाट ५० मिटरजति पश्चिम मात्र के गएका थिए सुरक्षाकर्मीको गोलीले उनलाई भेटाइहाले छ ।’

                परिवारका अनुसार एमाले कार्यक्रम सम्पन्न भएको खबर पाएपछि पसल खोल्न जाँदै थिए सञ्जन। 

‘अब कसको मुख हेरर बाँच्ने ? कसरी बाँच्ने ? मेरो राजालाई ल्याइदेऊ’ भन्दै भक्कानिँदै छिनछिनमा मुर्छा पर्ने सवितालाई सम्हाल्दै आफन्त महिला आफैं पनि सम्हालिने प्रयासमा थिए ।  विपन्न मेहता परिवारको गुजारा गर्ने एक मात्र सहारा किराना र पान पसल हो । भाइको निधनको खबरले दाजु रञ्जनको अवस्था पनि नाजुक बनेको पिता लक्ष्मणले बताए। 

                पिताम्बरलाल मण्डलको पनि घरनजिक सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो। प्रत्यक्षदर्शी विजयकुमार यादव र पिताम्बर २० मिटरको फरक दुरीमा गफिँदै थिए। ‘त्यतिकैमा ड्याङ ड्याङ... आवाज सुनियो,’ विजयले नागरिकसँग भने, ‘गोली चल्यो गोली चल्यो भन्दै गाउँमा भागदौड मच्चियो । भागदौडकै क्रममा पिताम्बर आफ्ना दुई छोरा र दुई छोरीलाई घरतर्फ सोझ्याउँदै थिए त्यही क्रममा उनको कोखमा गोली लाग्यो उनी बाटो छेवैमा ढले।’

                मण्डल राजनीतिक आस्था बोकेका व्यक्ति नभएको गाउँलेको दाबी छ। मण्डलका छिमेकी धनराज साह भन्छन्, ‘उहाँ (पिताम्बर) अरुको घरमा रङ लगाउने काम गर्नु हुन्थ्यौ।’

                                पिताम्बरका ५ जना सन्तान छन् । दुई छोरा र तीन छोरी। ‘ऋण तथा आफ्न्त र छिमेकीको सहयोगमा जसोतसो छोरीको बिहे गरियो’, श्रीमती सोमनीदेवीले भक्कानिँदै भनिन्, ‘दुई छोरा छन्, त्यो पनि बेरोजगार, मेरो संसार नै उजडियो।’पिताम्बरका बुबा ७५ वर्षीय गोसाइ मण्डल छोराको मृत्युले स्तब्ध छन्।

प्रकाशित: २५ फाल्गुन २०७३ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App