८ वैशाख २०८१ शनिबार
राजनीति

सप्तरी घटनाका मृतक जसको राजनीतिसँग कुनै साइनो थिएन

मलेठ(सप्तरी)—सप्तरीको मलेठ गाविस यतिखेर शोकमग्न छन्। सोमवार राति देखिनै गाउँलेहरु मलिन मुद्रामा देखिएका छन्। सोमवार मात्रै मधेसी मोर्चा र प्रहरीबीच भएको झडमा प्रहरीको गोलीले यस गाउँका दुई जनाको ज्यान गएपछि यतिखेर सिंगो गाउँ नै शोकमा डुवेको हो।    

मोर्चा र एमालेका लागि फाल्गुन २३ गते आ–आफ्नो साख र प्रतिष्ठा जोगाउने दिन थियो तर सप्तरीको मलेठ गाविसका लागि भने यो कालो दिन बनेर आयो।  

एमालेको मेची–महाकाली अभियान मोर्चाको विरोधका कारण राजविराजबाट सारेर मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पुगेको थियो। एमाले सभा मलेठमा हुने भनेदेखि नै स्थानीय त्रसित थिए। ‘त्यतिवेला हामी तर्सिएका थियौं, द्वन्द्व र हिंसा भड्किन सक्ने कार्यक्रम हाम्रो गाउँमा सारिएपछि तर्सिनु पनि स्वाभाविकै थियो, स्थानीय युवा तुकलाल साहले भने, ‘जे को डर थियो त्यहि भयो।’

झडपका क्रममा प्रहरीले गोली चलाउँदा मलेठ–२ का अन्दाजी २२ बर्षिय सञ्जन मेहता र वडा नम्बर ४ का अन्दाजी ५५ बर्षिय पिताम्बर मण्डलको मृत्यु भएको थियो। दुवैको शव हाल धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । हिन्दु परम्परा अनुसार शवको अन्तिम संस्कार नगरिए सम्म मृतकको घरमा चुल्हो समेत जल्दैन। युवा तुकलाल भन्छन्, ‘छिमेकको बज्रपात हुँदा हामी आफ्नो घरमा रमाउने कुरै आएन, फेरी गाउँघरमा त छिमेकी भनेको परिवार जस्तै हुन्छ नी।’          

एमाले सभा मलेठमा हुने भनेदेखि नै स्थानीय त्रसित थिए। ‘त्यतिवेला हामी तर्सिएका थियौं, द्वन्द्व र हिंसा भड्किन सक्ने कार्यक्रम हाम्रो गाउँमा सारिएपछि तर्सिनु पनि स्वाभाविकै थियो, स्थानीय युवा तुकलाल साहले भने, ‘जे को डर थियो त्यहि भयो।’

मृत्यु भएका दुवै जना मध्ये कोहि पनि राजनीतिक दल वा राजनीतिक आस्था बोकेका व्यक्ति नभएको गाउँलेहरुको दावी छ। ‘दिनभर मिहनेत गरेर राति घरको चुल्हो जलाउने हैसियतका व्यक्ति राजनीतिमा कहाँ लाग्छन् र ?’, मृतक पिताम्बर मण्डलका छिमेकी धनराज साह भन्छन्, ‘उहाँ(पिताम्बर) अरुको घरमा रंगरोगन गर्ने मजदुरका रुपमा काम गर्नु हुन्थ्यो।’

                पारिवारीक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको पीताम्बरसँगको परिवारसँग घर बनाउने नम्बर जग्गा समेत रहेको छैन। गाउँकै सडक छेउमा १० धुर एैलानी जग्गामा टिनको छाना भएको फुसको झुप्रोको पीताम्बरको परिवार बस्दै आएका छन्।

                पीताम्बरका ५ जना सन्तान छन् । दुई छोरा र तीन छोरी । ‘ऋण कर्ज तथा आफन्त जन र छिमेकीको सहयोगमा जसोतसो छोरीहरुको विहे गरियो’, उनकी श्रीमती सोमनी देविले भक्कानिदै भनिन्, ‘दुई जना छोरा छन्, त्यो पनि बेरोजगार मेरो संसार नै उझाडियो।’

                पीताम्बरका वुवा जिवितै छन् । छोरोको मृत्युको खबरले ७५ बर्षिय गोसाई मण्डल स्तब्ध भएका छन् । न बोल्छन्, न केहि गर्छन्, टुलुटुलु हेर्दै गरेका बृद्ध गोसाईको आँखावाट आँशु भने निरन्तर झरिरहेको छ।

                पीताम्बरका आफन्त एवम् प्रत्यक्षदर्शीका अनुसार आफ्नो घर अगाडीनै पीताम्बरलाई गोली लागेको हो। प्रहरी र मोर्चाको झडप भएको स्थान भन्दा झण्डै २ सय मिटर पूर्व गाउँको भित्री भागमा पीताम्बरको घर रहेको छ।

                ‘मोर्चाका कार्यकर्तालाई लखेट्दै गाउँ पसेका प्रहरीले गोली चलाउँदा उहाँको निधन भएको हो’, प्रत्यक्षदर्शी मध्यै एक पीताम्बरकी भाइबुहारी चन्द्रादेवीले भनिन्, ‘घरवाहिर रहेका छोरा तथा अन्यहरुलाई घर पस्न भन्दै गरेका उहाँलाई प्रहरीको गोली लाग्यौ, उनी घाईते भएर ढले।’

‘सञ्जन पनि राजनीतिवाट टाढा’

                प्रहरीको गोली लागि ज्यान गुमाएका सन्जन पनि राजनीतिवाट टाढै रहेको उनका साथी समेत रहेका स्थानीय धनराज साहले जानकारी गराए । २२ बर्षिय सञ्जन ९ महिना अघि मात्रै बैबाहिक बन्धनमा बाँधिएका थिए।

                सञ्जनको मृत्युको खवर पाए लगत्तै मुर्छा परेकी पत्नी सविता हाल विराटनगर स्थित एक नीजि अस्पतालमा उपचारार्थ भर्ना छिन् । भाईको मृत्युको खवरले दाजु रञ्जनलाई पनि हृदयघात भएको पारिवारीक स्रोतले जनाएको छ । उनी पनि हाल विराटनगरमै उपचार गराई रहेका छन्।

                तीन दाजु भइ रहेका सञ्जन आफ्ना आमा वुवाका माईला छोरा हुन्। गाउँकै चोकमा एउटा किराना तथा एउटा पानको पसल सञ्चालन गरेर बसेका वुवा लक्ष्मण मेहताको व्यवसायलाई दुवै दाजुभाई रञ्जन र सञ्जान समेतले सहयोग गर्दै आएका थिए।

एमाले–मोर्चाको आरोप प्रत्यारोपवाट बेखवर शोकाकुल परिवार शोक सँगसँगै चिन्तामा डुबेको छ। कारण मृतक तीनै जना परिवारको जिम्मेवारी बोक्ने जिम्मेवार सदस्य थिए। 

                अन्य दिन झै सोमवार पनि पसलवाट दिउँसो खाना खान आएको सञ्जन खाना खाएर पसल तिर गईरहँदा प्रहरीको गोलीको शिकार भएको वुवा लक्ष्मणले जानकारी गराए । विविएस सम्म पढेका छोरालाई कतै जागिर लगाउने सोच रहेको वताउँदै लक्ष्मणले भने, ‘विधाते म सँग ठूलो खेलवाड गरेको छ।’ यता छोराको मृत्युको खवरले आमा शान्ति देवि पनि छिन छिनमै मुर्छित हुने गर्छिन।

स्वास्थ्यकर्मी पनि मारिए

                सोमवारको घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाउने आनन्द साह नेपाल सरकारका जागिरे थिए। पेशाले स्वास्थ्यकर्मी रहेको साह सप्तरीकै डिमन गाविस स्थित स्वास्थ्य चौकिमा सिअहेब पदमा कार्यरत रहेका थिए।

                सप्तरीको परसवन्नी गाविस–४ घर भएका साहको राजविराज–९ स्थित राजदेवि टोलमा समेत घर रहेको थियो । उनी आफ्ना परिवार सहित राजविराजमै बस्दै आएका थिए । सोमवार काम विशेषले बजार गएका साह निकै बेर घर नफर्किपछि पत्नी अनिताले फोन गरी बजारमा तनावपूर्ण माहौल रहेको भन्दै घर फर्कन आग्रह गरेकी थिइन्।

                साहलाई गोली लागेपछि उपचारको लागि धरान लग्दै गर्दा मृत्यु भएको थियो। साहको छातिमै गोली लागेको प्रत्यक्षदर्शीहरुको भनाई छ । मृतक साहका पीता नारायण साह अवकास प्राप्त प्रधानाध्यापक हुन् । उनी पनि पछिल्लो केहि समयदेखि विरामी रहेका छन् ।

                मृतक साहको एक श्रीमती र दुई छोरा रहेका छन् । जेठा छोरा अभिषेख कक्षा ११ मा पढदै छन् भने कान्छो अनुज ७ कक्षामा अध्ययनरत रहेका छन्।

                सोमवारको घटना पश्चात मोर्चा र एमाले एक अर्का प्रति आरोप लगाउँदै छन्। मोर्चाले एमालेलाई घटनाको जिम्मेवार भएको बताएको छ भने एमाले सम्पूर्ण जिम्मेवारी मोर्चाले लिनुपर्ने जिकिर गरेको छ। तर एमाले–मोर्चाको आरोप प्रत्यारोपवाट बेखवर शोकाकुल परिवार शोक सँगसँगै चिन्तामा डुबेको छ। कारण मृतक तीनै जना परिवारको जिम्मेवारी बोक्ने जिम्मेवार सदस्य थिए। 

 

 

 

प्रकाशित: २४ फाल्गुन २०७३ १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App