coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

परिवर्तनका मुद्दालाई कसैले खोस्न सक्दैन: उपराष्ट्रपति

पर्वत- उपराष्ट्रपति नन्दबहादुर पुनले परिवर्तनका मुद्दालाई कसैले खोस्न नसक्ने बताएका छन्। अन्तराष्ट्रिय महिला दिवसका अवसरमा यहाँ आयोजित पश्चिमाञ्चल महिला महोत्सवको मंगलबार कुश्मा बजारमा उद्घाटन गर्दै पुनले यस्तो बताएका हुन। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता परिवर्तनका मुद्दा उल्ट्याउने षडायन्त्र भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनलले यस्तो दिवासपना नदेख्न आग्रह गरे।

‘सानो दुःखले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता प्राप्त भएको होइन, ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र मिडियाको अहम भूमिकाले मुलुकमा परिवर्तन आएको हो’ उनले भने–‘संस्थागत हुँदै गएका एजेण्डालाई उल्ट्याउन खोस्न खोज्छ भने त्यो दिवा सपना मात्रै हो ।’ उनले आगामी माघ भित्रै तीन वटा निर्वाचन गरेपछि आर्थिक विकासतर्फ मुलुक लम्कने विश्वास ब्यक्त गरे ।

घोषित मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिदै उनले सम्बाद, सहमति र सहकार्यबाट नै असन्तुष्टि हटाउन दलहरुलाई आग्रह गरे । ‘दलहरुले आ–आफ्ना हठ बोकेर मुलुक बन्दैन’ मुलुकमा बिग्रदो राजनीतिक परिस्थितिप्रति चिन्तित हुँदै उपराष्ट्रपति पुनले भने–‘दल र नेताहरु ब्यक्तिगत र दलगत स्वार्थबाट माथि उठेर राष्ट्र र राष्ट्रियताप्रति सचेत हुने हो भने सबै कुरा मिल्छ ।’

उपराष्ट्रपति पुनले लिखित भाषण छाडेर माओवादी जनयुद्ध गर्नु सही भएको दाबी समेत गरे । ‘जनयुद्ध नभएको भए मुलुकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आउने नै थिएन’ उपराष्ट्रपति भएपछि पहिलो पटक पर्वत आएका पुनले भने–‘म स्याङजामा माओवादीले आक्रमण गर्ने बेलामा पर्वतको प्रशासन र सरकारी कार्यालयको अध्ययन गरेर फर्केको थिए।’ उनले २०५८ सालमा जिल्ला प्रशासन कार्यालयमै पसेर प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पसेर फर्केपनि कसैले पत्तो नपाएको खुलाए।

‘पार्टीले पश्चिमका जिल्ला हान्ने जिम्मेवारी दिएको थियो, त्यसैक्रममा मैले पर्वत, स्याङजासहितका जिल्लाको बस्तुस्थिति बुझन आएको थिए’ पुनलले भने–‘अन्त्यमा स्याङ्जा जिल्लामा आक्रमण गर्‍यौं।’

सांसद अर्जुनप्रसाद जोशी, प्रकाश ज्वाला र कल्पना चापागाईले पछिल्लो समयमा महिलाहरुलाई संविधानले सशक्त पारेका बताए । उनीहरुले महिलाहरु मुलुकको प्रमुख पदहरुमा पुगेको स्मरण गर्दै संविधानले महिलाका अधिकारलाई सुनिश्चित गरेकोमा जोड दिएका थिए।

प्रकाशित: २४ फाल्गुन २०७३ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App