५ वैशाख २०८१ बुधबार
राजनीति

अनुदानको ९० करोड खातामै

सिन्धुपाल्चोक- पहिलो किस्ताको ५० हजार रुपैयाँले घर बनाउन थालेका भूकम्प पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन्। रकम अभावमा निर्माणाधीन घरसंरचना अलपत्र परिरहँदा सरकारले पीडितलाई दोस्रो किस्तामा वितरण गर्न पठाएको झन्डै अर्ब रुपैयाँ भने खातामा थन्किएको छ। 

                पहिलो किस्ताले जग निर्माण सकेर साढे नौ सय पीडितले दोस्रो किस्ता माग गरेका छन् । तीमध्ये प्राविधिकले झन्डै तीन सय निर्माणाधीन घरको प्रमाणीकरण गरेर दोस्रो किस्ता निकासाका लागि सिफारिस गरे पनि दिइएको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सिफारिसमा विदेशी दातृ निकायले निश्चित पीडितलाई दोस्रो किस्ता वितरण गरे पनि अरू कसैले पाउन सकेका छैनन् । पीडितले तेस्रो किस्ताको माग गरिसक्दा पीडित दोस्रो किस्ता पाउनबाटै वञ्चित छन् ।

                ‘प्राधिकरणले आवश्यक कागजात र अनुसूची नपठाउँदा दोस्रो किस्ता बाँड्न सकेका छैनौं’, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर टंक गौतमले नागरिकसँग भने। उनका अनुसार त्यस्ता कागजात र अनसूची आउन ढिलाइ भइरहेको छ । निर्माणाधीन घरको किसिमअनुसार पीडितले दोस्रो र तेस्रो किस्ता पाउन प्राविधिकले १७ प्रकारका अनुसूची भर्नुपर्छ । इन्जिनियर गौतमले महत्वपूर्ण अनुसूची आइनसकेको बताए । आएका अनुसूची पनि पर्याप्त छैनन्।

                प्राधिकरणले महिनाअघि नै घर बनाउन थालेका पीडितलाई दोस्रो किस्ता डेढ लाखका दरले वितरण गर्न जिविसलाई ९९ करोड रुपैयाँको अख्तियारी पठाएको थियो । यो रकमबाट अहिलेसम्म कसैलाई दोस्रो किस्ता दिइएको छैन । सम्झौताअनुसार सेभ द चिल्ड्रेन र लुथ्रन वल्र्ड फेडेरेसन नामक आइएनजिओले स्थानीय संस्थामार्फत गोल्चे, गुम्बा, फुल्पिङडाँडा र साँगाचोकका करिब सय पीडितलाई मात्र दोस्रो किस्ता उपलब्ध गराएका छन् ।

                दुई नगरपालिकासहित ३५ गाविसका पीडितले दोस्रो किस्ता माग गरेका छन् । पुनर्निर्माण झन्डै सकेका ६७ परिवारले तेस्रो किस्ता माग गरिसकेका छन् । तीमध्ये २७ परिवारको संरचना प्रमाणीकरण भइसकेको छ । उनीहरूलाई दोस्रो किस्ता वितरण भएको छैन ।

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा पुनर्निर्माणले गति लिन सकेको छैन । पहिलो किस्ता लिएका अधिकांश पीडितले पुनर्निर्माण थालेका छैनन् । ठूलो संख्याका पीडितले पहिलो किस्ता व्यक्तिगत काममा खर्च गरेको अनुमान गरिँदा पुनर्निर्माण भने सुस्त छ । डिभिजन इन्जिनियर गौतम पुनर्निर्माणले तीव्रता लिन नसकेको स्वीकार्छन् ।

                उनका अनुसार कुल पीडित परिवारमध्ये सात प्रतिशतले मात्र घर बनाउन सुरु गरेका छन् । पहिलो किस्ता लिएका झन्डै आठ प्रतिशतले मात्र घर बनाउन थालेका हुन् । पहिलो किस्ता ५० हजार रुपैयाँ लिएका ७३ हजार ६५ पीडितमध्ये पाँच हजार ६ सय ८८ ले मात्र घर बनाउन थालेको गौतमले जानकारी दिए । ‘यो सन्तुष्ट हुने तथ्यांक होइन,’ उनले भने ।

भूकम्पको वर्षपछि गत वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चौताराका सर्वे तामाङको घरको जग शिलान्यास गर्दै सर्वाधिक क्षतिग्रस्त जिल्लाबाट पुनर्निर्माण अभियान थालनी गरेका थिए । यो बीचमा ऋणधन गरेर सर्वेले घर ठड्याइसक्दा उनी आफैं दोस्रोे किस्ता पाउनबाट वञ्चित छन् ।

                सरकारले तीन वर्षभित्र व्यक्तिगत र त्यसको दुई वर्षभित्र सरकारी र पुराताŒिवक सम्पदा पुनर्निर्माण सक्ने लक्ष्य लिएको छ । वर्षमा एक तिहाइ दरले आगामी असारभित्र सिन्धुपाल्चोकमा २६ हजार घर बन्नुपर्ने हुन्छ । ‘लक्ष्यभित्र पुनर्निर्माण सक्न हम्मे देखियो,’ इन्जिनियर गौतमले भने । जिल्लामा साढे ७८ हजारभन्दा बढी लाभग्राही छन् ।

००

धमाधम राजीनामा दिँदै प्राविधिक

                पुनर्निर्माणमा सघाउन जिल्लामा खटिएका प्राविधिकले धमाधम राजीनामा दिन थालेका छन्। दिनप्रतिदिन प्राविधिकको राजीनामा बढ्दा पुनर्निर्माण प्रभावित हुँदै गएको छ । प्राविधिकको राजीनामा लहरै चलेको छ ।

                महिनाबीचमा ७१ प्राविधिकले राजीनामा दिइसकेका छन् । सोमबार पनि एक प्राविधिकले राजीनामा दिए । डिभिजन कार्यालयका अनुसार जिल्लामा तीन सय ६ प्राविधिकको दरबन्दी छ । प्राधिकरणले जनशक्ति समयमै नपठाउँदा सुरुदेखि नै दरबन्दीअनुसार प्राविधिक हाजिर हुन सकेनन् । बल्लतल्ल माघमा दरबन्दीले पूर्णता पाएकोमा लगत्तै राजीनामा लहर सुरु भयो । ४८ इन्जिनियर, १० सब–इन्जिनियर र १० सहायक सब–इन्जिनियरले राजीनामा दिएका छन् ।

                राजीनामापछि हाल जिल्लामा एक सय १७ इन्जिनियर, ५६ सब–इन्जिनियर र ५८ सहायक सब–इन्जिनियर मात्र कार्यरत छन् । गाउँमा खटेर पीडितलाई प्राविधिक सल्लाह दिने, निर्माणाधीन संरचना अनुगमन गर्ने र प्रमाणीकरण गरेर किस्ता सिफारिस गर्ने प्राविधिक अभाव बढ्दा पुनर्निर्माण नराम्ररी प्रभावित हुने सम्बद्ध अधिकारी औंल्याउँछन् ।

                ‘योभन्दा राम्रो अवसर अन्यत्र मिलेकाले प्राविधिकबाट राजीनामा आएको हो,’ भवन डिभिजन जिल्ला आयोजना कार्यान्वयन एकाइका इन्जिनियर गौतम बताउँछन् । गाउँमा दुःखको तुलनामा सेवासुविधा नहुनु, यातायात खर्च नदिनु, खानबस्नमै समस्या हुनु र बसेर काम गर्ने कार्यालयको समेत व्यवस्था नहुँदा प्राविधिक निराश रहेको उनले बताए ।

स्वयंसेवक खटिए

                गाउँमा पुनर्निर्माणलाई सघाउन र पीडितलाई प्राविधिक सल्लाह दिन स्वयंसेवक खटिन थालेका छन् । प्राधिकरणले इन्जिनियरिङ संकाय पढ्ने स्तानक अन्तिम वर्षका विद्यार्थीलाई स्वयंसेवकका रूपमा खटाएको हो ।

                सोमबारसम्म जिल्लामा दुई सय ३२ स्वयंसेवक खटिइसकेको डिभिजन कार्यालयले जनाएको छ । प्राधिकरणले जिल्लाभर दुई सय ६८ स्वयंसेवक खटाउने निर्णय गरेको छ । प्राधिकरणको नेतृत्व सम्हालेपछि प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले पुनर्निर्माणमा सघाउन विद्यार्थीलाई स्वयंसेवक खटाउने निर्णय गरेका थिए । उनीहरूले जनही २१ दिन फिल्डमा खटिएर काम गर्नेछन् ।स्वयंसेवकले भूकम्पप्रतिरोधी घर बनाउन सचेतना जगाउने इन्जिनियर गौतमले जानकारी दिए ।

प्रकाशित: २४ फाल्गुन २०७३ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App