coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बुद्धको नयाँ जहाजको उडान सुरु

काठमाडौं– निजी वायुसेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब रुपैयाँ लगानीमा खरिद गरेको जहाजले नियमित व्यावसायिक उडान सुरु गरेको छ । ७२ सिट क्षमताको यो जहाजलाई बुद्धले गत माघ २५ मा काठमाडौं ल्याएको थियो ।

फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ‘एटिआर७२–५००’ सिरिजको योसहित बुद्धसँग यस्ता चारथान जहाज भएका छन् । त्यसबाहेक ४७ सिट क्षमताका तीनथान ‘एटिआर–४२’ र १८ सिटे दुईथान ‘बिचक्राफ्ट१९००–डी’ सिरिजका पनि छन् । बुद्धले नयाँ बजार विस्तार गर्न वा अन्य वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले जहाज प्रयोग नगरी विमानस्थलमा विविध कारण हुने गरेको ‘डिले’ र अन्य जहाज मर्मतका कारण यात्रुलाई समस्या नहोस् भन्ने उद्देश्यले जहाज ल्याइएको जनाएको छ ।

नयाँ जहाजको कलसाइन ‘९एन–एएमडी’ रहेको छ । कम्पनीका अनुसार नयाँ जहाज सञ्चालनमा आएपछि वर्षको ३ सय ६५ दिन नै जहाज उड्नेछन् । बुद्धसँग रहेका आठथान जहाजको मर्मत अवधि वर्षमा २ सय ४० दिन हुने गर्छ । यसको अर्थ एउटा जहाज एक वर्षमा ३० दिन मर्मतका लागि ‘ह्यांगर’ मा बस्ने गर्छ । अब त्यो समस्या हेटेको छ । नयाँ जहाजबाट भद्रपुर, विराटनगर, नेपालगन्ज र धनगढीका लागि उडान संख्या थपिएको कम्पनीले जानकारी दिएको छ । सस्तो दरका टिकट संख्या पनि बढाइएको बुद्धको भनाइ छ । 

बुद्धका अनुसार नयाँ जहाजमा ‘पिडब्लु१२७’ इन्जिन जडान भएको छ । ‘ब्रान्ड न्यु’ खरिद गर्दा २ अर्ब २५ करोड रुपैयाँहाराहारी पर्ने भएका कारण केही वर्ष उडेको जहाज करिब १ अर्ब रुपैयाँमा खरिद गरिएको हो । मुलुकको हवाई नीतिमा १५ वर्षभन्दा पुरानो जहाज ल्याएर उडान गर्न नपाइने उल्लेख छ ।  

बुद्धले आगामी एक वर्षभित्र थप एउटा एटिआर७२–५०० जहाज ल्याउने योजना बनाएको छ । दुई दशकदेखि आन्तरिक उडानसँगै भुटानको पारो र भारतको बनारसका लागि ‘चार्टर्ड’ उडान गर्दै आएको बुद्धले आन्तरिक उडानतर्फ करिब ७० प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीमा हाल करिब ८ सय ५० कर्मचारी काम गर्छन् ।

बुद्धले उडान सुरु गरेर २०७२ असोजसम्ममा स्वदेशी तथा विदेशी गरी ७८ लाख यात्रुलाई गन्तव्य पु¥याएको थियो । कम्पनीले पर्यटन÷घरेलु उडानतर्फ सबैभन्दा बढी कर÷राजस्व बुझाउन सफल पनि भएको थियो । हाल यसले वार्षिक ९ लाख यात्रुलाई गन्तव्य पु¥याइरहेको छ । 

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यमा उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ तथा पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार उडान पनि गरिरहेको छ । दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन ।

 

प्रकाशित: २४ फाल्गुन २०७३ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App