१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई सय ६६ पदमा झन्डै २१ हजार आवेदन

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दुई ६६ जना मागेकोमा २० हजार आठ सय ८७ ले आवेदन दिएका छन्। अन्य सरकारी स्वामित्वका संस्थानमा भन्दा प्राधिकरणमा आकर्षक तलब, सेवा तथा सुविधाका कारण यति धेरैले आवेदन दिएका हुन्।

प्राधिकरणले माघ २७ गतेभित्र दरखास्तको फारमा बुझाउन समय दिएको थियो। दोब्बर दस्तुर लिएर फागुन ५ गतेसम्म फाराम बुझाउन सकिने व्यवस्था उसले गरेको थियो। म्याद सकिएपछि गणना गर्दा उक्त पदका लागि यति धेरै आवेदन परेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका अनुसार, सबैभन्दा बढी आकर्षक मिटररिडर (तह ३) मा देखिएको छ। उक्त पदका लागि २१ जना मागेकोमा चार हजारले आवेदन दिएका छन्।

मिटर रिडर (तह ३) को तलब १८ हजार नौ सय २० हुन्छ। त्यसका अलावा उनीहरुले उच्च पदमा रहेका कर्मचारीसरहको सेवा तथा सुविधा पाउने गर्छन्। ठूला कर्मचारीको बराबर मासिक हिउँद (६ महिना) मा ७५ युनिट र बर्खा (६ महिना) मा एक सय २५ युनिट बिजुलीको सुविधा उनीहरुले पाउने गर्छन्।

उक्त पदमा अतिरिक्त कमाइ हुने भएकाले पनि बढी आकर्षक देखिएको प्राधिकरणको भनाइ छ। मिटर रिडरको जागिरका लागि जुनसुकै विषय पढेको भए पनि हुन्छ। कम पढेकाले पनि निवेदन दिन पाउने र सुविधा पनि आकर्षक हुने भएकाले उक्त पदका आकांक्षी धेरै हुने गरेको प्राधिकरणका उच्च कर्मचारी बताउँछन्।

मिटर बिगारेर बिजुली बेच्ने प्राधिकरणका १६ कर्मचारी पक्राउ परेपछि मिटर रिडर बदनाम भए पनि अझै उक्त पदमा निवेदन दिनेको संख्या अन्य पदमा भन्दा बढी छ।

उनीहरुले मिटर बिगारेर कम बिल उठाई उद्योगधन्धालाई बिजुली बेच्दै आएका थिए। केही महिनाअघि मिटर बिगारेर उद्योग–कलकारखानाको बिल कम उठाइ त्यहाँबाट पैसा लिने गिरोहलाई महानगरीय प्रहरीले रंगेहात पक्राउ गरेको थियो। पक्राउ पर्नेको साथबाट मिटर बिगार्ने मेसिनसमेत भेटिएका थिए।

गाडीमै मिटर बिगार्ने मेसिन लिएर हिँड्ने गरेको प्रहरीको भनाइ छ। १० लाख बिल उठेको छ भने मिटर बिगारेर एक लाख मात्रै बिलिङ गर्ने र उद्योगबाट ४–५ लाख रुपैयाँ लिने गरेको प्रहरीको भनाइ छ।

प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि विद्युत चोरी नियन्त्रणलाई विशेष ध्यान दिँदै आएका छन्।

लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङको अग्रसरतामा प्रहरीले मिटर बिगारेर विद्युत चोरी गरी प्राधिकरणलाई नोक्सान पुर्‍याउने कर्मचारीलाई पक्राउ गर्दै आएको छ।

पछिल्लोपटक विद्युत प्राधिकरणले उपनिर्देशकदेखि मिटर रिडर पदसम्मका लागि नयाँ जनशक्ति मागेको हो। उपनिर्देशक (९ तह) को तलब करिब ३७ हजार रुपैयाँ हुन्छ। त्यसका अलावा सुविधा पनि मनग्य पाउने गर्छन्।

प्राधिकरणले उप–निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, समाजशास्त्री, सर्भे अधिकृत लगायत पदमा ५८ जना कर्मचारी मागेको छ। उक्त पदका लागि चार हजार तीन सय ३३ निवेदन परेको प्राधिकरणका एक उच्च अधिकारीले बताए।

प्राधिकरणले सहायक स्तरमा मिटर रिडिङ सुपरभाइजर (तह ५) ६ जना मागेको छ। यस्तै लेखापाल (तह ५) मा ११,  सुपरभाइजर (तह ५) मा चारजना माग गरेको छ।

पदपूर्ति समितिले प्रकाशन गरेको सूचना अनुसार सुपरभाइजर सिभिल (तह ५) दुईजना, सिनियर हेभी इक्विपमेन्ट अपरेटर (तह ५) चारजना, सिनियर मिटर रिडर (तह ४) १५ जना कर्मचारी माग गरेको छ।

सहायक लेखापाल (तह ४) २६ जना, फोरमेन (तह ४) ५३ जना, फोरमेन सिभिल एकजना, फोरमेन ड्राइभर तीनजना मागेको छ। मिटर रिडर (तह ३) २१ जना, इलेक्ट्रिसियन (तह ३) ४६ जना, जुनियर मिस्त्री (तह ३) एकजना माग गरिएको छ। तह ३ को ड्राइभरका लागि पाँचजना मागेको छ। समावेशी समानुपातिक प्रणालीअनुसार पदपूर्ति हुने पनि प्राधिकरणको भनाइ छ। सहायक स्तरमा दुई सय १९ पदका लागि १६ हजार पाँच सय ५४ आवेदन परेका छन्।

प्रकाशित: २४ फाल्गुन २०७३ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App