६ वैशाख २०८१ बिहीबार
खेल

खुला ब्याडमिन्टन बेनीमा

काठमाडौं- गँगटा युवा क्लबले म्याग्दी जिल्ला ब्याटमिन्टन संघसँगको सहकार्यमा राष्ट्रियस्तरको खुला ब्याटमिन्टन प्रतियोगिताको चौथो संस्करण चैत ९ गतेबाट बेनीमा गर्ने भएको छ। गँगटा युवा क्लबले विगतका तीन संस्करण काठमाडौंमा गरेको थियो। म्याग्दीका पर्यटकीय स्थानको प्रवर्द्धनका लागि चौथो संस्करण जिल्लामा गर्न लागिएको क्लबका अध्यक्ष रेशम पुनले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगितामा समावेश पाँच विधालाई स्थानीय ठाउँअनुसार नामकरण गरिएको छ। रुप्से पुरुष एकल, अन्धा गल्छी पुरुष युगल, सिंगा हट महिला एकल, गलेश्वर भेट्रान युगल (४५ वर्षमाथिका), पुनहिल ब्वाइज एकल (१७ वर्ष मुनिका) विधामा करिब ३ सय जनाले प्रतिस्पर्धा गर्ने आयोजकले बताए।

‘हामीले प्रतियोगिताका पाँच विधालाई स्थानीय ठाउँको नाम दिएका छौं, जुन म्याग्दी जिल्लाका चर्चित पर्यटकीय स्थानहरू हुन्,’ अध्यक्ष पुनले भने, ‘यसले ती ठाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने विश्वास लिएका छौं।’

म्याग्दी जिल्ला विकास समितिको व्यवस्थापन रहने प्रतियोगिता बेनीको कालिपुलस्थित बेनी कभर्ड हलमा सञ्चालन हुनेछ। महिला र पुरुष एकल विधामा राष्ट्रिय स्तरका शीर्ष वरीयताप्राप्त खेलाडीको सहभागिता रहने भन्दै आयोजकले पुरुष युगल विधामा शीर्ष १६ वरीयताका खेलाडीलेे भाग लिन नपाउने बताए।

पुरुष एकल विजेताले ६० हजार, उपविजेताले ३० हजार तथा तेस्रो स्थान हासिल गर्नेले जनही १० हजार रुपैयाँ नगद जित्नेछन्।

पुरुष युगलका विजेताले १ लाख, उपविजेताले ५० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।  पहिलोपल्ट समावेश गरिएको महिला एकल विधाका विजेताले ३० हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुनेले जनही ५ हजार रुपैयाँ नगद जित्नेछन्। त्यस्तै भेट्रान युगलका विजेताले ३० हजार, दोस्रोले १५ हजार तथा तेस्रो स्थान हासिल गर्नेले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App