७ वैशाख २०८१ शुक्रबार
विचार

नयाँ : दल कि ढंग?

बिबिसी नेपाली सेवामा कार्यरत रवीन्द्र मिश्रले समाजसेवा र सञ्चार जगतको कार्यक्षेत्रलाई तिलाञ्जलि दिएर राजनीतिमा होमिने निर्णय सार्वजनिक गरे गएको साता। केही अगाडि प्रचण्ड नेतृत्वको अहिलेको माओवादी केन्द्रमा लामो समय आबद्ध बाबुराम भट्टराईले नयाँ शक्ति नामक पार्टी खोले। नेपाली राजनीतिमा 'असल चरित्र र सफल व्यक्तित्व' भएका मानिसको खडेरी लागेकोे पृष्ठभूमिमा भट्टराई र मिश्रले राजनीतिमा 'नयाँ डिस्कोर्स' को शुभारम्भ गरेको हुन सक्छन्। यस अर्थमा यी दुवैले खोलेको नयाँ पार्टीका लागि शुभकामना दिन सकिन्छ।

नेपाली समाजको आवश्यकता नयाँ पार्टी वा शक्तिको होइन, वैकल्पिक राजनीतिको हो। वैकल्पिक राजनीतिको दृष्टिकोण, सोच र सक्रियता नै नेपाली जनताको चाहना हो यतिखेर।

नेपालमा मूलधारका राजनीतिक दलहरुसँग यतिखेर विरलै कुनै नेपाली खुसी होलान्। अझ दलका नेताबारे जुन हल्का टीकाटिप्पणी यत्रतत्र सुनिन्छ त्यसलाई मनन गर्दा तुरुन्तै असल र सक्षम मानिसले खोलेको नयाँ पार्टीमा सबै नेपालीले प्रवेश गनुपर्ने हो। तर के नेपाली मानसिकता त्यस्तो छ? नेपाली मानसिकतामात्र होइन विश्वव्यापीरूपमै नयाँ पार्टीलाई अस्तित्वको लडाइँ लड्न कति गाह्रो र सकस हुन्छ भन्ने मिश्र र भट्टराईलाई कुनै नेपालीलाई भन्दा बढी नै जानकारी होला। नेपालमै नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेलाई अनुभव छ– पार्टी गठन गर्नु सजिलो कुरा हो तर चलाउन गति गाह्रो छ भनी।

माओवादी पार्टी परित्याग गरी नयाँ शक्ति पार्टी बनाउने आँट गर्नु बाबुराम भट्टराईका लागि सजिलो कुरा थिएन। उनको बाटो जोखिमपूर्ण त छ नै असफल हुने सम्भावना पनि कम छैन। तर असफल हुने डरमा नयाँ प्रयोगको अभ्यास नगरिँदो हो त मानव सभ्यता आज यो ठाउँसम्म किमार्थ आउन सम्भव थिएन। रवीन्द्रले 'ग्लेमरस र सुविधायुक्त जीवन' त्यागी राजनीतिमा होमिने साहस देखाए। यी दुवैले अब आफ्नो जीवन सजिलो र सुविधायुक्त हुने छैन भनी पक्कै मनन् गरेका होलान्। नेपालमा वैकल्पिक राजनीतिलाई सही अर्थमा अगाडि बढाउने हो भने निसन्देह दुःखपूर्ण र संघर्षमय ंजीवनमा रमाउन जान्नुपर्ने हुन्छ। होइन, वैकल्पिक पार्टीमात्र हो भने नेपाली समाजले थप दुई पसल पार्टीका रूपमा पाए भनी सम्झँदा हुन्छ।

वैकल्पिक राजनीति नेपाली समाजको आवश्यकता हो कि वैकल्पिक पार्टी भन्ने कुरा यतिखेर नेपाली समाजको अहम् प्रश्न हो।  थुप्रै पार्टी नेपाली समाजमाझ प्रस्तुत छन् यतिखेर। कसरी बाबुरामको पार्टी वैकल्पिक राजनीति हो वा मिश्रले खोल्ने राजनीतिक पार्टी अहिले भइरहेका पार्टीभन्दा पृथक हुने छन् भनी नेपाली जनताले बुझ्ने? यिनै कुरा बुझाउन सक्दामात्र नेपालमा यी दुई पार्टी सयकडौ पार्टीका भिडमा थप दुई पार्टी नभएर सुरुका दुई राजनीतिक विकल्प हुने छन् नेपाली जनताबीच। नेपाली समाजको आवश्यकता नयाँ पार्टी वा शक्तिको होइन, वैकल्पिक राजनीतिको हो। वैकल्पिक राजनीतिको दृष्टिकोण, सोच र सक्रियता नेपाली जनताको चाहना हो यतिखेर। अहिले यतिमात्र भन्न सकिन्छ, राजनीतिक विकल्प बन्ने बाटोमा यी दुई पार्टीको नेतृत्व, सक्रियता र तयारी भने अधुरो र अपुरो देखिन्छ। नयाँ भनेर खोलिएका यी दुई पार्टीमा पनि पुरानै मानिस यताउता चहार्ने हुन् कि भन्ने संशय पनि पैदा भयो। यसरी त यी पार्टी अवसरवादीहरूको भीडमात्र हुने खतरा बढ्नेछ। 

नेपालको राजनीतिक इतिहासमा वैकल्पिक पार्टी भएर थुप्रै राजनीतिक दल विगतमा उदाएका थिए। तर ती सबै राजनीतिको विकल्प नभएर पार्टीमात्रको विकल्प भएर थन्किए। कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसकेन्द्रित पार्टी आफ्नो स्थापनाकाल र विकासक्रममा एकअर्काको राजनीतिक विकल्प हुन्छन् कि भनी नेपाली जनताले विश्वास र भरोसा गरेका थिए। तर समयक्रममा सबै 'एउटै थालीका चठ्ठावठ्ठा' भए। नेपाली समाजको अर्थराजनीतिलाई संबोधन गर्न सबै दलले विदेशी दाता र गैसस निकायहरूको जिम्मा लगाए। यही कारणले नै हो– सबै मूलधारका राजनीतिक दल जनतासमक्ष निरीह र कमजोर भएका यतिखेर।

राजनीतिक दलहरूसँग देशको अर्थराजनीतिको अजेन्डा नहुँदा ती हतास भएर गुण्डा, डन, भ्रष्टाचारी, अपराधी र विदेशीसँग साँठगाँठ गरी आफ्नो राजनीति बचाउन बाध्य छन्। विभिन्न नियुक्ति, पदस्थापनदेखि सरुवाबढुवामा समेत लेनदेन गर्नुपरेको त्यही कारण हो। यो डरलाग्दो अवस्था केन्द्रबाट तल झर्दै सदरमुकामबाट गाउँगाउँभित्र समेत यत्रतत्र भेटिन्छ। यसरी नेपाली राजनीति तलदेखि माथिसम्म भ्रष्ट र अपराधीकरणबाट अगाडि बढिरहेको अनुभव आमनेपाली जनतालाई हुँदा वैकल्पिक राजनीतिको अभियन्ता हुनसक्थे भट्टराई र मिश्र। तर दुईजनाको पृथक पार्टी घोषणाले नेपालमा वैकल्पिक राजनीतिको संभावनालाई नजिकभन्दा टाढा पुर्‍याएको अनुभव गर्नुपर्दा राजनीतिक विश्लेषकदेखि आमजनतासमेत खिन्न छन्।

विगतमा नेपालको मूलधारको राजनीतिक पार्टी वैकल्पिक राजनीतिक शक्ति भएर उदाउन त सके तर टिक्न नसकेर पुरानै धारमा विलिन भएको सत्य हाम्रासामु छ। जहानिया राणा शासन समाप्त गरी लोकतान्त्रिक पद्धतिबाट देशको शासनसत्ता सञ्चालन हुनुपर्छ भनी कांग्रेस देशको वैकल्पिक राजनीतिक शक्ति भएर नेपाली जनतासामु अगाडि आयो सात दशकअगाडि। लामो संघर्ष र बलिदानी पृष्ठभूमिमा २०४६ सालको आन्दोलनपछि यो पार्टीले सरकार चलाउने जिम्मेवारी पायो। तर कांग्रेस निरंकुश राजतन्त्रसंँग लामो समय संघर्ष गरेर थाकेको पार्टीमात्र थिएन, यो राणा, राजा र निरंकुशताविरुद्ध जोसँग लडिरहेको थियो त्यो जस्तै नै भयो। समाज र देश रूपान्तरण गर्ने अभियानमा हिँडेको कांग्रेस जोसँग लड्यो त्यसैको संस्कार आफ्नो पार्टी धमनीमा दौडाउन पुग्यो र समाज परिवर्तनको सबै अवसर गुमायो।

कांग्रेसको यथास्थितिवादलाई चुनौती दिएर युवाहरुको नेतृत्वमा निर्माण तत्कालीन एमाले कांग्रेसको विकल्प हो कि जस्तो भयो। तर दुर्भाग्य एमालेलाई कांग्रेसको भन्दा पृथक वैकल्पिक राजनीति शक्तिबाट राजनीतिक दलमा रूपान्तरण हुन कुनै समय नै लागेन। यो पार्टीको स्खलन लोकेन्द्रबहादुर चन्दसँगको साँठगाँठबाट दुई दशकअगाडि सुरु भएको थियो। अहिले कमल थापासम्मको साँठगाँठमा आइपुग्दा चरम राष्ट्रवादको श्रीपेच समातेर महेन्द्रपथमा पुगेको आरोप खेप्दैछ।

माओवादी केन्द्र दक्षिण एसिया नै परिवर्तन गर्न हिँडेको थियो एकताका। विस्तारै भारत र नेपालमा युद्धमार्फत समाज परिवर्तन गर्ने हाँक राख्थ्यो। खुम्चिएर नेपालको राजनीतिलाई यथास्थितिमा रहन नदिने भन्यो। तर अहिले हेरौँ, विश्वमा विरलै माओवादी पार्टी जस्तो कुनै पार्टी आफ्नो विगत बिर्सेर यथास्थितिमा रमझम गरेेर बसेको भेटिन्छ होला। यसरी देश र समाज रूपान्तरणको अभियानमा हिँडेका यी मूलधारे दल आफैँ रूपान्तरित भएर अहिले नेपाललाई भद्रगोल बनाइरहेका छन्।

आफ्ना सम्पूर्ण कमजोरी रहँदारहँदै पनि राजनीतिक पार्टीका रूपमा यी तीन शक्ति आज पनि नेपाली जनताको सर्वाधिक आकर्षणका केन्द्र छन्, किन? किनकि यिनको इतिहास व्यक्तिविशेषको बलिदानी भावनाबाट मात्र बनेको छैन। एउटा व्यक्तिको कमजोरीले सम्पूर्ण पार्टी पंक्ति समाप्त हुने थियो भने यी तीनैवटा पार्टी धेरै पहिले नै नेपाली राजनीतिबाट समाप्त हुन्थे होला। तर यी तिनै पार्टीमा सामूहिक नेतृत्व, त्याग, सयकडौँको बलिदान, लामो संघर्ष, पिडीदर पिडी पार्टीका अनुयायी र समर्थक अनि पार्टी संकटमा पर्दा लड्न सक्ने जुझारु युवाहरुको लामबद्ध पंक्ति नै निर्माण भयो। अहिले त्यसैको ब्याज यी पार्टी खाँदैछन्। अवसर, आर्थिक संरक्षण, सुरक्षा, सामाजिक हैसियतमा वृद्धि, अनेकन् कारण हुन्छन्, मानिस आफ्नो आबद्धता पार्टीमा गर्न बाध्य हुन्छ। नेता तिनलाई छुट दिन्छन् र संरक्षण पनि। यही कारण पार्टी यथास्थितिमा पनि टिक्छ, यी पनि टिके।

नयाँ शक्ति पार्टी बाबुरामको र अर्को खुलेको पार्टी रवीन्द्र मिश्रको भन्नेबित्तिकै यी व्यक्तिकेन्द्रित पार्टी भए। वैकल्पिक राजनीतिक शक्तिको खाँचो भइरहँदा नेपाली राजनीतिमा खुलेका यी पार्टीको आभा मण्डल नै साँघुरिन पुग्यो। फेरि नेपाली जनतामाझ व्यक्तिकै रूपमा वैकल्पिक शक्ति भएर जनताबीच सर्वाधिक लोकप्रिय डा. गोविन्द केसी किन यी सबैका लागि सर्वस्वीकार्य भएर नयाँ बनिरहेका पार्टी प्रमुख हुन सकिरहेका छैनन्? यो मन्थन चलेको छ, नेपाली जनतामाझ। 

एकपल्ट पार्टी खोल्नुअगाडि विगतमा नेपाली जनतामाझ कसरी मूलधारका पार्टी बने होलान् भनी फर्केर हेर्न जरुरी थियो। नेपाली कांग्रेस काठमाडौं बाहिर विराटनगरको जूट मिलमा मजदुर आन्दोलनमार्फत देशको राजनीतिमा होमियो। त्यस्तै अहिलेको एमालेको पार्टी बन्ने पृष्ठभूमिमा झापाको तत्कालीन नक्सलवादी आन्दोलनको वर्ग शत्रु सफायाबाट उल्काझैँ नेपालको निम्नमध्यम र मध्यम वर्गमा उदायो। माओवादी केन्द्र रोल्पाको थवाङबाट गर्जिएपछि राजधानीको सिंहदरवार कम्पन भएको हो। मधेसकेन्द्रितहरू लहानमा तत्कालीन शासकले उनका एक कार्यकर्ताको हत्या गरेपछि तराईभर आन्दोलनबाट उदाएका पार्टी हुन। यसरी राजधानीमा प्रेस कन्फ्रेन्स गरेर नेपालमा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने दुःसाहस भर्खरै दुई पार्टीले मात्र गरे। कमसेकम राजधानीबाटै देशको राजनीतिमा विकल्प दिने सोच हो भने अनेकन चरणमा राजधानीको सत्तालाई घुँडा टेकाएर शासनमा सुधारको अजेन्डा बोकेका गोविन्द केसीको आभा मण्डलबीच यी दुवै पुग्नुपर्ने हो। तर त्यसो किन हुन सकेन? थाहा भएन।

डा. गोविन्द केसीको सत्याग्रह, सेवा र साद्गीपूर्ण जीवन नेपाली राजनीतिमा नयाँ पटकथा लेख्दैछ, लेख्नुपर्छ। उनी देशमा सुशासन हुनुपर्छ भन्ने एकमात्र अभियन्ता हुन् अहिलेको नेपालमा। शासन व्यवस्थामा सुधार हुनुपर्छ भनी डा. केसीले उठाएको आवाज सुन्न संासद र न्यायमूर्ति पनि बाध्य भएका हुन् भर्खरै। डा. केसी स्वास्थ्य क्षेत्रको सुधारकमात्र होइनन् उनी वैकल्पिक राजनीतिको बिम्ब पनि हुन सक्छन् नेपालमा। यहीँनेर चुकेझैँ देखिन्छन् नयाँ राजनीतिक पार्टी खोल्नेहरू। डा. केसी स्वास्थ्य क्षेत्रमा फैलिएको माफिया र त्यसलाई संरक्षण गर्ने सरकारसामु झुकेनन्, सरकारलाई झुकाए। अख्तियारका प्रमुख आयुक्तसँग सबै सरकारी निकायका प्रमुख र राजनीतिक दलका नेताहरु डराएर समर्पण गरेका थिए, यिनै केसी भिडे। व्यक्तिगत ट्रायक रिकर्ड क्लिनमात्र छैन, डा. केसीले सार्वजनिक जीवनमा जुझारुपन पनि देखाएका छन्। जनताले खोजेको यस्तै नेता त हो।

अन्त्यमा, भट्टराई र मिश्रले फरक–फरक पार्टी खोल्दा वैकल्पिक राजनीतिक शक्ति नेपाली जनताले पाए भनी विश्वस्त हुन गाह्रो भइरहेको देखिन्छ। बरु उल्टै मूलधारका दललाई कुशासनलाई निरन्तरता दिने तर्क प्राप्त हुने खतरा देखियो यसबाट। तसर्थ समय छ, नेपाली जनताको चाहनाअनुरूप एउटा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि एकताबद्ध पहल गर्ने। देशमा यतिखेर सबैलाई नेता हुने रहर जाग्नु अस्वाभाविक होइन तर नेता जनताको हुने हो। र, सही अर्थमा राजनीतिमा वैकल्पिक शक्ति निर्माण गर्ने हो भने सामाजिक अभियानमार्फत राजधानीबाहिरबाट त्यसको श्रीगणेश गर्नुपर्ने हुन्छ। सोचौँ।     

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App