६ वैशाख २०८१ बिहीबार
समाज

घट्न थाल्यो उपत्यकाको प्रदूषण

काठमाडौं- पछिल्लो साता उपत्यकाको प्रदूषण घट्न थालेको छ। प्रदूषणमापन तथ्यांकले गत साताबाट साँझपख प्रदूषण घट्न थालेको देखाएको हो। वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले उपत्यकाका १२ ठाउँमा मेसिन राखेर प्रदूषण मापन गरिरहेको छ। जसले फागुन १८ यता उपत्यकाको प्रदूषण घटेको देखाएको हो।

विशेषगरी दिउँसो १ बजेपछि पदूषण घटेको छ। बिहानको प्रदूषण भने पहिलेकै अनुपातमा देखिन्छ। फागुन १७ गते उपत्यकाको प्रदूषणसूचक बिहान ८ बजे एक सय ४९ माइक्रोग्राम प्रतिघनमिटर थियो भने  दिउँसो १ बजे ७४ मात्र रह्यो।

फागुन १९ गते बिहान ८ बजे एक सय ४१ माइक्रोग्राम प्रतिघनमिटर रहेको प्रदूषण घटेर दिउँसो १ बजे २० मा आयो। यो दिन उपत्यकामा १.५ मिलिलिटर वर्षात्सँगै हावाहुरी चलेको थियो। वर्षात् र हावाका कारण २० गतेको प्रदूषण घटेको अनुमान गरिन्छ। फागुन २० को प्रदूषण बिहान १ बजे एक सय ९ थियो भने दिउँसो १ बजे १२ मा झर्‍यो ।

त्यस्तै, २१ गते बेलुका ८ बजे ९८ पुग्यो भने दिउँसो २ बजे १५ मा झर्‍यो। २२ गते बिहान ८ बजे एक सय १५ पुगेको थियो भने दिउँसो ३ बजे १२ मा झर्‍यो।

माघको प्रदूषणसूचक हेर्दा बिहानमा करिब २ सयसम्म र बेलुका करिब एक सय रहेको थियो।

सरकारी मापदण्डअनुसार २४ सै घन्टा प्रदूषणसूचक ४० माइक्रोग्राम प्रतिघनमिटर रहनुपर्नेछ। उपत्यकाको प्रदूषण भने महिनौंदेखि मापदण्डभन्दा तीन–चार गुणा बढी छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रदूषणसूचक २५ माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ।

पिएम २.५ ले स्वास्थ्यमा गम्भीर असर

सरकारी मापदण्डभन्दा माथिको प्रदूषणमा स–साना धुलोका कण हुन्छन्। जुन धुलोका कण पर्टिकुलेट म्याटर (पिएम) २.५ भन्दा साना हुन्छन्। जो सीधै फोक्सो र रक्तनलीसम्म पुगेर शरीरलाई गम्भीर असर गर्ने चिकित्सकले बताउँदै आएका छन्। वातावरण मन्त्रालय वातावरण विभागअनुसार पिएम २.५ र योभन्दा पनि सानो आकारका कणले स्वास्थ्यलाई सबैभन्दा बढी असर गर्छ। पिएम २.५ भन्दा साना कण भने सीधै फोक्सोमा पुग्ने विभागका कर्मचारी बताउँछन्।

सरकारको कुनै योजना छैन

प्रदूषण सरकारी मापदण्डभन्दा धेरै गुणा बढी हुँदा समेत सरकारले केही गर्न सकेको छैन।

‘प्रदूषण घटाउन खास रणनीति त ल्याउन सकेका छैनौं,’ जनसंख्या तथा वातावरण मन्त्रालय, वातावरण विभाग प्रदूषण शाखाका शंकरप्रसाद पौडेलले भने, ‘यद्यपि मेलम्चीले खनेका कारण उपत्यकामा भएको धुलो कम गर्न भने सम्बन्धित निकायलाई निर्देशन दिएका छौं।’

खनेका सडकमा मेलम्चीले दैनिक तीनपटक पानी हालिरहेको र खनिसकेका सडकमा कालोपत्रे गरिसकेका कारण प्रदूषण घट्न थालेको पौडेलले बताए। उनका अनुसार तापक्रम बढ्दै जाँदा पनि प्रदूषण घट्ने क्रममा रहन्छ।

२० वर्ष पुराना गाडी हटाएकाले पनि प्रदूषणमा केही आएको हुन सक्ने पौडेलको भनाइ छ।

विभागले प्रदूषण घटाउन टोलटोलमा फोहोर प्लास्टिक नजलाउन सूचित गरिरहेको जनाएको छ। धुवाँका कारण प्रदूषण बढेको भन्दै विभागले यस्तो सूचना जारी गरेको हो।

वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि काठमाडौंका अजय श्रेष्ठले गत बिहीबार उपत्यकामा परेको पानीका कारण प्रदूषण घटाउन सहयोग पुगेको बताए। उनका अनुसार कचौरा आकारको उपत्यकामा धुलोको एक प्रकारको लेअर बनेको र उक्त लेअरलाई हावा र पानीले बगाएर लगेका कारण पदूषण घटेको हुन सक्छ।

धुवाँले बढाउँछ प्रदूषण

शिवरात्रिको अघिल्लो दिन बिहीबार बेलुका ८ बजे प्रदूषणसूचक ५८ रहेको थियो। शिवरात्रिको साँझ ८ बजे प्रदूषणसूचक एक सय २६ पुग्योे। शिवरात्रिको साँझ प्रदूषणसूचक अघिल्ला दिनको भन्दा ह्वात्तै बढेको पाइएको थियो। त्यो दिन प्रदूषण बढ्नुको कारण भने धुवाँ रहेको अनुमान गरिएको छ। शिवरात्रि साँझ उपत्यकाको अधिकांश टोल र घरमा आगो बालेर धुवाँ भएकाले प्रदूषण बढेको विज्ञले बताएका थिए।

बिहान बढी प्रदूषण

बिहानमा अत्यधिक प्रदूषण हुने गरेको तथ्यांकले देखाएको छ। बढी प्रदूषण बिहान ५ देखि १२ बजे मध्याह्नसम्म हुन्छ। यो बेला भने प्रदूषणसूचक खासै घट्न सकेको छैन, एक सय ५० हारहारीमै देखिएको छ, जसलाई अति प्रदूषित मानिन्छ। यस्तो अति प्रदूषित १२ बजेअघि र बेलुका ६ बजेपछि हुने तथ्यांकमा देखिन्छ। यो समय कुनै प्रकारका खेलकुद, व्यायाम नगर्न विज्ञले सुझाव दिँदै आएका छन्। प्रदूषणको सूचक एक सय ५० भन्दामाथि हुनुलाई खतराजनक मानिन्छ। बिहानमा फोहोर जलाउन आगो बाल्ने हुँदा पनि प्रदूषण बढेको अनुमान गरिन्छ। 

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App