१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संयम हुन कांग्रेसको अपिल

काठमाडौं- नेपाली कांग्रेसले सबै पक्षलाई संयमित भएर सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।  एमालेद्वारा सप्तरीमा सोमबार आयोजना गरेको कार्यक्रमपछि भएको दोहोरो झडपमा केही व्यक्तिको निधन भएपछि अपिल जारी गर्दै कांग्रेसले कुनै पनि राजनीतिक दलको शान्तिपूर्ण राजनीति अभियानमा कहींकतैबाट पनि अवरोध सिर्जना हुने किसिमका गतिविधि नगर्न  नगराउन आह्वान गरेको हो। 

कांग्रेसले स्थानीय चुनाव घोषणा भइसकेको अवस्थामा यस्ता क्रियाकलापले चुनावलाई नै अवरोध गर्न सक्ने यथार्थतर्फ दलहरूको ध्यानाकर्षण गराएको छ। 'शान्तिपूर्ण ढंगले आफ्नो फरक मत राख्न पाउने लोकतान्त्रिक अधिकार हो। यो अधिकारलाई कहींकतैबाट अवरोध पुर्‍याउनु लोकतान्त्रिक चरित्रविपरीत हो,' कांग्रेसले भनेको छ। सप्तरी घटनाले पार्टीलाई दुःखी बनाएको उल्लेख गर्दै कांग्रेसले अपिलमा भनेको छ, 'केही व्यक्तिको मृत्यु हुन गएको र कैंयौ व्यक्ति घाइते भएको खबरले नेपाली कांग्रेसलाई दुःखी बनाउनुका साथै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।'

सप्तरी घटनाका मृतकपति श्रद्धाञ्जलि व्यक्त गर्दै कांग्रेसले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। अपिलमा भनिएको छ, 'घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित उपचारका लागि संवेदनशील रहन कांग्रेस सरकारसँग आग्रह गर्दछ।'

यसैबीच कांग्रेस नेतासमेत रहेका उपप्रधान तथ गृहमन्त्री विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओली र तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टाछुट्टै टेलिफोन गरेका छन्।

उपत्यकाबाहिर रहेका निधिले एमाले अध्यक्ष ओलीलाई अभियान फिर्ता लिन आग्रह गरेका थिए। ओलीले पार्टीभित्र छलफल गरेर उपयुक्त निर्णय लिने आश्वासन दिएका थिए।

त्यस्तै गृहमन्त्री निधिले जनकपुरमा रहेका तमलोपा अध्यक्ष ठाकुरलाई फोन गरी घटनाप्रति दुःख व्यक्त गरेका छन्। घाइतेको उपचारको व्यवस्था सरकारले मिलाइसकेको जनाउँदै निधिले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि, तोडफोड र आगजनीमा नउत्रन आग्रह गरेको प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। 'आन्दोलनरतसहित सबै पक्षलाई संयम अपनाउन उहाँ (गृहमन्त्री) को अपिल छ,' दाहालले भने, 'सुरक्षा निकायलाई पनि बल प्रयोग नगरी अवस्थालाई नियन्त्रणमा लिन निर्देशन दिनुभएको छ।'

प्रकाशित: २४ फाल्गुन २०७३ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App