coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'दलहरूको सम्मेलनमा अवरोध गर्नु महाभूल'

काठमाडौं- मानवअधिकारवादी तथा विभिन्न दलका नेताले एउटा दलको शान्तिपूर्ण जुलुस र सभा अर्को दलले बिथोल्न खोज्नु गैरराजनीतिक व्यवहार भएको टिप्पणी गरेका छन्। लोकतन्त्रमा सभासम्मेलन गर्न पाउनु सबैको अधिकार भएको भन्दै उनीहरूले शान्तिपूर्ण कार्यक्रमलाई बिथोली स्थिति तनावपूर्ण बनाउन खोज्नु लोकतन्त्रको उपहास भएको पनि बताएका छन्। एउटा दलले गरेको कार्यक्रमलाई अर्को दलले अवरोध गर्दा २०६२/६३ ले ल्याएको उपलब्धि गुम्ने आशंका पनि उनीहरूले गरेका छन्।

माओवादी केन्द्रका नेता कानुनमन्त्री अजयशंकर नायकले मधेसको मुद्दालाई अनुशासिनहीन ढंगबाट उठाउँदा त्यसले मधेसलाई फाइदा नहुने बताए। 'मधेसको मुद्दालाई जति अनुशासित ढंगबाट उठाउन खोज्यौं त्यति नै मधेसलाई फाइदा हुन्छ', नायकले भने, 'भिडन्तको स्थितिले मधेसलाई कहिले फाइदा हुँदैन।'

एउटा दलले गरेको कार्यक्रमलाई अर्को दलले अवरोध गर्ने परम्परा बन्द गर्नुपर्ने उनले बताए।

कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगानाले एमाले र मधेसी मोर्चा दुवै पक्षले संयमता अपाउनुपर्ने बताए। 'यो भिडन्त गर्ने समय होइन। भिडन्तले हामीले पाएको उपलब्धि  गुम्ने खतरा हुन्छ। त्यसैले संयमता अपनाउनुपर्छ', ढुंगानाले भने।

बहुदलीय व्यवस्थामा पार्टीले गरेको शान्तिपूर्ण  कार्यक्रममा अवरोध गर्न नहुने पनि उनले बताए । उनले भने, 'बहुदलीय व्यवस्थामा दलहरूले शान्तिपूर्ण ढंगबाट कार्यक्रम गर्न पाउनुपर्छ।'

एमाले केन्द्रीय सदस्य रामेश्वर फुयाँलले भने गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका छन्। रिपोर्टर्स क्लबले सोमबार काठमाडांैमा गरेको कार्यक्रममा फुयाँलले गृहमन्त्रीले कुर्सीमा बसेर शान्तिसुरक्षा भड्काउने काम गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन्। मन्त्री निधिले एमालेलाई मधेसबाट लेखट भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै निधिको उक्त भनाइप्रति गम्भीर आपत्ति व्यक्त गरे।

उनले आफ्नो पार्टीले संविधानको मौलिक हकको प्रयोग गर्दै मेची–महाकाली अभियान चलाएको बताए। उनले भने, 'मधेसमा एमालेले आमसभा गर्न पाउँछ, नेपालको कुनै पनि भूभागमा आवतजावत गर्न पाउँछ।'

मालेका महासचिव सिपी मैनालीले एमालेको मेची–महाकाली अभियानलाई कसैले पनि रोक्न नहुने बताए। उनले भने, 'यो देशको तेस्रो ठूलो राजनीतिक दल, मुख्य प्रतिपक्षी दल हो, त्यसले निर्वाचनको वातावरण बनाउन किन आमसभा गर्न पाउँदैन?' उनले भने, 'यो मोर्चाको महाभूल हो, यसले एमाले पार्टीलाई होइन, मधेसी मोर्चालाई नै घाटा गर्छ।'

मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले भने एमालेले विगतमा गरेको गल्तीका कारण मधेसमा गल्ली–गल्लीमा विरोध भइरहेको दाबी गरे। एमालेले मधेससँग माफी माग्नुपर्ने उनको भनाइ छ।

यसैबीच  राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलका कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ। आयोगले विज्ञप्ति जारी गरी आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण तरिका हुँदाहुँदै एमालेको पूर्वनिर्धारित कार्यक्रममा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्नु मानवअधिकारको मूल्यमान्यताविपरीत भएको ठहर गरेको छ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App