coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

८६ वर्षीय शेरचन सगरमाथा चढ्दै

काठमाडौं– सबैभन्दा ज्येष्ठ आरोहीको कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचनले आगामी मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्  । 

सगरमाथा चढेर नेपाल र नेपालीको नाम विश्वभर फैलाउन चाहेको शेरचनले सोमबार मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियानले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बताए  । ‘विश्व शान्ति तथा पृथ्वी माताको रक्षाका लागि सगरमाथा चढ्न लागेको छु, यसमा मलाई सबैको सहयोग र शुभेच्छा आवश्यक छ,’ उनले भने, ‘कतिपय मलाई बुढो भयो भन्छन्, तर, मैले हिम्मत हारेको छैन । म सगरमाथा चढेरै छाड्छु ।’ 

सन् २००६ मा शेरचनले ७६ वर्षको उमेरमा सगरमाथा चढेर सबैभन्दा ज्येष्ठ आरोहीका रूपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ता गराएका थिए । तर, सन् २०१३ मा जापानी नागरिक युचिरो मिउराले ८० वर्षको उमेरमा सगरमाथा आरोहण गरी शेरचनको कीर्तिमान तोडेका थिए । त्यसलगत्तै फेरि नयाँ कीर्तिमान राख्ने उद्देश्यले शेरचनले सगरमाथा चढ्न पहल थालेका थिए ।  

अभियानका संयोजक जीतबहादुर घर्तीमगरले शेरचनको उत्साह, आँट र हिम्मतलाई स्वदेश तथा विदेशमा बस्ने नेपालीले सघाइरहेको बताए । ‘सरकारी पक्षले खासै सहयोग गरेको छैन,’ उनले भने, ‘जनस्तरबाट उहाँलाई हौसला प्रदान भइरहेको छ ।’ सन् २०१५ मा  विनाशकारी भूकम्पको कारण शेरचनले थालेको सगरमाथा आरोहण अभियान पूरा हुन सकेको थिएन ।  

कार्यक्रममा समाजशास्त्री प्रा.डा. कृष्णबहादुर भट्टचन, ज्येष्ठ नागरिक कोषका रामकृष्ण कर्माचार्यलगायत शेरचनलाई सगरमाथा आरोहणका लागि शुभकामना दिएका थिए । शेरचनको सगरमाथा आरोहण अभियानलाई म्याग्दी प्रवासी नेपाली संघ, बेलायत, गैरआवासीय नेपाली संघ, बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत संघसंस्थाले सहयोग गरेका अभियानका संयोजक घर्तीमगरले जानकारी दिए । 
 

प्रकाशित: २३ फाल्गुन २०७३ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App