८ वैशाख २०८१ शनिबार
राजनीति

‘भारतपरस्त’ आरोप खण्डन गर्न पार्टी भित्रैबाट भट्टराईलाई चुनाैती

नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई। फाइल तस्विर

काठमाडौं— निःसर्त स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने तथा पार्टी÷ नेतृत्वमाथि लाग्दै आएको ‘भारत परस्त’ को आरोपलाई व्यवस्थित खण्डन गर्नुपर्ने माग गर्दै असन्तुष्ट पक्षले संयोजक बाबुराम भट्टराईविरुद्ध नयाँ शक्ति नेपाल पार्टीमा फरक मत दर्ता भएको छ।

केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख देवेन्द्र पौडेल तथा अनुशासन आयोग प्रमुख परशुराम खापुङको उपस्थितिमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका निर्मल भट्टराई, देब लिम्बुलगायतले ११बुँदे लिखित फरक मत पार्टीमा दर्ता गराएका हुन् । फरक मत दर्ता गराएसँगै पार्टी गठन भएको २० महिना नपुग्दै नयाँ शक्तिमा औपचारिक रुपमा नै विवा सुरु भएको छ।

आफ्ना फरक मत समयमा नै सम्बोधन हुन नसके अलग्गै भेला फागुन २६ गते आयोजना गर्ने असन्तुष्ट पक्षका नेता भट्टराईले बताए । ‘लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने पार्टीले निर्वाचनको विषयमा सर्त राख्नु हुँदैन, निर्सत निर्वाचनमा जानुपर्छ भनेर संयोजकज्यूको ध्यानाकषर्ण गराएका छौं’, भट्टराईले नागरिकसँग भने, ‘त्यसैगरी, पार्टी र नेतृत्वलाई लाग्दै आएको ‘भारत परस्त’ को आरोप पनि व्यवस्थित रुपमा खण्डन गर्नुपर्ने कुरा उठाएका छौं।’ उनका अनुसार स्थानीय निर्वाचनको विरोध गर्न नपाइने तथा निर्वाचन तयारीमा जुट्नका लागि अविलम्ब रणनीति र कार्यक्रम बनाउन पनि माग गरिएको छ।

पार्टी र नेतृत्व (भट्टराई) माथि लाग्दै आएको भारत परस्तको आरोप खण्डन गर्नुपर्ने माग महत्वका साथ असन्तुष्ट पक्षले उठाएको छ। ‘हामीलाई लागेको भारतपरस्त आरोप खण्डन गर्न विशेष योजना बनाउने’ माग फरक मतमार्फत भट्टराईसमक्ष राखिएको छ।

संयोजक भट्टराईको ‘संविधान संशोधन नगरी निर्वाचनमा नजाने’ भन्ने पछिल्लो अभिव्यक्तिको पनि असन्तुष्ट पक्षले कडा रुपमा भत्र्सना गरेको छ। उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनसँग गरिएको कार्यगत एकता खारेजीको माग पनि उक्त समूहले संयोजक भट्टराईसमक्ष राखेको छ। पार्टीमा छलफल नै नगरी एकलौटी हिसाबमा उक्त एकता गरिएको असन्तुष्ट पक्षको भनाइ छ।

‘नयाँ शक्तिले राजनीतिक आन्दोलन गर्ने होइन, आर्थिक विकास र समृद्धिको अजेन्डा अघि लाने हो, त्यसैले संघीय गठबन्धनसँग भएको कार्यगत एकता तोडेर पार्टीलाई निर्वाचनमा होम्नुपर्छ भन्ने विषय ध्यानाकर्षण गराएका छौं’, असन्तुष्ट भट्टराईले भने । विकल्पमा, पार्टीले मधेस–तराई र त्यहाँ भइरहेको आन्दोलनको सन्दर्भमा छुट्टै अवधारणा बनाएर सार्वजनिक गर्नुपर्ने मागसमेत असन्तुष्ट पक्षले अघि सारेको छ।

पार्टी र नेतृत्व (भट्टराई) माथि लाग्दै आएको भारत परस्तको आरोप खण्डन गर्नुपर्ने माग महत्वका साथ असन्तुष्ट पक्षले उठाएको छ। ‘हामीलाई लागेको भारतपरस्त आरोप खण्डन गर्न विशेष योजना बनाउने’ माग फरक मतमार्फत भट्टराईसमक्ष राखिएको छ । प्रतिबद्धता अनुसार १ वर्षभित्र महाधिवेशन गर्ने भनिए पनि त्यसको कुनै प्रक्रियासमेत सुरु नगरेकोमा पनि आपत्ति जनाइएको छ।

केन्द्रीय परिषद्लाई १ हजार १ सय ६२ सदस्यीय पुर्‍याएर जम्बो बनाइएको भन्दै त्यसमा सशद्धीकरण गर्नुपर्ने तथा फरक मत राखेका आधारमा स्पष्टीकरण सोध्ने तथा डोटी जिल्ला कमिटी भंग गरेकोमा आपत्ति जनाउँदै त्यसलाई ब्युत्याउन माग राखिएको छ। असन्तुष्ट पक्षले संयोजक भट्टराईले सामाजिक सञ्जाल फेसबुक र ट्विटमा ‘मनलाग्दी’ लेख्ने तर कार्यकर्ताले वैचारिक विषय लेख्दा कारवाही गर्ने कार्यको पनि विरोध गरेको छ।

‘पार्टी संयोजक भएर जे पनि लेख्दै हिँडने तर कार्यकर्ताले त्यही कुरा उठायो भने ब्लक गर्ने, स्पष्टीकरण सोध्ने, विचलित बनाउने किन ? भनेर फरक मतमा प्रश्न उठाएका छौं’, असन्तुष्ट भट्टराईले भने । पूर्वप्रधानमन्त्री भएर पनि संयोजक भट्टराईले जातीय, क्षेत्रीय र वैचारिक विद्वेष फैलाउने गरी सामाजिक सञ्जालबाट टिप्पणी गरेकामा पनि असन्तुष्ट पक्षको आपत्ति प्रकट भएको छ ।

अर्का असन्तुष्ट नेता तथा प्रदेश नम्बर १ सम्पर्क संयन्त्र संयोजक देब लिम्बुले पार्टीलाई राजनीतिक मुद्दामा नभई आर्थिक र विकासका मुद्दामा पनि केन्द्रित गर्न माग गरिएको बताए । ‘राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेर डा. सा’पले भनेपछि यो पार्टी निमार्णमा जुटेका थियौं र हौं,’ लिम्बुले नागरिकसँग भने, ‘तर, संयोजकज्यू आफैं नै पार्टीको लाइन आर्थिक समृद्धि र विकासको मुद्दा नै छाडेर अरुको लाइन बोक्दै हिँडेपछि झस्किन पुगेका छौं ।’ उनका अनुसार संयोजक नै पार्टी लाइन छाडेर परिस्थिति उत्तेजक बनाउने र अरु दलको खण्डन गर्दै हिँडेकोमा असन्तुष्टि बढिरहेको छ।

असन्तुष्ट भट्टराईले २४ गतेसम्म फरक मतको चित्तबुझ्दो जबाफ नदिए अलग्गै भेला गर्न जानकारी दिएका छन् ।  संयोजक भट्टराईले ११बुँदे फरक मतमा छलफल गर्ने र त्यसको जवाफ दिने प्रतिबद्धता जनाएका छन । सो पार्टीले फागुन २६ र २७ गते केन्द्रीय जनपरिषद्को भेला बोलाएको छ ।
 

प्रकाशित: २३ फाल्गुन २०७३ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App