८ वैशाख २०८१ शनिबार
राजनीति

राजनीतिक दलको कार्यक्रममा अवरोध नगर: मानव अधिकार आयोग

काठमाडौं-  राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दलका कार्यक्रममा अवरोध नगर्ने आग्रह गरेको छ। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्ना फरक मत र विचारहरु राख्ने शान्तिपूर्ण बाटोहरु हुँदाहुँदै नेकपा (एमाले) को पूर्व निर्धारित कार्यक्रममा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्नु मानव अधिकारको मूल्य मान्यता विपरीत भएको बताएको छ।

मोर्चाले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत घर दैलो कार्यक्रम गर्ने क्रममा एमाले) सप्तरी सचिव शम्भु यादव र सह–सचिव प्रतापनारायण चौधरीलाई राजविराज–१, अदालत रोडमा मोर्चाका कार्यकर्ताहरुले कालो मोसो दलेका थिए। एमाले नेता तथा सांसद रन्जु झा चढेको जीपमाथि ढुंगा मुढा भएको घटनाका साथै २०७३ फागुन १५ गते रौतहटको गौरमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीच झडप हुँदा दुवै पक्ष केही घाईते भएका थिए। यी घटना प्रति मानवअधिकार आयोगको ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

 एउटा दलले आफ्ना कार्यक्रमहरु सार्वजनिक गरिसके पछि सो कार्यक्रमहरु विथोलिने गरी अरुले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त नहुने आयोगले जनाएको छ। हिंसात्मक बाटो अपनाउँदा २०६३ सालको चैतमा रौतहटको गौरमा भएको घटनालाई विर्सन नसकिने आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।  

कालोमोसो दलिएको घटना तथा गाडी तोडफोड गरिएको उक्त घटनाको यथाशिघ्र छानवीन गरी दोषीलाई कारवाहीगर्न र व्यक्तिको जीवन र स्वतन्त्रताको रक्षागर्नका साथै आगामी दिनहरुमा हुन सक्ने झडप रोकी सामाजिक सद्भावलाई कायम राख्न आयोगले सरकारलाई आग्रह गरेको छ।

मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८ को धारा २०, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ को धारा २१ र नेपालको संविधानको धारा १७ ले विना हातहतियार शान्तिपूर्वक भेलाहुने तथाविचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सुरक्षित गरेको छ।

 

प्रकाशित: २२ फाल्गुन २०७३ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App