७ वैशाख २०८१ शुक्रबार
समाज

नवनियुक्त उपकुलपतिले वीपीमा सम्हाले कार्यभार

धरान—बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्राडा राजकुमार(आर.के.) रौनियारले आइतबार कार्यभार सम्हालेका छन्। राजधानीबाट हवाईमार्ग(विराटनगर) हुँदै आइतबार दिउँसो प्रतिष्ठान आएका रौनियारले विद्युतीय हाजिरी गरेर आफ्नो कार्यभार शुरु गरे। उनलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा. विक्रम श्रेष्ठ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित कार्यरत चिकित्सक, कर्मचारीहरुले स्वागत गरेका थिए।

नवनियुक्त उपकुलपति डा.रौनियार माओवादी केन्द्र निकट मानिन्छन्। उनलाई उपकुलपति बनाउन भने कांग्रेस सभापति देउवा पक्षधरले स्थानीयस्तरबाटै पनि लविङ गरेका थिए।

स्वास्थ्यमन्त्री गगन थापाले सिफारिश गरेका तीन नाममध्ये मन्त्रीपरिषदले फागुन २० गते डा.रौनियारलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्ती गरेको हो। उपकुलपतिको लागि मन्त्री थापाले डा.रौनियारसँगै डा.रामेश कोइराला र प्रतिष्ठानकै शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठको नाम सिफारिश गरेका थिए। पुष २० मा तत्कालीन उपकुलपति डा.बीपी दासको पदावधि सकिएपछि प्रतिष्ठान उपकुलपतिविहिन थियो।

उपकुलपति बन्ने दौडमा डा.रौनियारसँगै १६ जनाले मन्त्रालयमा कार्ययोजनासहित निवेदन पेश गरेका थिए। उपकुलपति नियुक्ति ढिलाई हुँदा प्रतिष्ठानमा अस्पताल निर्देशक नियुक्तिमा पनि बाधा पुगेको छ। उपकुलपतिको सिफारिशको आधारमा अस्पताल निर्देशक सहकुलपतिको हैसियतममा शिक्षामन्त्रीले नियुक्त गर्ने प्रावधान छ। अस्पताल निर्देशक डा.अरविन्द सिन्हाको पनि पदावधि सकिएपछि प्रतिष्ठान अस्पताल निर्देशकविहीन छ।

सरकारले डा.रौनियारलाई उपकुलपतिमा नियुक्ति गरेपछि अब अस्पताल निर्देशक नियुक्तिको बाटो पनि खुलेको छ। नवनियुक्त उपकुलपति डा.रौनियार माओवादी केन्द्र निकट मानिन्छन्। उनलाई उपकुलपति बनाउन भने कांग्रेस सभापति देउवा पक्षधरले स्थानीयस्तरबाटै पनि लविङ गरेका थिए।

पदभार ग्रहण गर्दै नवनियुक्त उपकुलपति डा.रौनियारले प्रतिष्ठानलाई एसियाकै नमुना स्वास्थ्य एवं शैक्षिक केन्द्र बनाउने प्रतिवद्धता जनाए। सरकारले दिएको गहन जिम्मेवारीलाई आफू एक्लैले पूरा गर्न सम्भव नभएको भन्दै डा.रौनियारले सबैको साथ, सहयोग र सद्भाव पाउने अपेक्षा गरेको बताए। ‘सरकारले दिएको गहन जिम्मेवारीलाई स्वीकार गरेको छु। मेरो लागि सुवर्ण अवसर पनि हो। पदाधिकारी, कर्मचारी, शिक्षक चिकित्सक, विद्यार्थी सबैको सहयोग पाएको छु र भविष्यमा पनि पाउनेछु। म होइन, हामी मिलेर बीपीलाई एसियाकै नमुना बनाउनेछौं,’उनले भने ।

प्रतिष्ठानमा अस्पतालको सेवालाई चुस्तदुरुस्त र विस्तार गर्ने, शिक्षा र अनुसन्धानको गुणस्तर वृद्धि गर्ने, प्रशासनिक सुधार गर्ने कार्यलाई पनि प्रमुखताका साथ अघि बढाउने उनको भनाई थियो । ‘मैले के गर्छु भनेर कार्ययोजना नै पेश गरेको थिएँ । विस्तृतमा योजनाहरु स्वास्थ्यमन्त्रीसँगै पछि सार्वजनिक गर्नेछु’–पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने।

सुनसरीको दुहबी स्थायी घर भएका डा.रौनियार प्रतिष्ठानमा लामो समय रेडियोलोजी विभागको प्रमुख थिए। उनी सन् १९९३ देखि प्रतिष्ठानमा कार्यरत वरिष्ठ चिकित्सक हुन्। अन्र्तराष्ट्रिय रेडियोलोजिष्टहरुको सम्मेलनमा सम्मानित भइसकेका डा.रौनियार यसअघि सार्कस्तरीय रेडियोलोजिस्ट एसोसिएसनको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
 

प्रकाशित: २२ फाल्गुन २०७३ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App