८ वैशाख २०८१ शनिबार
समाज

बाग्लुङमा पहिरो खस्दा डरमखोलामा ताल बन्यो

संगम घर्तीमगर

बाग्लुङ- मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको रिघा-७ मनेवामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको छ। पहिरोले विद्युत केन्द्रीय प्रसारण लाइनको ७ वटा पोल ढल्दा करेन्ट लागेर एक महिलाको ज्यानसमेत गएको छ।

आइतबार बिहान साढे ५ बजेको समयमा पहिरो खस्दा लोकमार्गका अवरुद्ध हुनुका साथै दरमखोला थुनिएको र करेन्ट लागेर स्थानीय मनाकुमारी नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रवक्ता अनिलकुमार खड्काका अनुसार जिल्ला सदरमुकामबाट ५९ किलामिटर दूरीमा लोकमार्गको १ सय ५० फिट माथिबाट पहिरो खसेर करिब २ सय मिटर लम्बाइको सडक अवरुद्ध भएको छ।

पहिरोबाट ढलेको विद्युत पोलबाट घरमा जोडिएको कालो तारमा आगो लागेपछि पानी हालेर निभाउने क्रममा करेन्ट लाग्दा अन्दाजी ५०-५५ वर्षीय नेपालीको मृत्यु भएको हो।

‘पहिरोले सडक पूरै अवरुद्ध भएको छ,’ खड्काले भने, ‘पहिरोका कारण दरमखोलामा समेत १ सय ५० मिटर लामो र १५ मिटर गहिरो ताल बनेको छ।’

पहिरोकै कारण करेन्ट लागेर घाइते भएकी नेपालीको उपचारको क्रममा हटियाको इमरजेन्सी मेडिकल हलमा मृत्यु भयो,’ उनले भने। डरमखोलामा रोकिएको पानी ओभर फ्लो भएर बग्न थालिसकेकाले ठूलो खतरा नभएको उनले बताए।

डरमखोला हाइड्रो इनर्जी लिमिटेडले विद्युत उत्पादनका लागि पानी लैजान पाइप बिच्छ्याउने गरी लोकमार्गको कुनापट्टी खनेको र त्यही ठाउँबाट सुख्खा पहिरो खसेको मध्येपहाडी लोकमार्ग बाग्लुङ खण्डका डिभिजन इन्जिनियर बद्री शर्माले बताए।

‘पाइप बिच्छ्याउनका लागि अनुममति मागेका थिए, छेउमा भिर भएकाले कुनाबाट भित्ता खोपेर पाइप बिच्छ्याउन भनेका थियौं,’ इन्जिनियर शर्माले भने, ‘त्यही ठाउँबाट चट्टानसहितको पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो।’

रक चट्टानसहितको पहिरो भएकाले सडक सुचारु गर्न केही दिन लाग्ने उनले बताए।‘मैले त्यहाँ काम गरिरहेको निर्माण कम्पनी र हाइड्रो पावरलाई पनि सोधेको छु। पहिरो हटाउनलाई ५-७ दिन लाग्न सक्छ,' उनले भने।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले स्थलगत निरीक्षण र पहिरो हटाउनका लागि प्रहरी र सेनाको टोली पठाएको बताए। ‘थुनिएको खोलाले बढी क्षति गर्छ कि भन्ने थियो, खोला ओभर फ्लो भएर बग्न सुरु गरिसकेछ,’ प्रजिअ पाण्डेयले भने, ‘घोडाबाँधेबाट नेपाली सेना र नेपाल प्रहरीलाई पठाएका छौं। त्यहाँबाट कस्तो रिपोर्टिङ आउँछ त्यस आधारमा तत्काल कदम चाल्छौं।’

प्रकाशित: २२ फाल्गुन २०७३ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App