४ वैशाख २०८१ मंगलबार
समाज

पर्यटकको गाडी दुर्घटना, एककाे मृत्यु, पाँच घाइते

भारतीय पर्यटक बोकेको दुर्घटनाग्रस्त स्कारपियो ।

धरान–पर्यटकीयस्थल भेडेटार घुमेर फर्कदै गरेको भारतीय पर्यटकको गाडी दुर्घटना हुदा शनिबार एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भेडेटार चोक नजिक भएको दुर्घटनामा बि.आर.४३ पि ४२२२ नम्बरको स्कोरपियो मध्याह्न कोशी राजमार्गदेखि डेढ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी बिहार राज्यको मध्यपुरा जिल्लाका ३८ वर्षीय सुरज सिंहको घटनास्थलमै मृत्यु भएको छ । घाइते ५ मध्ये दुई जना नेपाली युवती छन्। घाइतेहरुमा ३२ वर्षीय चालक राजुकुमार सिंह, २२ वर्षीय रोहित कुमार र ३१ वर्षीय प्रभाकर कुमार छन् । घाइतेहरुको टाउकोमा चोट भएपनि सबै खतरामुक्त छन् । उनीहरु सबै विहारको मध्यपुुरा १८ का बासिन्दा हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक मेघराज अधिकारीका अनुसार भारतीय पर्यटकसँगै दुर्घटनामा घाइते दुई नेपाली युवतीहरुले ठेगाना झापा गौरदह १ बताएका छन् । उनीहरुले आफ्नो प्रिति र सुनिता राई बताए पनि वास्तविक परिचय, ठेगाना भने खुलेको छैन । दुवैले भेडेटारमा लिफ्ट मागेर चढेको प्रहरीलाई बयान दिएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइतेहरुलाई धरान प्रहरी, भेडेटार प्रहरी चौकी र जिल्ला ट्राफिक प्रहरीले करिब एक घण्टा लागाएर उद्दार गरेको थियो।

गाडी तीब्र गतिमा हुइकिएर अनियन्त्रित भएर खसेको प्रत्यक्षदर्शी राजु अधिकारीले बताए । ‘गाडी एकदमै स्पिडमा थियो, अनियन्त्रित भएर आफ्नो साइड छोडेर भिरतिर खस्यो । भिरबाट खस्दा खस्दै एक जना उछिटिएर निस्कियो र गाडीले नै किचेर मर्यो’, प्रत्यक्षदर्शी अधिकारीले भने । चालकले मदिरा सेवन गरेर लापरवाहीपुर्ण तरिकाले गाडी चलाएको हुनसक्ने उनको आशंका छ । गाडीले आफ्नो साइड(बाँया) छोडेर भिरतर्फ(दाँया) मोडिएर खसेको हो । जिल्ला ट्राफिक प्रमुख मेघराज अधिकारीले तीब्र गतिले गाडी दुर्घटना भएको हुनसक्ने बताए ।

प्रहरीका अनुसार भारतीय पर्यटकहरु शुक्रबार नै नेपाल आएका थिए । विराटनगर जोगवनी हुदै नेपाल प्रवेश गरेका उनीहरु नमस्ने झरना घुमिसकेर भेडेटारमा नै बास बसेका थिए । ‘उनीहरु हिजो शुक्रबार नै इन्ट्री भएको देखिएको छ । भेडेटार बसेर आज फर्किरहदा दुर्घटनामा परेको हो’–इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र प्रसाद खतिवडाले भने । घाइते रोहित कुमारका अनुसार प्रभात कुमार ठेकेदार हुन् । शुक्रबार फारबिसगञ्जमा टेण्डरको फर्म दर्ता गरेपछि उनीहरु रमाइलो गर्न नेपाल आएको रोहितले बताए ।

 

प्रकाशित: २५ असार २०७३ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App