coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दक्षिण अफ्रिका शीर्ष वरीयतामा

अकल्यान्ड- फाप डुप्लेसिसको अर्धशतकप्रेरित दक्षिण अफ्रिकाले शनिबार पाँचौं तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। जितसँगै दक्षिण अफ्रिका एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।

डुप्लेसिसको प्रशंसा गर्दै दक्षिण अफ्रिकाका कप्तान एबी डी भिलियर्सले भने, ‘उनी उत्कृष्ट खेलाडी हुन् र पछिल्ला केही वर्षमा उनले आफूलाई महान् खेलाडीको रूपमा प्रमाणित गरेका छन्।’

डुप्लेसिसले अविजित अर्धशतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले १ सय ५० रनको लक्ष्य ३२.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। जितसँगै भ्रमणकारी टोलीले पाँच खेलको शंृखला ३–२ ले जितेको छ।

ओपनरद्वय क्विन्टन डी ककले ६ र हासिम अमलाले ८ रन बनाएर आउट भए। त्यस्तै अलराउन्डर जेपी डुमिनी ३ रनमा पवेलियन फर्कंदा भ्रमणकारी टोली १६ ओभरमा ४८–३ को स्थितिमा थियो। त्यसपछि डुप्लेसिसले चौथो विकेटका लागि डी भिलियर्ससँग ४० तथा पाँचांै विकेटका लागि डेभिड मिल्नरसँग अविजित ६५ रनको साझेदारी गरेपछि भ्रमणकारी टोलीले सहज जित हात पारेको हो।

डुप्लेसिसले ९० बलमा ६ चौका प्रहार गरेे। त्यस्तै २१ बल खेलेका डी भिलियर्सले २ चौका र २ छक्कासहित २३ रन जोडे। ३५ बल खेलेका मिल्नरले ६ चौका र २ छक्कासहित अविजित ४५ रन बनाएका थिए।

न्युजिल्यान्डका स्पिनर जितेन पटेलले २ विकेट लिए भने जेमी निसाम र कोलिन डी ग्रान्डहोमको नाममा १/१ विकेट रह्यो।

विश्व नम्बर १ स्पिनर इमरान ताहिर र तीव्र गतिका बलर कासिगो रवाडा बलिङमा चम्किएपछि टस हारेर ब्याटिङका लागि उत्रिएको न्युजिल्यान्डले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।

घरेलु टोलीका लागि डी ग्रान्डहोमले सबैभन्दा धेरै ३२ रन बनाए। ओपनर ड्यानियल ब्राउन्ली, मिचेल सान्टनर र जेमी निसामले समान २४ रनको स्कोर बनाए। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका ग्रान्डहोमले ४८ बलमा १ चौका र १ छक्का प्रहार गरे। ३७ बल खेलेका ब्राउन्लीले ३ चौका प्रहार गरे। त्यस्तै २४ बल खेलेका निसामले ४ चौका र १ छक्का हाने। ५० बल खेलेका सान्टनरले ३ चौका प्रहार गरे।

४.३ ओभरमा १७ रन रहँदा मार्टिन गुप्टिललाई पहिलो विकेटको रूपमा गुमाएको घरेलु टोली १६ ओभरमा ५१–४ को स्थितिमा रहेको थियो।

‘हाम्रो ब्याटिङ प्रदर्शन निराशाजनक रह्यो,’ न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भने।

चौथो खेलमा कीर्तिमानी अविजित १ सय ८० रन जोड्दै घरेलु टोलीलाई जित दिलाएका गुप्टिलले १६ बलमा ४ रन मात्र जोडे। विलियम्सनले ९ रन जोड्दा रोस टेलर र ल्युक रोचीले समान ८ रनको स्कोर गरेका थिए।

दक्षिण अफ्रिकाका लागि म्यान अफ दी म्याचसमेन रहेका रावडाले ७.१ ओभरमा २५ रन दिएर ३ विकेट लिए। १० ओभर बलिङ गरेका ताहिरले १४ रन दिएर २ विकेट लिए। त्यस्तै एन्डिल फेलुकवायोलेे २ तथा क्रिस मोरिसले १ विकेट लिए।

दुई टोलीबीच हुने तीन टेस्ट शंृखलाअन्तर्गतको पहिलो टेस्ट बुधबारबाट डुरेडिनमा सुरु हुनेछ।

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App