८ वैशाख २०८१ शनिबार
खेल

सुदूरपश्चिमाञ्चल र एपिएफ विजयी

इटहरी- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा सुदूरपश्चिमाञ्चल र विभागीय टोली एपिएफ विजयी भएका छन्।

इटहरीको डिभिएम स्कुलको खेलमैदानमा जारी प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई र विभागीय टोली एपिएफले मध्यपश्चिमाञ्चललाई पराजित गरे। प्रतियोगिताको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रनको योगफल तयार पार्‍यो। जसमा पूर्वाञ्चलका लागि रुबिना क्षत्रीले १९ र काजल श्रेष्ठले १५ रन बनाए। खेलमा सुदूरपश्चिमाञ्चलका रेखा रावलले ४ र सुमिना विष्टले २ विकेट लिए। जबाफी ब्याटिङमा आएको सुदूरपश्चिमाञ्चलले १६.१ ओभरमा ४ विकेट गुमाउँदै विजयलक्ष्य भेटायो। म्यान अफ दी म्याच हुन सफल सुदूरपश्चिमाञ्चलकी रेखा रावलले ५३ र अञ्जली चन्दले १७ रन बनाए। पूर्वाञ्चलका लागि सबनम राई र शान्ति चौधरीले १/१ विकेट लिएका थिए।

दोस्रो खेलमा विभागीय टोली एपिएफले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रनको योगफल तयार पार्‍यो। एपिएफका लागि सीता रानामगरले ५३, रीता कनोजियाले ३६ र इन्दु बर्माले १५ रन बनाए। मध्यपश्चिमाञ्चलका लागि नेही थापामगरले १, गीता गोसाईले २ विकेट लिएका थिए।

 १ सय ५४ रनको लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चल टिम १२.१ ओभरमा ४० रनमा समेटिएको थियो। खेलमा एपिएफका तर्फबाट सीता रानामगरले २ र करुण भण्डारीले ४ विकेट लिए। खेलको म्यान अफ दी म्याच सीता रानामगर नै भइन्।

खेलको पहिलो चरणबाटै मध्यपश्चिमाञ्चल टोली बाहिरिन पुगेको छ। आइतबार हुने खेलहरूले सेमिफाइनल समीकरण पूरा हुनेछ।

पुरुषसरह महिलालाई खेलकुदमा सहभागी गराउनका लागि पूर्वाञ्चलको इटहरीमा पहिलो पटक शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो।

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App