८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भ्यागुतोको अस्पतालले पाएन भवन

सिड्नी- अस्ट्रेलियाको एक मात्र भ्यागुताको अस्पताल 'द कायर्न्स फ्रग हस्पिटल' फेरि सार्नुपर्ने भएपछि संचालकलाई भवन पाउन कठिन भएको छ। भ्यागुताको उपचारमा निरन्तर सेवा संचालन गर्दै आएको उक्त अस्पतालको अहिलेसम्म पाँचपटक भवन सरिसकेको उक्त अस्पताललाई अर्को भवन पाउन कठिन भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। 'द कायर्न्स फ्रग हस्पिटल'लाई विश्वकै एक मात्र भागुताको अस्पताल भनेर चिनिन्छ।

अस्पताल प्रशासनलाई घरधनीले अस्पताल रहेको घर बिक्री गर्न खाली गराइदिनू भनेपछि पछिल्लोपटक ८ वर्ष बिताएको भवनबाट उनीहरू विस्थापित हुनुपरेको बताइएको छ। उक्त अस्पताल अस्ट्रेलियामासुरु भएको १८ वर्ष भएको छ। सिड्नीमा कुनै पनि व्यापार, व्यवसाय वा कार्यालय संचालन गर्न चाहना गरेजस्तो भवन भाडामा पाउनु वा लिनु एक कठिन र चुनौतीपूर्ण कार्य हो। त्यसमाथि पनि भ्यागुताको उपचारजस्तो संवेदनशील कार्यका लागि उपयुक्त भवन पाउनु त सोचेभन्दा निकै परको काम हुने गर्छ।

अस्ट्रेलियामा 'रियल इस्टेट एजेन्ट' ले आवासीय वा जस्तोसुकै भवन खाली हुनासाथ आवश्यक भए पनि नभए पनि ठूलो परिमाणमा किटनासक औषधि छर्किने गर्छन्। तर एकपटक किटनासक औषधि छर्किएपछि त्यो भवन भ्यागुताको अस्पताललाई कामै नलाग्ने हुने कायर्न्स फ्रग हस्पिटलकी संस्थापक एवं अध्यक्ष डेबोराह पेर्गालोट्टीले बताइन्। उनले भनिन्,'भ्यागुता अस्पताल सार्न नयाँ भवन फेला पार्नु कठिन र चुनौतीपूर्ण त छँदैछ बढी परिणाममा किटनासक विषादीको जथाभावी प्रयोगले संसारबाटै भ्यागुताको संख्या विस्तारै लोप हुँदै गएको प्रति चिन्ता छ।'

'संसारका कुनै पनि प्रजातिका भ्यागुता आफ्ना प्राकृतिक गुणअनुसार रासयानिक पदार्थप्रति अत्यन्त संवेदनशील हुन्छन्। अस्पताल सार्नका लागि नयाँ भवन फेला पार्न किटनासक विषादीले मात्र होइन, घरभाडाले पनि त्यत्तिकै चुनौती थपेको छ,' उनले भनिन्। पृथ्वी सबै जीवको साझा घर भएको बताउँदै डेबोराह भन्छिन्, 'धर्तीका हरेक प्राणीलाई औषधि र उपचारको हक छ र बचाउन सकिन्छ भने सबै प्राणीलाई बचाउनुपर्छ।'

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App