७ वैशाख २०८१ शुक्रबार
विचार

बहुलवाद कि बहुलावाद?

मानव सभ्यताको इतिहाससँगै दर्शनशास्त्र प्रारम्भ भएको मान्यता छ। प्राचीन आर्य सभ्यताले पूर्वीय दर्शनबारे प्रशस्त विवेचना गरेको छ। वेद, पुराण, उपनिषद् शास्त्रहरू र धार्मिक ग्रन्थमा हिन्दु सनातन परम्पराबारे विस्तृत विवेचना गरिएको छ। विश्वमा प्रयोग भइसकेका शासन व्यवस्था कुनै न कुनै 'वाद' द्वारा सञ्चालित पाइन्छ। नेपाली बृहत् शब्दकोशमा 'वाद' शब्दलाई यस प्रकार अर्थ्याइएको छ– तत्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त जस्तै प्रगतिवाद, भौतिकवाद, समाजवाद इत्यादि, सार कुरो पत्ता लगाउनका निम्ति गरिने तर्क, शस्त्रार्थ, विचार, बहस, विवाद आदि।

नेपालका राजनीतिक दलहरु नाममात्रका सिद्धान्तवादी हुन, यथार्थमा यिनीहरु सिद्धान्तहीन, नीतिविहिन, कमिसनतन्त्र र भ्रष्टाचारका पृष्ठपोषक हुन्। पार्टीभित्र गुट, उपगुट र व्यक्तिगत स्वार्थपरतामा लिप्त छन्।

विश्व दर्शनशास्त्र र राजनीतिशास्त्रको इतिहासमा वर्णित वाद– आदर्शवाद, व्यक्तिवाद, समाजवाद, फेवियनवाद, श्रमिक संघवाद, श्रेणी समाजवाद, साम्यवाद, आराजकतावाद, नाजीवाद, फासिस्टवाद, उपयोगितावाद, बहुलवाद, राष्ट्रवाद, अन्तर्राष्ट्रवाद, पुँजीवाद, गान्धीवाद, लोकतान्त्रिक समाजवाद, स्थानीयवाद (जरावाद), नियतिवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद, साम्राज्यवाद, अध्यात्मवाद, अवसरवाद, प्रतिक्रियावाद, उग्रवाद, उग्रराष्ट्रवाद, उदारतावाद, उपनिवेशवाद, ऐतिहासिक भौतिकवाद, जडसूत्रवाद, द्वन्द्वात्मक भौतिकवाद, नक्सलवाद, नरोदवाद, नवउपनिवेशवाद, पुनरुत्थानवाद, प्रभुत्ववाद, हैकमवाद, बुकनिनवाद, वामपन्थी दुस्साहसवाद, दक्षिणपन्थी अवसरवाद, ब्लाँकीवाद, वैज्ञानिक समाजवाद, यहुदीवाद, यान्त्रिक भौतिकवाद, विस्तारवाद, संविधानवाद, सामान्तवाद, सुधारवाद, संशोधनवाद आदि वाद कुनै न कुनै रूपमा अस्तित्वमा पाइन्छ। सन्दर्भ छ– नेपाल राणातन्त्र, राजतन्त्र, पञ्चायती निर्दल व्यवस्था तथा पुनः प्रजातन्त्र स्थापना हुँदै जनआन्दोलन २ पछि कुन वादतर्फ अग्रसर भइरहेछ भन्ने।

नेपालमा सबभन्दा मार्क्सवादी कहलाउने राजनीतिक दल बढी देखापरेका छन्। मार्क्सवादका प्रणेता कार्ल मार्क्सको जन्म १८१८ ई. मा जर्मनीमा भएको थियो। उनका कृतिमध्ये दास 'केपिटा' र 'कम्युनिस्ट मेनिफेस्टो' प्रमुख हुन्। यिनी हेगलबाट निकै प्रभावित थिए तर हेगलको निरपेक्ष विज्ञानवादमा परिवर्तन गरेर टाउकाको भरमा उभिएको द्वन्द्वात्मकतालाई खुट्टामा उभ्याएको कार्ल मार्क्सको प्रसिद्ध भनाइ छ। भौतिक पदार्थको मात्र अस्तित्व स्वीकार्नु द्वन्द्वात्मक इतिहासलाई समग्र मानव समाजको वास्तविक इतिहास ठान्नु, तानाशाहीको समर्थन गर्नु, हिंसात्मक विचारोत्पादन गर्नु, वर्ग संघर्षमा अत्यधिक बल दिनु र केवल समाजवादी पद्धतिलाई मानौं समग्र विकासको विकल्प ठान्नु कार्ल मार्क्सका ठूला कमजोरी थियो। मानवलाई केवल भौतिक पुँजी ठानेर उनका भावना, संस्कार, आवश्यकताउपर केवल सामाजवादी जीवन थोपर्न खोज्नु यिनको महान् भुल थियो। यसै भुलका कारण साम्यवादको पतन विश्वभरि (सोभियत रुससहित सम्पूर्ण युरोप, भियतनाम) भएको छ। मार्क्सवादका पतनका बीउ मार्क्स आफैँले रोपेका थिए। मार्क्सका सिद्धान्तमा हेरफेर गरी लेनिनले सोभियत संघमा शासन गरे, स्टालिन आदि त्यसैको भरमा तानाशाह बने।

माओवाद :  माओ जेडोंग–माओ त्सेतुङ्ग चिनियाँ साम्यवाद क्रान्तिका प्रवर्तक थिए। मे फोर्थ मुभमेन्ट (१९१९), १९२१ ई.मा पार्टी स्ांस्थापक सदस्य, १९२७ ई.मा उग्र राष्ट्रवाद तहत गुरिल्ला पिपुलवार तथा लङ्ग मार्च प्रारम्भ, २५ नो. १९२८ मा 'चिनकाङ्ग पहाडमा संघर्ष' शीर्षक प्रतिवेदनमा 'स्थानीयवाद' प्रयोग गरेका थिए। त्यही उग्रवाद र स्थानीयवादका नक्कल नेपालका माओवादी र एमाले जस्ता राजनीतिक दल गरिरहेका छन्। माओवादका तीन प्रमुख तत्व थिए, लेनीनवादी संगठनात्मक सिद्धान्तको कडाइसाथ पालना, चिनियाँ परम्परा र सशस्त्र संघर्ष। उनको मृत्युपछि बहुत कडा प्रतिक्रिया देखापर्‍यो– 'कल्ट अफ पर्सनालिटी, माओवाद परित्याग गर्दै चीन पुँजीवादतर्फ ढल्किसकेको छ। आज विश्वको आर्थिक जगतमा दोस्रो स्थानमा छ। मार्क्सवाद, लेनिनवाद र माओवाद विश्वबाट लुप्त हुन थालेका बेला नेपालमा यिनीहरूका नाम बेचेर आठ/दश राजनीतिक पसल थापिएका छन्। मार्क्सवाद, लेनिन र माओवाद सबैको आ–आफ्नो सिद्धान्त र समूह बेग्लाबेग्लै, 'संसारका मजदुर किसान एक हौऔं, मूल नारा थियो भने के, कति कारणले आआफ्ना डफली राग अलाप्नुपर्‍यो? किन यतिथरी विभाजन? एकमात्र उद्देश्य– आफूलाई छिटोछरितो कसरी पुँजीपति बनाउने?

लोकतन्त्र/प्रजातन्त्र :  १८६३ ई.मा अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले प्रजातन्त्रको परिभाषा गर्दै भनेका थिए–प्रजाको, प्रजाद्वारा र प्रजाका लागि शासन व्यवस्था हुनुपर्छ। बहुमतको सरकार। कालान्तरमा अपार बहुमतले जितेका राजनीतिक दलका नेतृत्व वर्गले तानाशाही प्रवृत्ति अवलम्बन गरेको पाइयो। तसर्थ आधुनिक युगमा प्रजातान्त्रिक विचारधारामा यी मूलभूत कुरा समावेश हुनुपर्छ– विचारमा मतभिन्नताको अधिकार, अल्पमत विचारधाराको समुचित आदर र संरक्षण, बहुमतको तानाशाही प्रवृत्तिलाई अन्धसमर्थन हुनुहुँदैन, साथै किङ्कसिप र फ्रेन्डसिप दुई भिन्न कुरा हुन्। नेपालका लोकतान्त्रिक कहलाउने जेठो पार्टी नेपाली काँग्रेसलगायत सम्पूर्ण लोकतान्त्रिक राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्रको पूर्णतः अभाव देखिन्छ। नेपाली काँग्रेसमा मातृका, बिपी, गिरिजा र सुशील कोइराला बन्धुको एकछत्र आधिपत्य कायम रहिआएको छ। गणेशमान र कृष्णप्रसाद भट्टराई जस्ता बलिदानी/त्यागी नेता सर्वदा उपेक्षित रहे। पटकपटक बहुमत प्राप्त गरे तापनि पूर्ण समयावधि शासन गर्न अक्षम ठहरिइसकेका छन्।

उग्रराष्ट्रवाद :  जर्मनी एकीकरणका बेला सम्पूर्ण युरोपमा राष्ट्रवाद र उग्रराष्ट्रवादले व्यापक प्रभाव पारेको थियो। राष्ट्रवाद र उग्रराष्ट्रवादले प्रथम र द्वितीय विश्वयुद्ध निम्त्याएको इतिहास विश्वले बिर्सेको छैन। नेपालका वामपन्थी साम्यवादी दलहरू भारत र मधेसीलाई गाली गर्दै राष्ट्रवाद र उग्रराष्ट्रवादका परिचय दिइरहेका छन्।

बहुलवाद :  बहुल, अधिक, धेरै, ज्यादा, एकभन्दा बढी राजनीतिक दल भएको राजनीतिक व्यवस्था। मैले जाने, सुने र पढेको आधारमा नेपालमा जति थरी (करिब १७२ दल दर्ता) राजनीतिक दल छन्, शायद विश्वमा अन्यत्र कतै होलान्। बहुदलका आदर्श नमुना युएसए र युके हुन्। विश्वको सबभन्दा छोटो संविधान भएको युएसए र लिखित संविधान नै नभएको युके हुन्। २००७ सालदेखि २०७३ सम्म संसदीय व्यवस्था, पञ्चायती व्यवस्था, बहुदल व्यवस्था (२०४७) लोकतान्त्रिक/गणतान्त्रिक शासन व्यवस्था (२०६३) अनुसार हामी शासित हुँदै आएका छौं।

मधेसवाद :  राजनीतिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक, आर्थिक आदि पहिचान भएको प्रणाली सिद्धान्तमा परिणत भई वाद कहलाउँछ। मधेसको आफ्नो भूगोल इतिहास, संस्कृति, अर्थतन्त्र (कृषि) भए तापनि १८१६, ३ मार्चको सुगौली सन्धिअनुसार औपनिवेशिक अवस्थामा जीवनयापन गरिरहँदा लोकतन्त्रका सिद्धान्तअनुसार स्वतन्त्रता, समानता र भातृत्वभावबिहीन अवस्थामा सधैं अपमानित भई बाँच्न सकिँदैन। यही अवस्थामा साठी वर्षदेखि मधेसका मुद्दा सल्लबलाइराखेका थिए। गिरिजाबाबुको राजनीतिक अंकगणितले जोडतोडको राजनीतिमा मधेसी नेताहरु मन्त्री हुन पाइन्छ भनेर पद, पैसा र प्रतिष्ठाका लागि सत्र समूहमा विभिाजित भई मधेसवादका नारा घन्काउने काममा संलग्न भए। तीन/चार वर्षदेखि सत्ताको स्वाद चाख्न पाइरहेका छैनन्। मधेसवाद सही भए तापनि सत्र समूह विभाजनले समस्याको अन्त्य देखिँदैन। एमालेको राष्ट्रवाद जस्तै मधेसवाद हो। साम्यवादका नाउँमा वामपन्थी दलहरु सत्र टुक्रामा विभाजित छन् त्यस्तै मधेसवादका नाउँमा मधेसी दल विभाजित देखिन्छ। दुवैमा समानता छ– राष्ट्र र संघभन्दा समूहगत स्वार्थपरता। विषमता छ– एउटाले भारतलाई गाली गर्छ, अर्कोले भारतको बचाउ गर्दै मैत्रीभाव प्रदर्शित गर्छ। बहुल र बहुलामा एउटा आकार (।) ले निकै भिन्न अर्थ राख्छ। बहुलावादका प्रमाणिक दस्तावेज : 

१. प्रथम संविधानसभा निर्वाचन :  जसमा माओवादी र मधेसवादीले राम्रो वर्चस्व कायम गरे। दुई वर्ष समयावधिलाई पटकपटक थप्दै जाँदा चार वर्ष लम्ब्याए। तर एउटा खेस्रासम्म कोर्न सकेनन्। सत्ता परिवर्तन र कुर्सीको खेलमा प्रचण्ड, माधव, झलनाथ र बाबुराम इतिहासमा प्रम पदमा नाम दर्ता गराए। झुटा स्वाभिमान, अहंकार, शान र जुँगाको लडाइँमा राष्ट्रको ढुकुटी रित्याउने काम गरियो।

२. दोस्रो संविधानसभा :  पहिलो संविधान सभाको ठीक उल्टो परिणाम आयो। नेपाली काँग्रेस र एमालेमा भित्री सहमतिअनुसार सुशीलको पालामा संविधान घोषणा, त्यसपछि ओलीको सरकार। अल्पमतमा परेका माओवादीले दुई बिरोलाको झगडामा बन्दरको काम गर्‍यो। दुवै बिरालो हाल मौका ताकाताकमा छ र बन्दर रजाइँ गरिरहेछ।

३. संविधान निर्माण हेतु संविधानसभाको प्रथम र द्वितीय निर्वाचन भएको थियो। त्यसलाई मनपरि ढंगले व्यवस्थापिकामा परिणत गरी राजश्व सिध्याउने काम भइरहेछ।

४. संविधान घोषणालगत्तै व्यवस्थापिकाको निर्वाचन हुनुपर्थ्यो तर नेताहरुमा आत्मबल, आत्मविश्वास कम भएकाले समयावधि लम्ब्याइएको हो।

५. ऐन कानुन निर्माण नगरी स्थानीय निर्वाचन घोषणा गर्नु। 

६. स्थानीय निर्वाचन प्रत्येक प्रान्त/संघको अधिकारप्रति अतिक्रमण हो।

७. संघ/प्रान्तको सीमाङ्कन नगर्नु, भौतिक पूर्वाधार निर्माण नगर्नु, प्रान्तीय राजधानीको घोषणा नगर्नु। निर्वाचनका लागि हल्लामात्र गर्नु।

८. अन्तरिम संविधान तथा विगत सहमति/समझौतालाई लत्याई केही व्यक्तिका मिलोमतोमा मधेसीका हक, अधिकारमा विभेद गर्नु।

९. सशस्त्र माओवादी विद्रोही सेनामध्ये १९ हजारको हाराहारीमा सेनामा प्रवेश दिनु तर मधेसीलाई सेनामा अघोषित प्रतिबन्ध लागु राख्नु।

१०. विभिन्न जालझेल षड्यन्त्रद्वारा मधेसीलाई दमन गर्न खोज्नु, धोती प्रदेश, माखाको सांग्लो, हक अधिकार खोज्न युपी बिहार जानु, मधेस कसैको बपौती हो? जस्ता अधिव्यक्तिले मधेस भोलि सोमालिया, सुडान, श्रीलंकाली तमिल, ताइवान, बलुच आन्दोलनमा लाग्न बेर छैन।

११. मधेसी नेतालाई पचास पटक वार्तामा बोलाएर कुनै कुरा नगर्नु, झुटा आश्वासनमा अल्झाइराख्ने, मधेसको भूगोल, इतिहास, अर्थतन्त्र सामाजिक र सांस्कृतिक भिन्नता बुझेर बुझ पचाउनु।

नेपालका राजनीतिक दलहरु नाममात्रका सिद्धान्तवादी हुन्, यथार्थमा यिनीहरु सिद्धान्तहीन, नीतिविहिन, कमिसनतन्त्र र भ्रष्टाचारका पृष्ठपोषक हुन्। पार्टीभित्र गुट, उपगुट र व्यक्तिगत स्वार्थपरतामा लिप्त छन्। नेपाली काँग्रेस सबभन्दा जेठो राजनीतिक दल भए तापनि सही समयमा सही निर्णय लिन ढिलासुस्ती गर्ने दल हो, न हाँसको चाल न कुखराको चाल। एमाले उग्रराष्ट्रवाद प्रवर्तक हावा हवाई कुराले हावाको महल बनाउने लिडे ढिँपी दल हो। माओवादीले स्थानीयवादको कुरा उचालेर सशस्त्र विद्रोह गरी राष्ट्रलाई अपुरणीय क्षति पुर्‍याई लोकतान्त्रिक पद्धति आधा अधुरा मनले स्वीकार गरी नाँच्न नजान्ने, आँगन टेढोको भूमिका निर्वाह गर्‍यो। राप्रपा हिन्दु राष्ट्रका नाममा कमाइखाने दल हो। अरु ससाना दल अवसरवादी हुन्। मौका परस्त। मैनाली, केसी बिजुक्छे, हरिचरण साह आदि ताक परे तिवारी नत्र गोतामे।

यिनीका क्रियाकलाप र सम्पूर्ण गतिविधिले राष्ट्रलाई अधोगतितर्फ धकेलिसकेको छ। विदेशी राष्ट्रको मुख ताकेर बस्नु, छिनछिनमा मतछिन्नु बहुला जस्तो व्यवहार गर्नु बौलाहावाद हो।

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App