रौतहट- एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रौतहटको गरुडामा एकै दिन कार्यक्रम राखेपछि दुई पक्षबीच भिडन्त हुने डरले स्थानीय बासिन्दा त्रासमा परेका छन्। एमालेले मेची–महाकाली अभियानअन्तर्गत फागुन २६ गते रौतहटमा कार्यक्रम राखेकै दिन मोर्चाले पनि रौतहट बन्द घोषणा गरेको छ।
एमालेले सम्पूर्ण शक्ति लगाएर गरुडामा विशाल जनप्रदर्शन तथा सभा गर्ने निर्णय गरेको छ। मोर्चाले पनि गरुडामै बृहत् लाठी जुलुस र भन्डाफोर सभा राखेकाले दुवै पक्षबीच भिडन्त हुने त्रास स्थानीयमा बढेको हो।
दुवै पक्षले गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडको फिल्डलाई कार्यक्रमस्थल बनाएका छन्। दुवै दलका नेताले गरुडाको कार्यक्रमलाई पूर्वनिर्धारित बताउँदै स्थान परिवर्तन गर्न नसकिने अडान राखेका छन्।
एउटा पक्षको कार्यकर्ताले अर्को पक्षको कार्यकर्तालाई गिज्याएमा पनि झडप हुन सक्ने भएकाले स्थानीय चिन्तामा परेका हुन्।
एमाले सांसद रामकुमार भटराईले एमालेले पूर्वनिर्धारित कार्यक्रमअनुसार गरुडामा फागुन २६ गते जनसभा गर्न लागेको जानकारी दिए। उनले अन्य दलले कार्यक्रम राखेकोमा कुनै आपत्ति नभएको बताए। मोर्चा र एमालेबीच भिडन्तका त्रास स्थानीयमा रहेको विषयमा सांसद भटराईले भने, 'एमालेले कसैको कार्यक्रम रोक्दैन तर एमालेको कार्यक्रम कसैले बिथोल्न खोज्यो भने जनता आफैंले प्रतिकार गर्नेछन्।'
एमाले रौतहट इन्चार्ज कल्याणी खड्काले पनि पार्टीलाई जनतामा जान कसैले रोक्न नसक्ने बताइन्। एमालेको केन्द्रीय कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न पार्न सर्वसाधारण आतुर रहेको बताउँदै इन्चार्ज खड्काले कसैले कार्यक्रम बिथोल्न खोज्नु लोकतन्त्रविपरीत हुने बताइन्।
मोर्चामा आबद्ध सद्भावना पार्टीका केन्द्रीय सदस्य राजकुमारदास तत्माले मोर्चाको केन्द्रीय कार्यक्रमअनुसार मसाल जुलुस, लाठी जुलुस र भन्डाफोर कार्यक्रम निर्धारण भएकाले मधेसविरोधी शक्तिले कार्यक्रमस्थलको विकल्प खोज्नुपर्ने बताए। उनले फागुन २५ गते मसाल जुलुस गरी २६ गते यातायात, व्यापार, शिक्षा तथा सम्पूर्ण क्षेत्र बन्द गरी आन्दोलन उचाइमा पुर्याउन आयोजना गरिएको कार्यक्रम कुनै हालतमा नरोकिने बताए।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत विष्णुरञ्जन बरालले दुवै पक्षलाई सकेसम्म कार्यक्रम टाढा राख्न सुझाव दिएको बताए। उनले सुरक्षाका लागि योजना बनाइरहेको बताए। एकै ठाउँमा भए पनि फरक समय पारेर कार्यक्रम राख्नसमेत प्रयास भइरहेको प्रशासकीय अधिकृत बरालले जानकारी दिए। प्रशासनले सुरक्षा निकायलाई योजना बनाउन निर्देशन दिएको छ।
माथिल्लो निकायबाट निर्देशन आएबमोजिम सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए।
नागरिक समाजका विजयकिशोर झाले गरुडामा दुवै पक्षले कार्यक्रम राखेपछि सर्वसाधारणमा त्रास छाएकाले आफूले दुवै पक्षलाई सकेसम्म कार्यक्रमस्थल फरक पार्न सुझाव दिएको बताए ।
२०६४ चैत ७ गते तत्कालीन मधेसी मोर्चा र माओवादीको कार्यक्रम गौरको राइस मिल फिल्डमा एकै दिन हुँदा दोहोरो भिडन्तमा माओवादीतर्फ ३८ जनाको मृत्यु भएको थियो।
प्रकाशित: २२ फाल्गुन २०७३ ०३:०२ आइतबार