coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जापानी नोटलाई नेपाली बोट

काठमाडौं- जापानी नोट 'येन' बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ। सुन्दा अचम्म लागे पनि यही बिरुवाको बोक्रा बेचेर किसानहरूले लाखौै रुपैयाँ आम्दानी गर्दै आएका छन्।

अर्को आशालाग्दो तथ्यांक भेटिएको छ। त्यो हो– नेपालबाट आर्थिक वर्ष २०७२/७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ। जसको मूल्य ३ करोड ५५ लाख ४२ हजार ६ सय ९५ रुपैयाँ बराबर हुन्छ। अग्रेलीको बोक्रा जापानी नोट बनाउन प्रयोग हुन्छ।

जापानको कागजी नोट 'येन' बनाउन प्रयोग गरिने अर्गेलीको बोक्रा निर्यात सतप्रतिशतले वृद्धि।

'अर्गेलीको बोक्रा विशेषगरी नोट बनाउन जापानमा निर्यात भइरहेको छ,' व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले नागरिकसँग भने, 'यसको निर्यात वर्षैपिच्छे उल्लेख्य दरमा वृद्धि भइरहेको छ।'

अर्गेली पहाडी भेगमा पाइने एक प्रकारको बिरुवा हो, जसको बोक्रा नेपालमा हाते कागज बनाउन प्रयोग गरिन्छ। त्यसैको बोक्रा जापानले भने केही वर्षदेखि आफ्नो कागजको नोट बनाउन लैजाने गरेको छ। कृषि विज्ञहरू कागजी नोट बनाउन नेपालमा उत्पादित गुणस्तरीय अर्गेलीको बोेक्रा जापानले आयात गरिरहेको बताउँछन्।

केन्द्रका अनुसार जापानतर्फ अर्गेलीको बोक्रा निर्यात बढ्दो छ। आर्थिक वर्ष २०७१/७२ मा ५१ हजार ७ सय ८० किलो निर्यात भएको थियो। जसको मूल्य २ करोड १२ लाख ८२ हजार रुपैया बराबर थियो। त्यसभन्दा अघि २०७०/७१ मा भने १४ हजार २ सय २० किलो अर्गेली बोक्रा निर्यात भएको थियो। त्यसबापत नेपालले ६० लाख २१ हजार ४ सय ५९ रुपैयाँ प्राप्त गरेको थियो।

अर्गेली जापानमा मात्र होइन चीन, हङकङ, अमेरिका, भियतनाम, भारतलगायत देशमा पनि निर्यात हुँदै आएको छ। तथ्यांक अनुसार गत वर्ष नेपालबाट ४ करोड ३८ लाख १५ हजार ६ सय ५४ हजार रुपैयाको अर्गेली बोक्रा (कच्चा पदार्थ) निर्यात भएको छ।  गत वर्ष ८५ हजार ४ सय ८७ किलो अर्गेलीको बोक्रा निर्यात भएको थियो।  जसमध्ये सबैभन्दा धेरै जापानमा निर्यात भएको तथ्यांक छ। सो वर्ष चीनमा ७३ लाख ३९ हजार ४ सय रुपैयाँको अर्गेलीको बोक्रा निर्यात भएको थियो।

तथ्यांक अनुसार गत आर्थिक वर्षमा अर्गेलीको बोक्रा निर्यात सतप्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७१/७२ मा जम्मा २ करोड १३ लाख रुपैयाँबराबरको निर्यात भएकोमा आर्थिक वर्ष ०७१/०७३ मा बढेर ४ करोड ३८ लाखको भयो। २०७०/७१ मा भने जम्मा ९३ लाख २७ हजार रुपैयाँको अर्गेली बोक्रा निर्यात भएको थियो।

अर्गेली एक 'ट्रर्‍याडिसनल प्लान्ट' हो। यसको विशेष महŒव रहेको कृषिविज्ञ कृष्ण पौडेलले बताए। 'यो ट्रर्‍याडिसनल प्लान्ट हो, युरोप, अमेरिकातिर ल्याब्रोटरी टेस्ट गरिरहेका छन्,' पौडेलले भने, 'नेपालबाट जापान र युरोपतिर धेरै निर्यात भइरहेको छ।' यो खासगरी नेपालको पहाडी भेगलगायत विभिन्न ठाउँमा पाइने पौडेल बताउँछन्।

अर्गेलीको व्यावसायिक खेती गर्न केही प्रयाससमेत भएको छ। पुसमा पाँचथरमा ६ बँुदे घोषणापत्रसहित 'राष्ट्रिय अर्गेली सम्मेलन' सम्पन्न भएको थियो। पाँचथरमा अर्गेली 'इन्फरमेसन सेन्टर' खोल्ने र कञ्चनजंगा क्षेत्रमा व्यावसायिक खेती गर्ने निर्णयसमेत सम्मेलनले गरेको छ।

त्यसैगरी, जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) ले नेपालमा अर्गेली खेतीको सम्भावनाबारे अध्ययन सुरु गरिसकेको छ। उसले इलाम र झापामा अध्ययन सुरु गरेको जनाएको छ।

स्वदेशमा हाते कागज बनाउन अर्गेलीको माग धेरै छ। विदेशमा पनि ठूलो माग छ तर  यसको व्यावसायिक रुपमा गुणस्तरीय खेती यहाँ हुन सकेको छैन। अर्गेलीको विरुवाबाट बन्ने कच्चा पदार्थलाई गुणस्तर अनुसार ए, बी, सी र डी मा वर्गीकरण गरिन्छ। उच्च गुणस्तरलाई धेरै मूल्य र कम गुणस्तरलाई कम मूल्य निर्धारण गरेर बिक्री गरिन्छ।

प्रकाशित: २२ फाल्गुन २०७३ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App