'महाराज, महासंकट उत्पन्न भयो। राजकुमारी स्वाहा घोडसवार भई योगमाया भीरतर्फ लाग्नुभयो...,' सेनापति वीरभद्रले सबै सूचना दिन पाएनन्।
पुत्री भीरतर्फ लागेको खबरले राजा दक्ष भीरबाट खसेझैँ भए। उनले आफैलाई भन्दा बढी माया स्वाहालाई गर्थे। पुत्रीलाई केही भयो कि भन्ने भयले उनी बीचैमा बोले, 'के भयो मेरी पुत्रीलाई? त्यति सानी बालिका कसरी घोडसवार भइन््? वीरभद्र! स्वाहाको रक्षार्थ नगएर तिमी यहाँँ किन आयौ?'
'राजकुमारीको रक्षार्थ गएका हाम्रा एक हजार घोडसवार सेनाको भीरबाट खसेर मृत्युभयो। म स्वयं त्यसतर्फ जान लागेको थिएँ, राजगुरुबाट नजान आदेश भयो,' वीरभद्र बोले।
वीरभद्र अरुणमा हेलिएपछि राजा दक्ष चिन्तित भए। उनले शक्तिशाली छिमेकी राज्य त्रिपुरका राजा तारकाक्षसँग सहयोग मागे। 'महाराज तारकाक्ष! एक राजाले अर्को राजालाई यो वचन दिन्छ– एक्लै गएर आदित्यलाई पराजय गर्नुस्, मैले पुत्री स्वाहा हजुरलाई सुम्पनेछु,' दक्षले भने, 'त्यो साधारण पुरुष आदित्यसँग जो–कोहीले एक्लै युद्ध गर्नुपर्ने लोकको मान्यता छ।'
यहीबेला राजगुरु स्वयंभुव उपस्थित भए, 'महाराज, चिन्ता गर्नु व्यर्थ छ। राजकुमारी स्वाहा मंगलपूर्वक आइपुगिन्।'
स्वाहा सवार सेतो घोडा हिनहिनाउँदै राजा भएतिर आयो। पिताको सहायताले स्वाहा घोडाबाट ओर्लिन्। शान्ति र आनन्दले उनको अनुहार भर्खरै उदाएको घामजस्तै थियो। राजाले पुत्रीको निधारमा चुम्बन बर्साए।
०००
राजा दक्ष पूर्वीराज्यको भ्रमणमा थिए।
भ्रमण भव्य थियो– माता शतरूपा, पत्नी प्रसूति, पुत्री स्वाहा, अंगरक्षक, राजगुरु, सेनापति र एक हजार विशेष घोडसवार सेना उनको साथमा थिए। राजपालले प्रजाबाट संकलन गरेको कर लिने र प्रजाको उपार्जन अवस्था बुझ्ने भ्रमणको प्रमुख उद्देश्य थियो। लुकेको उद्देश्य थियो, शक्ति प्रदर्शन गर्नु। घोडसवार सशस्त्र सेना देखेर कसैले दुस्साहस नगरोस्, राजाविरुद्ध बोल्ने वा राजद्रोह गर्ने।
उनीहरू अरुण नदीको काखमा बास बसेका थिए। बिहानको भोजनपछि अगाडिको यात्राको प्रबन्ध मिलाइएको थियो। भोज तयार हुँदै थियो। अर्कोतिर, सैन्य अभ्यास चलिरहेको थियो। सेनापति वीरभद्रले केही सिपाहीलाई कुदिरहेको घोडाबाट तारो हान्ने प्रशिक्षण दिइरहेका थिए। एक सिपाहीले घोडालाई वशमा लिन सकेनन्, घोडा एकातिर कुद्यो, जहाँ पाँच वर्षीया स्वाहा थिइन्।
राजारानीको दर्शन गर्न गाउँ–गाउँबाट प्रजा आएका थिए। स्वाहा सुनको थालमा मिष्ठान्न भोजन खाँदै मैदानमा डुलिरहेकी थिइन्। उनलाई एकाएक केही प्रजाले घेरे, छोए, साष्टांग दण्डवत गरे। यसरी घेर्नेमा बालबालिका धेरै थिए। आफूले खाँदै गरेको भोजन स्वाहाले उनीहरूलाई हातहातमा दिइन्। थालको भोजन सकियो, थालै दिइन्। गरिब प्रजाले त्यो अमूल्य सुनको थाल लिने आँट गरेनन्। त्यसपछि उनले बालक्रीडा गर्न थालिन्। ढुंगा टिपेर थालमा राखिन् र बाँडिन्। सबैले हर्षपूर्वक राजकुमारीले दिएको ढुंगा स्विकार्दै थिए। अगाडिका दुईवटा मात्रै दाँत उमि्रएकी बालिकाले भने उनले दिएको ढुंगा टोक्न थालिन्। उनी भोकी, नांगी र दुब्ली देखिन्थिन्। यो दृश्यले स्वाहा संवेदित भइन्, तत्कालै भान्साबाट भोजन ल्याएर बालिकालाई खुवाउन थालिन्। यहीबेला सेतो घोडा आइपुगेको थियो।
रोमाञ्चित हुँदै उनी सेतो घोडातर्फ अघि बढिन्। निर्भीक, आनन्दित स्वाहासामु घोडा वशमा पर्यो। उनले प्रेमपूर्वक र आत्मविश्वासपूर्वक घोडाको टाउको सुमसुम्याइन्। घोडाहरू आत्मविश्वासी मानिसकै वशमा पर्छन्, स्वाहासामु घोडाले अगाडिका दुवै घुँडा टेक्यो। होँचो भएको घोडामा उनी चढिन्। घोडा अरुण तट हुँदै कुद्न थाल्यो। उनलाई पछ्याउँदै गएका घोडसवार सेना एक–एक गरी अरुणमा खसे। पछिपछि सेनापति र राजगुरु थिए। उनीहरूले हेर्दाहेर्दै एक हजार घोडसवार सेना अरुणमा खसे। सेनापति स्वयं त्यसतर्फ जान लाग्दा राजगुरुले रोके।
०००
'स्वाहा सवार घोडा सजिलै आरोहण गर्ने, सैनिक सवार घोडा लड्ने, यो कस्तो भीर हो?' राजा दक्षले राजगुरुसँग योगमाया भीरबारे सोधे ।
योगमाया ब्राह्मणी, जसलाई परिवारले पाँच वर्षको उमेरमा विवाह गरिदियो, पाको उमेरका रामहरि ब्राह्मणसँग। विवाहको दुई वर्षमै रामहरिले धर्ती छाडे। किन्तु, सात वर्षीया योगमायालाई पति वियोगले छोएन। पति, विवाह, पतिको मृत्यु र विधवा हुनु– यी सबै उनका लागि कुनै बालखेलजस्तै रह्यो।
उनी हुर्कंदै गइन्, तनमा बैंसका फूलले आकार लिन थाले, मनमा रहर र सपनाका बस्ती बस्दै र उठ्दै गरे। उमेरले १७ नटेक्दै उनी प्रजापति नाम गरेका क्षत्री पुरुषको प्रेममा परिन्। परम्पराविपरीत थियो– विधवा स्त्रीमा पुरुषको प्यास बढ्नु, अझ जात नमिल्ने वरसँग बिहे गर्नु। यद्यपि उनले भागेर विवाह गरिन्।
यो विवाहसम्म आइपुग्दा उनले समाजबाट धेरै तिरस्कार खेपेकी थिइन्– अभागिनी, विधवा, अलच्छिनी, पति टोक्ने इत्यादि।
दोस्रो विवाहपछि त उनले समाजबाटै भाग्नुपर्यो। जतिजति उनी समाजसँग भागिन्, त्यतित्यति नै उनी आफू निकट र विद्वत् व्यक्तित्वको सत्संगमा पुगिन्।
उनी विदुषीसँगै विद्रोही पनि बन्दै गइन्। उनको तर्कले काटिएर धुजाधुजा हुन्थे– कुरीति, विसंगतिका परम्परागत पर्दाहरू।
उनका अनुयायी पनि बढ्दै गए। अनुयायीसहित पैदलयात्रा गरी उनी राजा दक्षको दरबारमा पुगिन्, समाजमा व्याप्त विभेद, बेथिति हटाउन माग गरिन्। दरबारले उनका कुरा हावामा उडायो।
त्यसपछि उनले वैराग्य जीवन रोजिन्। आफ्नै गृह क्षेत्र फर्की भव्य महायज्ञ गर्ने र आफ्ना अनुयायीसँगै अग्निसमाधि लिने निर्णय लिइन्।
महायज्ञ सुरु भयो। उनका अनुयायीले एक–एक गरी अग्निसमाधि लिँदै थिए, खबर दरबारमा पुग्यो, जो राजाको शासनलाई एक प्रकारको चुनौती थियो। राजाले योगमायालाई बन्दी बनाए। बन्दीमुक्त भएपछि उनले जलसमाधि लिने निर्णय गरिन् र थुप्रै अनुयायीसहित उर्लंदो अरुणमा फाल हालिन्।
जहाँ योगमायाले जलसमाधि लिएकी थिइन्, त्यहीँ वरपरको भीरबाट स्वाहालाई फर्काउन गएका सेना अरुणमा खसेका थिए।
'स्मरण रहोस् महाराज, योगमायाले शास्त्रार्थमा दरबारका पण्डितहरूलाई पराजय चखाएकी थिइन्,' राजगुरु बोले।
राजालाई स्मरण भयो, योगमायाका केही विशेष माग। सतिप्रथाको अन्त्य होस्, नारीलाई पति रोज्ने हक होस्, जातका आधारमा मानिसमाथि विभेद नहोस्, उपार्जन, विद्यार्जनमा समान हक होस्, सरकारी मान्छे भएर सेवा गर्न पाउने हक समान होस्– योगमायाका माग यस्तै थिए। यी मागअनुरूप व्यवस्था तत्काल ल्याउँदा राजकाज धरापमा पर्न सक्थ्यो। एकातिर धार्मिक समाज भड्कने, अर्कातिर कुलीन वर्गले राजाको साथ छोड्ने खतरा थियो।
दरबारका पण्डित र योगमायाको शास्त्रार्थ चल्दा राजगुरु स्वयंभुव उपस्थित थिएनन्। राजगुरुको प्रभाव र प्रताप राजाको भन्दा बढी थियो। राजगुरुले जोकोहीका तर्कसंगत कुरालाई सुन्थे र लागू समेत गर्थे। शास्त्रार्थमा योगमायाका तर्कसंगत वचन राजगुरुलाई ठीक लाग्यो र सोहीबमोजिम भयो भने राजाका लागि प्रिय हुँदैनथ्यो। यसैले राजाले योगमाया र राजगुरुको भेट हुन दिएनन्।
'महाराज, योगमायाले जलसमाथि लिएको त्यो पवित्र भूमिमा अन्याय गर्ने वा अन्यायलाई समर्थन गर्ने कोही पुग्यो भने ऊ मानसिक र शारीरिक रुपमा कमजोर हुन्छ। त्यसैले हाम्रा सेना अरुणमा खसे। स्वाहा सानै छिन्, न्याय–अन्याय खुट्याई समर्थन वा विरोध गर्ने भइसकेकी छैनन्, त्यसैले उनी सकुशल फर्किन्,' राजगुरुले रहस्य बताए।
०००
भ्रमण रद्द गरी राजा दक्ष दरबार फर्कने भए।
यात्राको सुरक्षार्थ नजिकैको राजपाललाई खबर गरी एक सय घोडसवार सशस्त्र सेना झिकाइयो।
भोलिपल्ट, बिहानको भोजन गरी राजकीय सवारी दरबार फर्कन के निस्किएको थियो, बाटोमा प्रजाको विशाल पंक्ति देखियो।
राजकुमारीले प्रजालाई भोजन बाँडिन्, सुनको थालै दिइन्, साहसिक घोडचढी गरिन्, उनी दया–मायाकी खानी र रूपकी रानी छन्– कानकान हुँदै रातारात स्वाहाको यश र कृति सारा राज्यभरि फैलिएको थियो।
राजकुमारीको सुनाम, सुकामबाट सम्मोहित प्रजा हातमा फूल लिएर उपस्थित थिए। 'राजकुमारी स्वाहाको जय होस्,' प्रजाले फूल बर्साउँदै प्रशस्तिगान गर्न थाले। थुप्रै प्रजा स्वाहाको जयजयकार गर्दै दरबारसम्मै पुगे।
सैन्यशक्तिबाट हजार घोडसवार सेना घटेपछि राजा दक्ष चिन्तित भए। शक्तिहीन भएका बेला अर्को शक्तिशाली राज्यले आक्रमण गर्न सक्छ, यही सम्झेर उनले निर्णय गरे– सैन्यशक्ति बढाउने, दरबारलाई अझ बलियो पर्खालले घेर्ने र पर्खाल भत्काएरै आक्रमण भइहाले भाग्नका लागि सुरुङ खन्ने।
उनले राजकुमारीको जयजयकार गर्दै आएका बलिया पुरुषलाई सेना बनाए भने नारी र बालबालिकालाई विभिन्न काममा लगाए।
०००
योगमाया क्षेत्र वरपर चन्द्रावती नाम गरेकी योगिनी बस्न आइन्।
राजाका घोडसवार सेना लडेर मरेदेखि त्यसवरपर कोही गएको थिएन। त्यहाँ गए लडेर मरिन्छ वा कुनै न कुनै अपशकुन हुन्छ भन्ने भय जनमानसमा फैलिएको थियो। त्यही सेरोफेरोमा एउटी योगिनी कुटी बनाई बसेकी छन्, उनीसँग एक सय आठ विधवा स्त्री पनि छन्, सबैले कन्दमूल खान्छन्, वस्तुभाउ पालेका छन्, खेतीपाती पनि सुरु गर्दै छन्– यस्तै चर्चा दूरदूरसम्म चल्यो।
दुईतिरबाट खोल्साले घेरिएको पहाडको फेंदी, अनि वनको बीचमा केही समथर भूभाग, त्यसनजिक कतै मानव बस्ती थिएन, त्यहीं चन्द्रावती कुटी बनाई बसेकी थिइन्।
चन्द्रावती को हुन्, कहाँबाट आइन्? पत्तो कसैलाई थिएन। ६ महिना नबित्दै त्यस क्षेत्र चन्द्रावतीको राज्यजस्तै बन्यो। एक दिन एउटा सात वर्षीय बालक चन्द्रावती राज्यमा प्रवेश गर्यो।
साधारण मानिस आउन डराउने यस क्षेत्रमा एक्लो बालक कसरी आयो, किन आयो/चन्द्रावतीलाई सन्देह भयो।
'को हौ तिमी? यहाँ किन आयौ?' चन्द्रावतीले सोधिन्।
'मेरो नाम आदित्य हो,' बालकले आफ्नोबारे बताए।
आदित्य अरुण तटमा बास बसेका राजारानी हेर्न आएका थिए, आफ्ना मातापितासँग। राजकुमारी स्वाहाको जयजयकार गर्दै उनीहरू पनि दरबार पुगे। राजाले आदित्यका पितालाई सेना बनाए, मातालाई दासी। आदित्यलाई पनि मातापिताबाट छुट्ट्याएर दास बनाइयो। उनी कसोकसो त्यहाँबाट भागे, भाग्दाभाग्दै चन्द्रावती बस्तीमा आइपुगेका थिए।
'यो चन्द्रावती राज्य हो। यहाँ मेरो नियम चल्छ। तिमीले अब मसँग बिहे गर, अनि मेरो र यहाँ भएका नारीको सेवा गरेर बस,' चन्द्रावतीले भनिन्।
'हे माता, कस्तो आश्चर्यजनक कुरा गर्नुभएको! हजुर मेरो माता समान हुनुहुन्छ, वृद्धा हुनुहुन्छ, म सात वर्षीय बालकले हजुरसँग बिहे गर्ने?'
'के तिमीले सात वर्षीया बालिका र ७० वर्षीय वृद्धको विवाह भएको देखेको, सुनेको छैनौ?'
'देखेको, सुनेको छु।'
'सात वर्षीय बालक र वृद्धाको बिहे हुन किन सक्दैन?'
'यस्तो त मैले अहिलेसम्म देखेको थिइनँ।'
'अब यहीँ देख्नेछौ। हेर आदित्य, यो संसार हो। यहाँ मानिस एउटा समाजबाट भागेर अर्को समाजमै पुग्छ। कोही सन्न्यासी भई वनमा गएर एक्लै बसे पनि त्यो कसैको राज्यभित्र पर्छ, उसले त्यहाँको नियम मान्नैपर्छ। यहाँको परिस्थिति र नियम यस्तै छ, तिमीले मसँग बिहे गर्नुपर्छ।'
'हो त, सात वर्षीया बालिकाले वृद्धसँग बिहे गर्छन् भने बालकले वृद्धासँग बिहे गर्न किन हुँदैन?' आदित्य केही नबोली सोच्दै थिए।
'मैले आफ्नो निर्णय सुनाइसकेँ, तिमी आफ्नो इच्छाबमोजिम गर्न स्वतन्त्र छौ,' यति भनेर चन्द्रावतीले आदित्यलाई त्यत्तिकै छाडिन्।
आदित्यलाई वृद्धासँग बिहे गरेर जीवन बन्धक बनाउने आँट भएन, उनी त्यहाँबाट हिँडे। विडम्बना, उनी भीरबाट खसेर बीचमा अड्किए। उनलाई सेता पहिरनका विधवा स्त्रीले उद्धार गरे, डोरीको सहायताले।
'मलाई जीवनदान दिने हजुरहरूदेखि म आभारी छु। भन्नुस्, मैले कसरी यो गुन तिर्न सक्छु,' आदित्य बोले।
'हामी उनै योगिनी चन्द्रावतीका शिष्य हौं। हामीलाई कुनै गुन तिर्नुपर्दैन। बरु तिमीले गुन तिर्नुपर्ने ठान्छौ भने योगिनीले भनेबमोजिम गरी हाम्रो सेवा गर।'
आदित्य भावनामा बहकिएर बोलेका थिए, वचन–बन्धनमा परे। उनी चन्द्रावतीसँग बिहे गरी त्यहाँका सबै स्त्रीको सेवा गरी बस्न राजी भए।
७० वर्षीया योगिनी चन्द्रावतीले सात वर्षीय बालकसँग बिहे गरेको खबर सारा राज्यमा फैलियो। मानिसले नानाभाँती अड्कल काटे। जेहोस्, परम्परागत समाजमा नयाँ सन्देश पुगेको थियो।
आदित्यले अरुण नदीबाट पानी ल्याउँथे, चन्द्रावतीलगायत नारीलाई पिउनका लागि। पानी बोकेर लाउँदासम्म मौनव्रतको नियम थियो। त्यहाँ चन्द्रावतीलगायत सयभन्दा बढी स्त्री थिए। सबैलाई पुग्ने गरी पानी ल्याउन आदित्यलाई पूरै बिहान लाग्थ्यो।
त्यहाँ रहेका सबैलाई खानका लागि उनले वनमा कन्दमूल खोज्थे, दूधघिउका लागि पालिएका वस्तुभाउको स्याहार गर्थे, अलिकति समथर भूभागमा लगाइएको खेतीपाती, फलफूल पनि हेर्थे– मौनव्रतमै।
समय बित्दै गयो। सेनापति वीरभद्रलाई भीरबाट खसेर मरेका आफ्ना सेनाको सम्झना भयो। उनी अरुण तटमा आए। एक सातासम्म पानी र कन्दमूल मात्रै खाई दिवंगत सेनाको स्मृति र सम्मानमा कठोर तरबार अभ्यास गरे। कन्दमूल खोज्दै आदित्यले यो सबै मन दिएर नियाल्न पुगे, उनका लागि तरबारकलाको प्रशिक्षण लिएजस्तै भयो।
०००
१२ वर्ष बित्यो। राजकुमारी स्वाहा जवान भइन्। तर उनीमा जवानीको कुनै ज्योति थिएन। कुनै खास कारणवश उनको शरीर जलेर कुरूप भएको थियो। प्रजामा भने उनी औधि सुन्दरी छन् भन्ने नै परेको थियो।
१२ वर्षअघिको साहसिक घोडचढी उनको सपनामा आइरहन्थ्यो। उनी केही दासीसहित दरबारबाट भागेर आफ्नो सपनाको क्षेत्र आइन्। यसपालि उनी राजकुमारीको रूपमा नभएर साधारण नारीको रूपमा आएकी थिइन्। कुरूप भएकीले कसैले शंका समेत गरेन कि उनी राजकुमारी हुन्।
उनी अरुण नदीको किनार हुँदै जाँदै थिइन्, साँगुरो गोरेटोमा आदित्यसँग जम्काभेट भयो। स्वाहा सवार घोडालाई बाटो छोडिदिएर आदित्य तीव्रतापूर्वक रुखको सहारा लिन पुगे। यति गर्दा पनि उनले घैँटोको पानीलाई पोखिन दिएनन्। घोडाबाट ओर्लेर स्वाहाले सोधिन्, 'को हौ तिमी?' आदित्य केही बोलेनन्, कारण मौनव्रत थियो। धेरै प्रश्नमा कुनै जवाफ नदिएपछि स्वाहाले पानी खान मागिन्। केही नबोली आदित्यले पानी दिए र पानी भर्न पुनः अरुणतर्फ गए।
आदित्यले दिएको पानी खाएपछि भने उनको शरीरमा बैंसको बत्ती सल्केजस्तो भयो, बेग्लै स्फूर्ति बढ्यो। कुरूप छालामा पनि निखार आएझैं भयो। उनले आदित्यलाई पछ्याउने भइन्।
आदित्य चन्द्रावती राज्यमा बस्ने र त्यहाँ बस्ने स्त्री विधवा हुनुपर्ने पनि उनले थाहा पाइन्। उनी विधवाकै भेषमा चन्द्रावतीको शरणमा पुगिन्।
०००
स्वाहाको जयजयकार गर्दै गएका प्रजालाई दास बनाएको राजमाता शतरूपालाई न्यायसंगत लागेन। उनले त्यसो नगर्न पुत्रलाई सल्लाह दिइन्, तर उनको सल्लाह सुनिएन।
'पुत्र दक्ष! बाहिरबाट बलियो पर्खाल लगाउँदैमा कोही पनि सुरक्षित हुँदैन। अझ राजाको सुरक्षारूपी अन्तिम पर्खाल भनेकै प्रजा हुन्। एउटा राजाका लागि प्रजाभन्दा बलियो र विश्वासयोग्य अर्को कुनै ढाल छैन। हृदय जितेर प्रजालाई साथमा लिने हो, बल प्रयोग गरेर मात्रै कसैलाई आफ्नो रक्षक बनाउन सकिँदैन,' शतरूपाले भनिन्, 'तसर्थ, प्रजाको चाहना र पीरमर्का बुझेर अघि बढ्। स्वाहाको जयजयकार गरेर आएका प्रजालाई मुक्त गर्।'
राजा दक्षले राजमाताको सल्लाह सुनेनन्। उनी आफ्नै हठमा अघि बढ्ने भए।
'तेरो त पुत्री स्वाहाको जति पनि बुद्धि रहेनछ। तँजस्तो अत्याचारी राजाको दरबारमा म एक क्षण पनि बस्न सक्दिनँ,' यति भनेर शतरूपाले दरबार त्यागिन्।
पितामहीले दरबार त्यागेपछि स्वाहा विक्षिप्त भइन्। पितामहीलाई फिर्ता ल्याउन उनले पितासँग आग्रह गरिरहिन्। पिताले आफ्नो माग नसुनेपछि उनी रिसले दरबारका पुजारीको अग्निकुण्डमा पसिन्। तत्काल उद्धार गरी उनको उपचार गरियो। अग्निले पोलेको घाउ त निको भयो, छालाको दाग गएन, उनी कुरूप भइन्।
पुत्री कुरूप भएपछि राजा दक्ष चिन्तामा परे। उनले ज्योतिष मण्डलीसँग सुझाव मागे। ज्योतिष मण्डलले भन्यो, 'महाराज, १२ वर्षसम्म मन, वचन र कर्मले कुनै वृद्धाको सेवा गरेको कुनै जवान पुरुषको हातले दिएको पानी पिउने वा उसको स्पर्श पाइरहने हो भने राजकुमारीको गुमेको सौन्दर्य फर्कन सक्छ। यसरी सौन्दर्य फर्कने गुह्य भने स्वाहा र उक्त पुरुष दुवैलाई ज्ञात हुनु हुँदैन।'
राजाले ज्योतिषमण्डलीले भनेबमोजिको पुरुष खोज्न कर्मचारी खटाए, तर भेटिएको थिएन।
त्यस्तो पुरुषको रूपमा यता आदित्य तयार हुँदै थिए, स्वाहाले आदित्यको हातको पानी खाएपछि नै बेग्लै स्फूर्ति आएको थियो।
०००
'महाराज! यो सुन्नमा आएको छ, राजकुमारी स्वाहा योगमाया क्षेत्रमा बसेकी छन्।'
सेनापतिले स्वाहाको खबर राजालाई सुनाए। राजाले आदेश दिए– उनलाई शीघ्र यहाँ लिएर आउनू।
एक सय घोडसवार सेना योगमाया क्षेत्रतर्फ लाग्यो। त्यस क्षेत्र आफ्ना लागि शुभ स्थान होइन भन्ने राजालाई राम्रोसँग ज्ञात थियो, उनी कुनै अशुभ खबरकै प्रतीक्षामा थिए।
'महाराज, स्वाहाले फिर्ती सवारी हुन चाहनुभएन। हजुरको आदेशबमोजिम हामीले बल प्रयोग गर्यौं। परन्तु, उहाँको रक्ष्ँार्थ आदित्य नामको पुरुष तरबार लिएर उभियो, हाम्रो केही जोर चलेन, त्यहाँ टेक्नेबित्तिकै हामी असाध्यै कमजोर भएका थियौं। त्यहाँ साधारण मानिस गए अपशकुन हुन्छ भन्ने मान्यता रहेछ,' एक सैनिकले भने।
राजा दक्ष क्रोधमा आए, उनी स्वयं सेनापतिसहित एक हजार सेना लिएर त्यसतर्फ लागे। उनीहरूसँग राजगुरु पनि थिए।
आदित्यमाथि आक्रमणको तयारी हुँदै थियो। यो देखेर केही स्त्री खित्का छाडेर हाँसे र बोले, 'एउटा पुरुषसँग युद्ध गर्न यत्तिका सेना?'
यो सुनेपछि आदित्यसँग एक–एक गरी युद्ध गर्न राजाले सैनिकलाई आदेश दिए। आदित्यले एक–एक गरी सय सैनिक ढलाए। राजगुरुले नजिकबाट युद्ध नियालेका थिए, उनलाई ज्ञात भयो, आदित्यले उठाएको तरबार राजमाता शतरूपाको थियो। शतरूपाले आफ्ना पतिको स्मृति र सम्मानस्वरूप त्यस तरबारलाई सिरानीमा राख्ने गर्थिन्।
'आदित्यले यो तरबार कसरी प्राप्त गर्यो, यति शक्तिशाली कसरी भयो? अवश्य केही रहस्य छ।' राजगुरु रहस्यको खोजमा लाग्ने भए। त्यसअघि उनले राजालाई युद्धविराम गर्ने सल्लाह दिए । तर, राजाले मानेनन्। राजाले सेनापतिलाई आदेश दिए, 'जाऊ, तिमी युद्ध गर। तिमीले उसलाई पराजय गरेनौ भने मैले गर्नेछु।'
अरुण तटमा आदित्य र वीरभद्रको घमासान युद्ध भयो। मध्य दिनमा सुरु भएको युद्ध मध्यरातसम्म हारजितको टुंगोमा पुगेको थिएन। युद्धमा आदित्यलाई पराजय गर्ने नदेखेपछि मध्यरातमै वीरभद्र अरुणमा हेलिए।
०००
वीरभद्र अरुणमा हेलिएपछि राजा दक्ष चिन्तित भए। उनले शक्तिशाली छिमेकी राज्य त्रिपुरका राजा तारकाक्षसँग सहयोग मागे। 'महाराज तारकाक्ष! एक राजाले अर्को राजालाई यो वचन दिन्छ– एक्लै गएर आदित्यलाई पराजय गर्नुस्, मैले पुत्री स्वाहा हजुरलाई सुम्पनेछु,' दक्षले भने, 'त्यो साधारण पुरुष आदित्यसँग जो–कोहीले एक्लै युद्ध गर्नुपर्ने लोकको मान्यता छ।'
तारकाक्षले दक्षलाई सहयोग गर्ने भए। वीरभद्रजस्तो पराक्रमी सेनापतिलाई पराजय गर्ने पुरुष निश्चय नै साधारण होइन, छल गरी उसलाई पराजित गर्नुपर्छ– तारकाक्षले यस्तै निर्णय गरे।
आदित्य कन्दमूल खोज्न गएको मौका छोपी तारकाक्ष साधारण भेषमा आफ्ना केही सहयोगीसहित चन्द्रावती राज्यमा प्रवेश गरे। उनले त्यहाँका नारीलाई पुग्ने गरी मिष्ठान्न भोजन लिएर गएका थिए। दुष्ट विचारका कारण उनीहरू चन्द्रावती राज्य प्रवेश गर्न सकेनन्, भीरबाट खसे।
योगमाया पवित्र भूमिमा दुष्ट सोच लिएर जाने जो–कोही संकटमा पर्न सक्थ्यो, नदीमा खस्न सक्थ्यो। यो बुझेर चन्द्रावतीले भीरमा जाल राखेकी थिइन्।
जालमा परेका तारकाक्ष र उनका सहयोगीलाई विधवा स्त्रीले उद्धार गरे। तारकाक्षले उनीहरूलाई मिष्ठान्न भोजन दिए। त्यसपछि राजकुमारी स्वाहालाई भेटी तारकाक्षले भने, 'हे परम सुन्दरी राजकुमारी स्वाहा! हजुरको प्रताप, रूप, गुणको दासी भएर आएको छ, त्रिपुर राज्यको शक्तिशाली, वैभवी राजा तारकाक्ष।'
तारकाक्षले उपहारस्वरूप सुनको प्रतिमा टक्र्याए– जुन स्वाहाको आकृति, आकार र उचाइसँग दुरुस्तै मेल खान्थ्यो।
'महाराज तारकाक्ष! म अहिले त्यति सुन्दरी छैन, मेरो रूप जलेको छ। संसारमा झूटो प्रशंसाका भोका स्त्री पनि होलान्, परन्तु यहाँ भने हजुरको निसाना चुक्यो। भौतिक रूपमा जतिसुकै वैभवी र शक्तिशाली किन नहोस्, त्यो पुरुष मेरो नजरमा मानसिक दरिद्र हो, जसले धनदौलत र रवाफका भरमा स्त्रीलाई प्राप्त गर्न खोज्छ।'
स्वाहाको वचनवाणले तारकाक्ष घायल भए। अहंमा चोट पुगेका उनी केही बोल्न सकिरहेका थिएनन्।
त्यहीबेला परबाट अशुभ संकेत गर्ने प्रकृतिको आवाज आयो। आदित्य वनबाट कन्दमूल लिएर फर्कंदै थिए, उनले एउटी नारीको आवाज सुने, 'हामी विधवाको विरंगी जीवन, त्यसमाथि कन्दमूल खाएर बाँचिरहेका रहेछौं। आज मिष्ठान्न भोजन पाएर जीवन नै धन्य भयो। ती धनी राजाले स्वाहालाई पनि अवश्य आफ्नो वशमा पार्नेछन्।'
यो सुनेर किन–किन आदित्य स्तब्ध भए। उनले वनबाट ल्याएको कन्दमूलको भारी बजारियो।
आवाज सुनेर चन्द्रावती र स्वाहा पुगे। परिस्थितिको भाषा बुझेर भावुक भएकी स्वाहाले आदित्यलाई अंगालोमा कसिन्। आदित्य मुठीमा केही लिएर मूर्तिवत उभिएका थिए। स्वाहाले मुठी खोलेर हेरिन्, एउटा ढुंगा थियो, जसको सबै रहस्य चन्द्रावतीलाई थाहा थियो।
०००
दरबार त्यागेपछि राजमाता शतरूपा योगमाया क्षेत्रमा आएकी थिइन्, चन्द्रावतीको छद्म भेषमा। उनी बडो चलाखीले कोही पुरुष नआउने स्थानमा आई आनन्दको जीवन बिताएकी थिइन्, सँगसँगै समाजलाई केही सन्देश दिने उनको उद्देश्य थियो। चन्द्रावती नै शतरूपा हुन् भन्ने कसैलाई थाहा भएन। स्वाहाले पनि आफ्नी पितामहीलाई चिनिनन्। शतरूपाले भने स्वाहालाई चिनेर पनि विधवाकै रूपमा स्वागत गरिन्।
स्वाहाले आदित्यलाई अंगालिरहेकी थिइन्। यो सबै देखेर राजा तारकाक्ष इर्ष्याले जले। उनले तरबार निकालेर आदित्यको घाँटीमा राखे।
'वीर, धर्मात्मा पुरुष आदित्य! त्यो बालपनको ढुंगा फालेर कम्मरको तरबार उठाऊ, यो राजमाता शतरूपाको आदेश हो। तिम्री प्रेमिका स्वाहा तिम्रो सामु छे, जो तिम्रो प्रेम पाउन विधवाको भेषमा अनेक कष्ट खेपेकी छे,' योगिनी चन्द्रावती अर्थात् शतरूपा बोलिन्, 'मैले तिमीसँग विवाह गर्नु केवल संसारका लागि एउटा सन्देश थियो। तिमी तन्नेरी हुँदै आयौ, म वृद्धा हुँदै गएँ। हामीबीचको सम्बन्ध मातापुत्रजस्तो पवित्र बन्दै गयो। तिमीले आजसम्म जसरी हाम्रो सेवा गर्यौ, त्यो एक प्रकारको व्रत थियो, आफूले हृदयमा सजाएकी प्रियतमा पाउन।'
शतरूपाका शब्द भित्तामा ठोकिन पाएका थिएनन्, आदित्यले तारकाक्षको शिर भुइँमा खसाइदिए।
पितामही र प्रेमीलाई एकैपटक पाएर स्वाहा खुसीले गद्गद् भइन्।
०००
तारकाक्षको मृत्युपछि राजा दक्ष ठूलो संख्यामा सैनिक लिई आदित्यमाथि आक्रमण गर्न आए। यसपालि तरबारले नभई बाणले आदित्यको वध गर्ने दक्षको योजना थियो।
परन्तु, बीचबाटोमै सेनापति वीरभद्रले दक्षमाथि आक्रमण गरे। अरुणमा हेलिएका वीरभद्रको मृत्यु भएको थिएन।
वीरभद्रले छद्म भेषमा सारा राज्यको भ्रमण गरे, जहाँ पुगे पनि उनले आदित्यकै सुनाम सुने– आदित्य वीर र पराक्रमी छन्। राजा हुन, राजकुमारी स्वाहाका पति हुन योग्य छन्।
यो सुनेपछि वीरभद्रले गोप्य रूपमा राजगुरु स्वयंभुवलाई भेटे।
आदित्यबारे बुझिसकेका राजगुरुले भने, 'सेनापति वीरभद्र, राजा दक्ष पतनोन्मुख छन्। किनभने उनले सिंहासन मात्रै देख्छन्, सामाजिक न्यायलाई सुन्दैनन्। हामी आचार्यहरूले बनाएका केही सामाजिक नियम पनि ठीक भएनछन् भन्ने मलाई आभास भइरहेको छ। तसर्थ, यो राज्य चलाउन न्यायपूर्ण सामाजिक नियम र एक पराक्रमी, न्यायप्रेमी राजा आवश्यक छ। सामाजिक नियमका लागि योगमायाका माग धेरै मात्रामा ठीक छन्। अनि, अहिलेसम्म मैले राजा हुने गुण केवल आदित्यमा देखेको छु। मन, वचन, कर्मले वृद्धाको सेवा गरेकाले नै ऊ शक्तिशाली र न्यायप्रेमी भएको हो।'
राजगुरुको सल्लाहबमोजिम नै वीरभद्रले गुप्त रूपमा केही सैनिक तयार गरे।
वीरभद्रको सेनाले सीधै राजा दक्षलाई निसाना बनाएको थियो। केहीबेरको युद्धमै वीरभद्रले राजा दक्षको शिर धर्तीलाई चढाए।
ठीक यहीबेला राजगुरु स्वयंभुव आइपुगे। शास्त्रअनुसार राजा दक्ष्ँको दाहसंस्कार अरुण तटमा गरिने भयो।
०००
पिताको मृत्युको खबरले राजकुमारी स्वाहा शोकसन्तप्त भइन्। उनले पिताको शव हेर्ने इच्छा व्यक्त गरिन्। स्वाहा, शतरूपा र आदित्य दक्षको दाहसंस्कार भएको ठाउँमा पुगे।
आदित्य र स्वाहा आएको खबर चारैतिर फैलिएको थियो। स्वाहा र आदित्यलाई हेर्न हजारौं प्रजा उपस्थित थिए। दाहसंस्कारपछि उनीहरूले राजगुरुको बाटो छेके र सोधे, 'अब राजा को हुन्छ?'
राजगुरु बोले, 'प्रजाको हृदयमा बस्न सफल वीर, पराक्रमी आदित्य।'
'रानी?'
'मैले भन्नुपर्छ र? हजुरहरू नै भन्नुस्,' राजगुरु बोले।
'स्वाहा!'
स्वाहा शब्दले अरुण सेरोफेरो गुञ्जायमान भयो।
आदित्य र स्वाहाको विवाह, अनि आदित्यको राज्याभिषेकको मुहूर्त एकै समय परेको थियो। राज्याभिषेकको दिन इच्छुक प्रजाले आदित्य र स्वाहालाई भेट गर्न पाउने भए, जो राजगुरुको चाहना थियो।
आदित्य र स्वाहालाई भेट गर्न आएकाको लहर कोशी नदीजस्तै लामो थियो। भेट गर्नेले फूलमाला लिएर आएका थिए। तर, केहीले भने उपहारस्वरूप स्वाहालाई ढुंगा दिए।
स्वाहाले आश्चर्य भावमा आदित्यलाई हेरिन्। आदित्यले भने, 'जसले तिमीलाई यी ढुंगा दिए, उनीहरूका लागि यही नै अमूल्य वस्तु हुन्, किनकि यी ढुंगा तिमीले नै उनीहरूलाई दिएकी थियौ, १२ वर्षअघि।'
आदित्यले सम्झाएपछि स्वाहाले सबै सम्भि्कइन्।
आदित्यले फेरि भने, 'मलाई पहिलोपटक आलिंगन गर्दा मेरो मुठीमा भएको ढुंगा पनि तिमीले दिएको हो।'
स्वाहा अवाक् भएर आदित्यलाई हेरिरहन्। आदित्य बोल्दै गए, 'यो ढुंगालाई माटोको भर चाहिएजस्तै मलाई तिम्रो भर चाहिन्छ। यस्तै, नागरिकलाई शासकको र शासकलाई नागरिकको भर चाहिन्छ।'
राजगुरुले आदित्यका भनाइ सुनिरहेका थिए। उनले आदित्यको पछिल्लो भनाइलाई राज्य सञ्चालनको प्रमुख नीति बनाउने घोषणा गरे।
आदित्यको शासनकालमा नयाँ धार्मिक नियम देखियो– जुनसुकै महिना होस्, वर्षमा १२ दिन पुरुषले कुनै वृद्धाको सेवा गर्न थाले। वृद्धाको आशीर्वादले मन परेकी वधु पाइने, अन्यायविरुद्ध लड्न शक्तिशाली भइने र आफ्नी वधुको सुखशान्ति हुने विश्वास थियो।
प्रकाशित: २१ फाल्गुन २०७३ ०६:४७ शनिबार