७ वैशाख २०८१ शुक्रबार
अन्य

खुसीले आँखा तरिगयो

कल्पना बान्तवा

शिवरात्रिको भोलिपल्ट दिउँसो, फेसबुक इनबक्समा थन्किएका सन्देश खोलेँ। सुरुमै शान्ति सिंह दिदीको सन्देशले नौनारी गलायो, रन्थनायो। उच्च रक्तचाप र हृदयकी रोगी म, झन्डैझन्डै अचेत भएँ। मेरो अस्तित्वलाई हाराबारा खेलाएर रिंग्याइदिएको त्यो सन्देशमा ज्यादै अप्रिय समाचार थियो, 'कल्पना बहिनी, वीणा दिदी हिजो बित्नुभो।'

वीणा दिदीले काठमाडौँ छाडेपछि उहाँलाई सम्झेर मैले लेखेको लेख 'बाईबाई वीणादी' ७ माघ ०६८ को नागरिक अक्षरमा छापिएको थियो। त्यो पढेर दिदी औधि खुसी हुनुभएको थियो। यो लेख पनि उहाँलाई पक्कै मन पर्ला किनकि शरीर नासिए पनि आत्मा मर्दैन भन्ने जनविश्वास छ, कहीँ न कहीँबाट दिदीले यो अवश्यै देख्नुहोला।

हठात् त्यो क्रूर सत्यलाई मान्न मेरो भग्न हृदय पटक्कै तयार भएन। शान्ति दिदीसँग दोहोरो फोनमा कुरा भएपछि भने कर लाग्यो स्वीकार्न कि अति प्रिय वीणा गुरुङ दिदीले नश्वर देह त्याग्नुभएछ। प्यारो मानिसको महाप्रस्थानपछि आफन्तजनको दयनीय हालतको कल्पना गर्न सक्नेले वीणा दिदीको अवसानपछिको मेरो पीडा, वेदना, अन्तर्द्वन्द्व र छटपटीको अन्दाज गर्न सक्छ। म अचानक त्यसपछि निद्रामा हिँडिरहेको मान्छेजस्तो भएकी थिएँ, जसको परिवेश चलायमान छ ऊ स्वयं पनि हिँडडुल गरिरहेकी छ तर एक प्रकारको विशुद्धिजस्तो जड अवस्थामा परिणत भएर। दुःख र पीडा ओभरडोज भएपछि मान्छे रुन पनि नसक्दो रैछ। वीणा दिदीको मृत्यु समाचारले हुरुक्क बनेकी म अचम्म तालले नरोई बसिरहेकी थिएँ। शान्ति दिदीसँग फोनमा बात गरिरहँदा पनि मलाई रुन आएन। त्यो दिन, शनिबार पारेर बहिनीहरू आमालाई भेट्न आएका थिए। भाइबैना र आमा, मेरो र वीणा दिदीबीचको स्नेह र निकटताबारे जानकार थिए। दुःखद खबर सुनेर उनीहरूले चुकचुकाउँदै 'हत्तेरी जिन्दगी!' भने र फेरि बातचित्को आफ्नै मेलोमा पसे। म भने कोठामा थुनिएर टोलाइरहेँ। वीणा दिदी मेरो मानसपटलबाट क्षणभरलाई पनि टाढिनुभएन, स्मृतिमा झनै टड्कारो बनेर बल्भि्करहनुभो। वीणा दिदीसँगका आत्मीयता र सम्झना मेरो जिन्दगीको भूगोलमा कतै तरेली, कहीँ समथर मैदान, कतै देउराली त कतै पहाड बनेर अनुभूतिको अनन्त क्षितिजसम्म फैलिएका छन्। एकान्तमा तिनलाई सम्झन खोज्दा बिथोलिएको मानसिकतामा सब गज्याङमज्याङ भएर गुजुल्टिए, स्मृतिलाई तह लाउन पनि पूरै असफल भएँ। झनै उद्विग्न बनेँ। उफ्! म कहाँबाट वीणा दिदीलाई सम्झँू? उहाँको संगतको कुन कुइनेटोलाई ओझेल हुन दिउँ्क? वीणा दिदीले समय–समयमा दार्जीलिङबाट ल्याइदिनुभएका वा पठाइदिनुभएका उपहार भेला पारेर ओछ्यानमा थुपारेँ, फोटो एल्बम निकालेर वीणा दिदीसँगका तस्बिर हेर्न थालेँ। ती उपहार र फोटा सुमसुम्याउँदा तीव्र आभास भो कि म वीणा दिदीलाई स्पर्श गरिरहेकी छु। बाँध फुटाएर मेरा आँखामा आँसुको बाढी पस्यो र अरल्लिएर रोएँ, रोइरहेँ।

साँझ, शनिबार भएकाले टीभीमा विभिन्न हिन्दी च्यानलबाट गीत–संगीतका सुमधुर कार्यक्रम प्रसारण भइरहेका थिए। ती कार्यक्रम हेरिरहँदा फेरि वीणा दिदीलाई सम्झेर आँखा रसायो, किनकि हाम्रो मित्रताको एक मुख्य आधार गीत–संगीत नै थियो। फुर्सदमा हामी पुराना नेपाली र हिन्दी गीत गाइबस्थ्यौँ। मैले आमालाई भनेँ, 'मुवा, अहिले म जति गीत बु‰छु, त्यो सबै वीणा दिदीको संगत र उहाँले सिकाएका कारण हो नि, नत्र त सप्तरीको देहाती म गीत–गजलबारे चासो कसरी राख्थेँ र?'

आमा जंगिनुभो, 'नचाहिने कुरा नगर मैया, तिमी सप्तरीमा पढ्दा स्कुलका कार्जेकरममा कति नाच्थ्यौ! तिमीलाई नाच्न दिने अनुमति माग्न सरहरू हाम्रो घरसम्म आउनुहुन्थ्यो, कसरी भन्न सकेकी गानाबजानामा चासो थिएन भनेर? तिमी स्टेजमा नाचिरहँदा म रोइरहन्थेँ, यति राम्रो नाच्ने, सिकाको जे कुरा पनि टपक्क टिप्ने यो मेरी छोरी पछि गएर दुखिया हुन्छे भनेर। साथै बसेकी माइलीले जति सम्झाउँदा पनि मेरो मन मान्थेन र तिमी नाचुन्जेल म रोइरहन्थेँ। फेरि तिमी जन्मँदा किनेको हाम्रो नेसनल पानासोनिक रेडियो पनि त थियो नि! त्यसैमा तिम्रो दाजु दुनियाँभरका गाना सुनिबस्थ्यो। बिनाका गीतमाला रे, रेडियो सिलोन रे, गोर्खा फौजी भाइका कार्जेकरम रे, बीबीसी हिन्दी सेवा रे, नेपाली फर्माइसी गीतको कार्जेकरम, रेडियोमा फोन गरेर गाना सुन्न मिल्ने त्यो पाण्डव सुनुवारको कार्जेकरम। फर्माइसी गीतको अनुरोध लेखीपठाउन कतिबाजी मसँग पैसा माग्थ्यो तिम्रो दाजु, रजिस्टरी चिठीमा टाँस्ने टिकस्का लागि। रेडियोमा फत्तेपुर सप्तरीबाट शिवकुमार राई, कल्पना राई, मुवा, दरभंगेनी फुपु तथा बच्ची दिदी...भन्दा कम्ता रमाइलो त हुन्थेन। त्यै हो, पछि अलि पुरानो भएपछि बज्दाबज्दै बन्द भएको रेडियोलाई ट्यामट्याममा तिम्रो दाजुले झापड हानेपछि बल्ल बज्न थालेको थियो। तिमीमा गीतको रस बसेको उति बेलादेखि नै हो। बितेर गएको मान्छेलाई सम्झेर यसरी नझोक्राऊ। जाने मान्छे गैगयो, संसारमा अजम्बरी को छ? भो, यतिसारो सुर्ता नगर।'

शोकाकुल छोरीको मायाले होला, आमाले अनेक फुर्का गाँसेर मेरो संगीत रूचिको जग सानैमा बसेको भनेर जिद्दी गर्नु'भो।

'हरे, मुवा पनि, गीत–संगीत बु‰नु, त्यसको मजा लिन सक्नु भनेको कहाँ सानोमा स्कुलमा नाचेजस्तो हो त? तपाईं कुरा बु‰नुहुन्न क्या!' मैले दिक्क मानेँ।

आमालाई सायद वीणा दिदीको शोकले छोरीलाई विरही बनाउला भन्ने डर थियो। फेरि पनि सम्झाउने कोसिस गर्नुभो, 'हेर मैया, अरु कुरा मलाई थाछैन, यसरी तिमी दिनभरि कोठामा एक्लै थुनिएर बस्न चैँ पाउँदिनौ। तिम्रो आँसु र सन्तापले तिम्री वीणा दिदीको स्वर्ग जाने बाटो थुन्छ। जानीजानी उनको बाटो नछेक।'

०००

उसो त केही समययता उदेकै लाग्नेगरी मृत्यु–चिन्तनतर्फ आकर्षित हुँदैथिएँ म। लाग्न थालेको थियो– अझै कति बाँच्नु? डल्लै आधा शताब्दीको सेरोफेरोमा घुम्दै गरेको उमेर र बुढ्यौलीउन्मुख दैहिक कमजोरीले तर्साउन थालेका थिए। एक तमासले सोच्न थाल्थेँ, के हातगोडाले साथ छाडेपछि, ओछ्यानमै गु–मुत हुने गरी लामो समयसम्म थला पर्दै दुनियाँको बोझ र दयाको पात्र बनेर कष्टदायी मृत्युवरण गर्नु? किन कुर्नु त्यो हरिबिजोग हुन्जेल? देख्न–भोग्न बाँकी के नै रह्यो र जीवनमा? कसैलाई के फरक पर्छ कोही हुनु र नहुनुमा? जसरी मलाई यतिन्जेल फरक परेन, संसारलाई परेन, कति आए–गए तर संसारको व्यवहार चलिरह्यो। खुरुक्क टाइममै नमरेर के खान बाँचिरहनु? सारसम्दो छँदै मरिदिए सबैको बोझै हलुका हुने, आखिर एक दिन मर्नु त छँदैछ। मलाई जिउनुमा मोह जाग्न छाडेको थियो। अँ, अहिले नै मरेँ भने पनि नियतिसँग कुनै गुनासो रहँदैनजस्तो लाग्छ। किनकि, बेकारमा बाँचिरहनुदेखि वाक्कदिक्क भइसकेझैँ मान्थेँ। मलाई मृत्युसँग डर लाग्न छाडेको थियो।

मृत्युबारे यसरी सोच्नुपछाडि कुनै ठोस कारण भने थिएन। चरम निराशावादी भएर, अवसादको भुमरीमा फसेर वा सुसाइडल टेन्डेन्सीबाट गुजि्रएर मैले मृत्युलाई सकारात्मक दृष्टिकोणले हेर्न थालेकी पटक्कै हैन। सायद मेरो ध्यान, योग र साधनाको असर अथवा ओशोको 'मैँ मृत्यु सिखाता हुँ' अध्ययनको परिणाम थियो मेरो हालसालैको सोच वा म जीवन–जगत्को मिथ्या भ्रमलाई बु‰न थालेकी थिएँ। तर, मृत्युको धारणा जतिसुकै सुन्दर, उत्सवमय र अवश्यम्भावी लागे पनि आफैले आफूलाई मार्ने काम त मबाट कदापि हुने थिएन र छैन, किनकि म आत्महत्यालाई अग्घोरै घृणा गर्छु।

वीणा दिदीको परलोकगमन यतिन्जेलको मेरो महान् मृत्यचिन्तनमाथि जबर्जस्त झापडसिद्ध भयो। वीणा दिदी स्वर्गवासी हुनुले यदि मलाई वा उहाँका प्रियजनलाई कुनै फरक नपर्दो हो त म किन बिथोलिएँ यतिबिघ्न? किन मलाई मुर्छा पार्छन् दिदीका सम्झनाले? मेरो मृत्युचिन्तनअनुसार त वीणा दिदीले ठिक्क बेलामै, दीर्घकालसम्म थला नपरीकनै र कसैलाई लामो समयसम्म दुःख नदिई सुटुक्क यो लोक छाड्नुभएकै हो? यसकारण त मैले उत्सव मनाउनुपर्ने नि, किन म यो असह्य पीडा व्यहोरिरहेकी छु? किन मलाई लाग्छ वीणा दिदी अझ धेरै कालसम्म बाँच्नुपर्थ्यो, हाम्रो संगत र दोस्तीको डायमन्ड जुबली मनाउन हामीले पाउनुपर्थ्यो, वीणा दिदीको निधन असामयिक भयो जुन हुनु हुँदैनथ्यो!

यसरी मानिसले साँचेका र सोचेका मूल्य–मान्यतामाथि आकस्मिक घटनाले धावा बोलेर जड–चिन्तनलाई धुस्नो बनाइदिँदारैछन्, मै हुँ भन्ने निरीह मान्छे हेरेको हेर्‍यै, जसरी मेरो मृत्युचिन्तन मेरै अघिल्तिर भताभुंग भएर ढल्दा म जरैदेखि हल्लिएको अनुभूत गरिरहेकी छु।

०००

वीणा दिदीलाई मैले हृदयमा देवीको थान्कोमा राखेकाले अथवा उहाँलाई के–के न महान् मानिस मानेकाले उहाँको निधनमा भावविह्वल बनेर यो लेख लेखिरहेकी हुँदै हैन। उहाँ मानवीय गुण–अवगुणसहितकी एक सामान्य महिला हुनुहुन्थ्यो। उहाँको उदार मन, सहयोगी व्यवहार, सुख–दुःखलाई मिहीन तरिकाले महसुस गर्न सक्ने क्षमता र केही विलक्षण प्रतिभालाई नकार्न भने सकिँदैन। नेपाली नर्सिङ जगत्मा हाँसेर उहाँलाई नसम्झने नर्स ज्यादै कम होलान्। पीसीएल नर्सिङ, बीएन र एमएन गर्दाका उहाँका साथीहरू, गुरु–गुरुआमा, कलेज र अस्पतालका स्टाफ देश–विदेश छरिएका छन्। चिन्नेहरू वीणा दिदीको हँसिलो चेहरा र मजाकिया हाउभाउ चाहेर पनि बिर्सन सक्दैनन्। मुलुकभित्र–बाहिरका बहुसंख्यक नेपाली नर्स अहिले वीणा दिदीको मृत्यु–शोकमा डुबेर उहाँलाई आँसुको श्रद्धाञ्जली चढाइरहेका छन् भन्नेमा म विश्वस्त छु। पढाइमा उहाँलाई धेरै मेहनत गर्नैपर्थेन, दिमागै तेज। तेज विद्यार्थी धेरै हुन्छन् तर सबैले वीणा दिदीले जस्तो चिनारुका अपार स्नेह र आदर–सम्मान पोल्टामा थाप्ने सौभाग्य पाउँदैनन्। वीणा दिदी अरुलाई हँसाउन माहिर हुनुहुन्थ्यो। यो दुनियाँमा हाँस्न मन नपराउने मानिस सायदै होलान्, अनि वीणा दिदी आफैलाई हँस्यौलीको पात्र बनाएर पनि मान्छे हँसाउनुहुन्थ्यो। दार्जीलिङका ख्यातिप्राप्त रंगकर्मी तथा हास्यकलाकार पुकार गुरुङ वीणा दिदीका कान्छा काका भएकाले पनि होला, दिदीको नसानसामा हास्यचेत दौडिरहेको। संगीतको सुर, ताल र नोटेसन सब कण्ठ वीणा दिदीलाई, गायक कहाँनिर बेसुरा गयो, ठ्याक्कै पक्रिहाल्ने। गाउन र बाजा बजाउनमा उत्तिकै निपूण, कहिलेकाहीँ जिस्केर भन्नुहुन्थ्यो, 'मान्छेचैँ मो हो के काली। अन्त, बाजागाजाको के कुरा, ताल परे मान्छे त बजाइदिन्छु।'

नृत्यमा पनि सिपालु। झारेझुरे कामचलाउ हैन, सेमीक्लासिकल र लोकनृत्यमा उहाँको गज्जब दख्खल थियो। वीणा दिदी नाच्दा उहाँका भाव र मुद्रा देखेर म वर्णनातीत आनन्द र सन्तुष्टिमा डुब्थेँ। म वीणा दिदीजस्तो नृत्यमा पोख्त त हैन, तर यसो कामचलाउखालकी थिएँ। हामी दुईले देउसीभैलोमा काठमाडौँका निकै घरका आँगन नाचेर गुल्जार तुल्याएका छौँ। प्रज्ञा–प्रतिष्ठान, क्याम्पस र अस्पतालका स्टेजमा पनि हामीले युगल नृत्यका पदचिह्न छाडेका छौँ। एकताका हामीले प्रसिद्ध तबलावादक होमनाथ उपाध्यायकी धर्मपत्नीसँग उहाँकै निवास ज्ञानेश्वरमा भरतनाट्यमको तालिम लिन सुरु गरेका थियौँ। खै केकसो परेर केही महिनापछि तालिमलाई निरन्तरता दिन मैले सकिनँ, विणा दिदीले दिनुभयो क्यार! पकाइतुल्याई र सिलाइबुनाइमा पनि खप्पिस, उहाँको हातको मःमः, आलु–परौठा र अन्डाकरी कति खाइयो कति! उबेलाका नामी शाही सर्जन डा. अञ्जनीकुमार शर्मा वीणा दिदीलाई अस्पताल परिसरमा भेटेपिच्छे सोध्नुहुन्थ्यो, 'भन वीणा, अर्कोपालि तिम्रो हातको मःमः खान कहिले आउँ तिमीकहाँ?'

सानोमा आमाले छाताको करङ अथवा बाँसका सुइरा तिखारेर स्वेटर बुनाइका एबीसीडी सिकाउनुभएको हो, तर त्यो सीपलाई आधुनिक प्रविधिको सहायताले परिमार्जन गर्न वीणा दिदीले नै हो मलाई सघाएको। ड्रेसअप र ताजा फेसन ट्रेन्डको पनि नाडी पक्रिराख्नुहुन्थ्यो दिदी। कस्तो पहिरनमा कस्तो जुत्ता लाउने, कस्तो मेकअप गर्ने? चलनचल्तीमा लुगा, जुत्ता र मेकअपका कुन ब्रान्ड अब्बल नम्बरमा छन्, दिदीलाई पत्तो हुन्थ्यो। ढाकाको कोटा साडी दिदीको अत्यन्त प्रिय थियो, त्यसैले त भोजभतेरमा चट्ट मिलाएर लाएको साडीमा दिदीलाई देख्नेहरू हेर्‍याहेर्‍यै हुन्थे। सफासुग्घरमा पनि बहुतै सचेत, घिरौँलाको जालो र साबुनले छाला दर्फरिउन्जेल हातगोडा घोटेर धेरैबेर नपखालेसम्म दिदीलाई सफा भएजस्तै नलाग्ने। अहो! मेरी वीणा दिदीका ती सुन्दर हातगोडा र जीवन्त भावभंगिमा साथ छमछमी नाच्ने सिंगो र सग्लो ज्यान आगोले कसरी जलाउन सक्यो होला!

यस्ती असल स्वभावकी र प्रतिभाकी खानी वीणा दिदीसँग ३० वर्षअघिकी म पाखे किशोरीको 'वेभलेन्थ' कसरी मिलेको होला, सम्झील्याउँदा छक्क पर्छु। कसरी हाम्रो 'ट्युनिङ म्याच' भएको होला। विराटनगरमा स्टाफ नर्स पढ्दाताका म त आलोकाँचो नै थिएँ, तर वीणा दिदी उतिबेलैदेखि माथि मैले उल्लेख गरेका सारा गुण र सीपले भरिपूर्ण हुनुहुन्थ्यो। उहाँमा यी कला र क्षमता 'गड गिफ्टेड' र 'बाइबर्थ' थिए, व्यक्तित्व विकासका क्रममा क्रमशः उहाँले ती कलाकौशल प्राप्त गर्नुभएको हैन। पहिलोपटक मैले उहाँलाई जस्तो रूपमा भेटेकी थिएँ, पाएकी थिएँ, अन्तिमपटक देखभेट हुँदासम्म गुण र स्वभावको मामिलामा उस्तै रहनुभयो।

०००

नियतिले हामीलाई आत्मीयताको लामो सहयात्री बनाउने निधो गरिसकेको थियो सायद। त्यसैले वीणा दिदी र मेरो भेटको सन्जोग पटकपटक जुर्‍यो। पहिलोचोटि मैले उहाँलाई इलाममा भेेटेकी थिएँ। मेरो बुवा त्यहाँको थानामा सई र मालापथको डेरावासी हुनुहुन्थ्यो। म फत्तेपुरमा कक्षा ८ मा पढ्थेँ र स्कुलको बर्खे बिदामा बुवा भेट्न पहिलोचोटि एक्लै इलाम पुगेकी थिएँ। मालापथकै बोर्डिङ स्कुलमा उहाँले पढाउनुहुँदो रैछ। प्रिन्सिपल सरकी पत्नी सुत्केरी हुन अस्पताल भर्ना हुँदा हाम्रो घरबेटीकी भतिजी शारदा दिदीको साथ लागेर म पनि अस्पताल पुगेकी थिएँ। उतिबेलै वीणा दिदीले मेरो सिँगाने नाकमा अल्झेको नत्था र नाकभन्दा चुच्चा आफ्ना आँखामाथि जोक गरेर मान्छे हँसाउनुभएको थियो। त्यो छोटो भेटको केही वर्षपछि म इनरुवामा माइली काकीको माइती मगरटोलको मामाघरमा बसेर ६ महिने टाइपिङ कोर्स गर्दै थिएँ। एक साँझ, इनरुवा हाइस्कुलको चौरमा भइरहेको सांस्कृतिक कार्यक्रम हेर्न दाइसँग जाँदा स्टेजमा ओमविक्रम विष्टसँग देबु दिदी(वर्तमानकी देविका वन्दना) र वीणा दिदी गीत गाउँदै थिए। त्यो दोस्रोपटक हो, वीणा दिदीलाई मैले देखेको। पछि म स्टाफ नर्स पढ्न विराटनगर नर्सिङ क्याम्पसको छात्रावासमा पुग्दा आफ्नी सिनियरका रूपमा उहाँलाई देख्दा तीनछक परेकी थिएँ। विराटनगरमा दुईवर्षे साथ रह्यो हाम्रो, त्यसपछि म काठमाडौँमा जागिरे हुन आउँदा अस्पतालको स्टाफ क्वार्टर नपाउन्जेल केही महिना उहाँसँगै बसेँ। दिदी मलाई यति स्नेह गर्नुहुन्थ्यो मेरो खुसी, न्यास्रो र सुविधाबारे यति चासो लिनु हुन्थ्यो, बिदाको दिन कताकता घुमाउन लगिरहनुहुन्थ्यो। यदाकदा हामी, देबु दिदीले गाउने गजल रेस्टुराँमा गएर गीत–गजलको मजा लिँदै मुखको स्वाद फेर्थ्यौं। चावहिलका धनीमानी समाजसेवी सानुकाजी शाक्यको घर त हामी प्रायः हरेक बिदामा जान्थ्यौँ र स्वादिष्ट खानपान गर्दै डेकमा दिनभरि सिनेमा हेरेर दंग पथ्यर्ौं। सानुकाजी शाक्यकी छोरी शान्ति दिदी र उहाँका जेठाजु फिल्मकर्मी तथा फिल्म निर्माता प्रदीप सिंहका छोराछोरी सानैदेखि दार्जीलिङमा पढ्थे र उनीहरूका स्थानीय अभिभावक वीणा दिदीका बाबा–आमा हुनुहुन्थ्यो। सोही कारण सानुकाजी अंकल र शान्ति दिदीको, वीणा दिदीको परिवारसँग निकटतम पारिवारिक सम्बन्ध थियो। त्यही आत्मीयतामा डुबेर अस्ति फोनमा शान्ति दिदीले भन्नुभयो, 'कल्पना, वीणा दिदीले तिमीलाई नसम्झेको हाम्रो कुनै फोनवार्ता थिएन। म उहाँलाई भेट्न जाँदा पनि यो कल्पनालाई, यो कल्पनालाई भन्दै कहिले सल, कहिले सलवार कुर्ता, कहिले बुक्स र छुर्पी छुट्याइरहनुहुन्थ्यो। वीणा दिदीले त्यतिको माया गर्ने तिमीले नै उहाँबारे समाचार पहिले थाहा पाउनुपर्छ भन्ने लागेर मैले तिमीलाई नै पहिले बताएको।'

उफ्! वीणा दिदी, किन मलाई यो असह्य र अनन्त पीडामा डुबाएर जानुभो?

०००

भनिन्छ, मरेपछि मात्र मान्छेको स्तुतिगान गरिन्छ। तर, वीणा दिदीको मामिलामा त्यसो पटक्कै हुनुहुँदैन। वीणा दिदीको एउटा दुर्गुण अथवा कमजोरी भनौँ, रिस नियन्त्रण गर्न नसक्ने थियो। तर, त्यो प्रायः अन्याय, अत्याचार र गलत कार्य सहन नसक्नुको परिणाम हुन्थ्यो। मैले वीणा दिदीको रिसको पराकाष्ठा देखेकी छु। तर, म उहाँमा निहित छेलोखेलो सद्गुण मात्र सम्झन चाहन्छु। पुर्खाको जन्मभूमिलाई माया गरेर जीवन र यौवनका दिव्य २७ वर्ष नेपाल र नेपालीको सेवामा समर्पित गर्ने उहाँको एउटा अवगुणलाई हामीले बिर्सनैपर्छ। आखिर दूधले नुहाएका र दोष–खोटरहित हामी पनि कहाँ छौँ र?

बाबा–आमाको निधनपछि, जागिरबाट स्वेच्छिक अवकाश लिएर दिदीले दार्जीलिङ फर्कने विचार सुनाउँदा सक्दो सम्झाएकी थिएँ, 'यस्तो राम्रो नर्सिङ सुपरभाइजर अर्थात् राजपत्रांकित दोस्रो श्रेणीको जागिर खाइरहेकी मान्छे, किन बेलै नभई जागिर छाड्न चाहेको? प्लिज नजानुस्।'

फर्किने मन बनाइसकेकी अविवाहित दिदीले उल्टै मलाई सम्झाउनुभो, 'हेर, दार्जीलिङको मेरो पैतृक थलोले स्याहार–सम्भारको आसमा मलाई पर्खिबसेको छ। भाइ–बैनी सबै आआफ्नै घरव्यवहार सम्हाल्न व्यस्त छन्। मेरो त अगाडिपछाडि भन्नु केही–कोही छैन। त्यसैले मैले दार्जीलिङ फिर्नैपर्छ। उसै पनि यतिका वर्ष पितापुर्खा जन्मेको माटोमा मेहनत र पसिना खर्चिएँ, अब उताको समाजको सेवा गर्नु पनि मेरो नैतिक कर्तव्य हो।'

आफ्नो वचन पूरा गर्दै दिदीले अन्तिम समयसम्म दार्जीलिङमा जागिर नखाएर सकेको समाजसेवा गरिरहनुभयो। गाउँलेलाई प्राथमिक उपचार, मलमपट्टी, गर्भवती चेकअप, इन्जेक्सन लगाइदिने, परामर्श सेवा, ब्लड प्रेसर र सुगर जाँचजस्ता सेवा निःशुल्क दिइरहनुभयो। झन्डै पाँच वर्ष उहाँले आफ्नो समाजको निस्वार्थ सेवा गर्नुभएछ। उतिखेर उहाँले काठमाडौँ छाडेपछि उहाँलाई सम्झेर मैले लेखेको लेख 'बाईबाई वीणादी।' ७ माघ ०६८ को नागरिक अक्षरमा छापिएको थियो। त्यो पढेर दिदी औधि खुसी हुनुभएको थियो। यो लेख पनि उहाँलाई पक्कै मन पर्ला किनकि शरीर नासिए पनि आत्मा मर्दैन भन्ने जनविश्वास छ, कहीँ न कहीँबाट दिदीले यो अवश्यै देख्नुहोला।

अन्त्यमा, दिदी र मैले सारै रूचाएर गाइबस्ने नारायणगोपालको गीत नै शब्द–श्रद्धाञ्जलीस्वरूप दिदीमा चढाउँछु–

सानै हुरीमा बैँसको सपना

सिमलको फूलझैँ झरिगयो

तिमी के गयौ

खुसीले पनि

मलाई आँखा तरिगयो...

अलबिदा वीणादी!

प्रकाशित: २१ फाल्गुन २०७३ ०६:४३ शनिबार

खुसीले आँखा तरिगयो