७ वैशाख २०८१ शुक्रबार
राजनीति

'दल होइन, व्यक्ति हेरेर भोट'

डायनिया(मोरङ)- डायनियाको उत्तरी सुकुमवासी बस्तीमा बस्ने ७५ वर्षीय मोहम्मद फैजुल र उनकी पत्नीबीच घरव्यवहार कसरी चलाउने भनी गनगन चलिरहेको थियो। घरअगाडिकै सडकछेउमा काठको पिढियामा बसेका उनीहरू दुवै आफ्नो गरिब जिन्दगीसित पछुताइरहेका थिए। उनीहरुले भने, ‘न त दुई छाक भोक टार्ने हैसियत छ, न त बालबच्चालाई पढाउने हिम्मत, हामी त गरिब, के नै गर्न सक्छौं, पछुताउनुबाहेक।’

मुस्लिम समुदाय शिक्षा, सडक, स्वास्थ्य, खानेपानी र सिँचाइलाई महŒव दिने व्यक्तिलाई नेता बनाउन चाहन्छ।

ऐलानी जग्गामा जसोतसो फुसको घरमा सात दशकभन्दा बढी बिताएका फैजुलको परिवारले आइतबार नयाँ घर पायो। कुबेतको रहमा इन्टरनेसनलले बनाइदिएको पक्की घरले फैजुलको जिन्दगीमा उत्ति सारो खुसी थप्न भने सकेन। उनी अझै पनि आफ्नो गरिबीले निराश नै छन्। ‘घरमात्र भएर जिन्दगी सहज हुँदैन,’ फैजुलले नागरिकसँग भने, ‘सरकार र नेता आश्वासनमात्र बाँड्छन, केही गर्दैनन्।’

वैशाख ३१ गते हुने स्थानीय चुनावबारे जानकार फैजुल परिवारलाई दलभन्दा नेताको व्यवहारले लोभ्याउने बताए। आफ्नो जिन्दगीमा पाँचपटक मतदान गरिसकेका फैजुलले चुनावको बेला नेताको आगमनले सुकुमवासी बस्तीमा रौनक आए पनि त्यसपछिका दिनमा दुःखसुख बुझ्न कोही पनि नआउने बताए। ‘दुःख सबै हाम्रै लागि हो,’ उनले भने, ‘हाम्रा भोटले जित्ने नेतालाई के थाहा, हाम्रो जिन्दगी कसरी चलेको छ!’

सदरमुकाम विराटनगरबाट २५ किलोमिटर पूर्वको डायनिया गाविस वडा नं. ९ मा मुस्लिम समुदायका १ सय ५० भन्दा बढी घर छन्। त्यस वडामा मुस्लिमको भोट नै निर्णायक हुन्छ। बनिबुतो र अरुको खेतखलिहानमा काम गरेर उनीहरुको गुजारा चलिरहेको छ।

गरिबी र बढ्दो जनसंख्याले झ्न थलिएका डायनिया सहिदगन्जका मुस्लिम समुदायले भने आउँदो स्थानीय निर्वाचनमा शिक्षा, सडक, स्वास्थ्य, खानेपानी र सिँचाइलाई महŒव दिने व्यक्तिलाई नेता बनाउन चाहेका छन्। ‘जितेका नेताले यतिमात्रै काम गरिदियो भने हाम्रो गरिबी त्यत्तिकै हट्छ,’ सहिदगन्जका ५० वर्षीय मोहम्मद कलिमुद्दिनले भने, ‘सडक हुँदा विकास हुन्छ, शिक्षा हुँदा चेतना हुन्छ, सिँचाइ हुँदा खेती हुन्छ, यतिमात्रै भए गरिबी आफैं दूर भाग्छ।’

आगलागी र बक्राहा खोलाको बाढीले बर्सेनि समस्यामा पर्ने डायनियाको सहिदगन्जमा कुवेतको रहमा इन्टनेसनलले २० घर बनाइदिएर बस्तीको नाम ‘अमन’ (शान्ति) राखे पनि त्यहाँका बासिन्दा अमन–चैन (सुखशान्ति) दिगो बनाउन स्थानीय चुनावमा सक्षम व्यक्ति खोजिरहेका छन्। बस्तीको ४५ मुस्लिम परिवार अझै फुसकै घरमा छन्। उनीहरुको दिनचर्या कष्टकर छ।

‘धेरैलाई बस्ने घर छैन, पिउने पानी छैन,’ ४५ वर्षीय मोहम्मद कलामले भने, ‘भाषण गर्नुभन्दा हामीलाई काम गर्ने र पीडा बुझ्ने नेता चाहिएको छ।’

बस्तीमा भर्खरै बनेको मदरसामा अलिअलि विद्यार्थी पढिरहेका छन्। बस्तीका धेरैजसो बच्चा शिक्षाबाट वञ्चित छन्। ‘शिक्षामा हामी कमजोर छौं,’ कलिमुद्दिनले भने, ‘यसपालिको चुनावमा सडक, सिँचाइ र शिक्षामा सहयोग गर्ने नेतृत्व छान्छौं।’

डायनियाका गाविस सचिव पद्मविनोद घिमिरेले मुस्लिम बस्तीमा विकास र शिक्षाको आधारभूत आवश्यकता पनि पूरा नभएको स्विकारे। ‘उनीहरुमा चेतनाको समस्या छ,’ गाविस सचिव घिमिरेले भने, ‘गाविसबाट तालिम र जनचेतनाको कार्यक्रम भइरहेको छ।’

डायनियाकै ७० वर्षीय अब्दुल मजिदले स्थानीय चुनावमा दलभन्दा व्यक्ति हेरेर भोट हाल्ने बताए। ‘मान्छेको विचार र व्यवहार हेरेर यसपटक भोट हाल्छु,’ उनले भने, ‘पार्टीसित मतलब छैन, व्यक्ति असल हुनुपर्छ।’ ३५ वर्षका मोहम्मद कमरुद्दिनले पनि सबैको भलो चाहने नेता छान्ने बताए। ‘गरिबलाई सहयोग गर्ने नेता चाहिन्छ,’ उनले भने, ‘कहिलेकाहीं दुःखसुख पर्ला, बिरामी भइएला, छोराछोरीलाई स्कुलसम्म पठाउने हैसियत नहोला, यी सबै समस्या बुझ्ने नेता आउनुपर्छ।’

प्रकाशित: २१ फाल्गुन २०७३ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App