५ वैशाख २०८१ बुधबार
समाज

सुन व्यवसायीको सुरक्षा 'चुनौतीपूर्ण'

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले शान्ति सुरक्षा स्थिति सुधार ल्याउन सरकारसमक्ष आह्वान गरेको छ। महासंघको चौथो स्थापना दिवस अवसरमा शुक्रबार अध्यक्ष मोहककुमार सुनारले सुनचाँदी व्यवसायका समस्या समाधान र शान्ति सुरक्षा स्थिति सुधारका लागि महासंघ लागिपर्ने प्रतिबद्धतासमेत जनाए।

महासंघको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न स्थापना दिवस समारोहमा महासंघको स्थापनादेखि हालसम्म भएका विभिन्न गतिविधिबारे प्रकाश पार्दै सुनारले सुनचाँदी अभावमा व्यवसायीले समस्या झेल्नुपरेको भन्दै समाधानका लागि महासंघबाट निरन्तर पहलकदमी भइरहेको बताए।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले पछिल्ला दिन व्यवसायीले धेरै किसिमका समस्या झेल्नुपरेको उल्लेख गर्दै त्यसलाई दोहोरिन नदिन अहिलेदेखि नै सजग र सतर्क रहनुपर्ने औंल्याए। व्यवसायीलाई अनावश्यक दुःख दिने क्रियाकलाप तत्काल अन्त्य हुनुपर्ने उनको माग छ।

महासचिव धर्मसुन्दर बज्राचार्य तथा कोषाध्यक्ष महेन्द्ररत्न शाक्यले महासंघको विभिन्न गतिविधिबारे प्रकाश पारेका थिए।

स्थापना दिवस समारोहमा महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्यले व्यवसायीबीच एकतामा जोड दिँदै २०४४ सालमा संघका रुपमा स्थापना भएको संस्था २०६९ मा महासंघमा परिणत भएको जानकारी दिए।

महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले सुनचाँदी निर्देशिका निर्माण अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै छिट्टै त्यसलाई निष्कर्षमा पुर्‍याउनुपर्ने खाँचो औंल्याए। कार्यक्रममा उपाध्यक्षहरु ज्ञानुराजा शाक्य, अर्जुन रसाइली, मोहनकाजी शाक्य, प्रेमकुमार सुनार, दियशरत्न शाक्यलगायत पदाधिकारी तथा कार्यसमितिका सदस्य थिए।

प्रकाशित: २१ फाल्गुन २०७३ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App