काठमाडौं- पुष्पकमल दाहाल नेतृत्वको सरकारले वैशाख ३१ गते स्थानीय तह निर्वाचन घोषणा गरेलगत्तै प्रमुख पाँच राजनीतिक दल चुनावी जनपरिचालन अभियानमा होमिएका छन्। निर्वाचन केन्द्रित भई सत्तारुढ दुई दल माओवादी केन्द्रले शनिबार केन्द्रीय कार्यालय बैठक बोलाएको छ भने कांग्रेस संगठन विस्तारमा केन्द्रित भएको छ।
दुई दशकपछि हुन लागेको स्थानीय चुनाव लक्षित गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले शनिबारदेखि मेची–महाकाली अभियान थालेको छ। राप्रपाले पनि 'जनताको माझमा राप्रपा' नाममा घरदैलो पुग्ने निर्णय गरेको छ।
स्थानीय चुनाव परिणाम आफ्नो पोल्टामा पार्न प्रमुख पाँच दल निस्किए निर्वाचन अभियानमा।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकदेखि संसद्मा रहेका साना दलसमेत संगठन विस्तारमा केन्द्रित भएका छन्।
मेची–महाकाली अभियानमार्फत पार्टीको पक्षमा चुनावी वातावरण बनाउन प्रयास गरिने एमाले पार्टी सचिवसमेत रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। 'मेची–महाकाली अभियानलाई चुनावी वातावरण बनाउन तथा त्यसको सुनिश्चितताका लागि केन्द्रित गरिनेछ', भट्टराईले नागरिकसँग भने, 'एमाले पक्षमा चुनावी माहोल बनाउने काम पनि सँगसँगै गराउँदै छौं।'
उनका अनुसार अभियान समाप्त भएलगत्तै बस्ने केन्द्रीय समितिको बैठकले स्थानीय तहका निर्वाचन अजेन्डा, नारा तथा कार्यक्रम तय गर्नेछ।
यसबाहेक, एमालेका जिल्ला कमिटीले स्वतन्त्र रुपमा चुनावी अभियान आ–आफ्ना जिल्लामा गुणात्मक रुपमा बढाइरहेको पार्टी प्रवक्तासमेत रहेका भट्टराईले जानकारी दिए।
त्यसो त प्रमुख दलमा स्थानीय तहका लागि मेयर/उपमेयर, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यका सम्भावित उम्मेदवारका नाममाथि छलफलसमेत सुरु भइसकेका छन्। प्रमुख दलले विभिन्न अभियान घोषणा, धमाधम निर्वाचनका लागि बैठक आह्वान तथा तल्लो तहमा संगठन विस्तार अभियान पनि सञ्चालन गरिरहेका छन्।
चौथो ठूलो दल राप्रपाले पनि 'जनताको माझमा राप्रपा' अभियान सञ्चालन गर्ने शुक्रबार निर्णय लिएको छ।
'प्रत्येक नेपालीका घर पुग्ने लक्ष्यसहित जनतामाझ राप्रपा कार्यक्रम लिएर जाने निर्णय भएको छ', सहप्रवक्ता मोहन श्रेष्ठले नागरिकसँग भने, 'राष्ट्रियता, सनातन धर्म, आर्थिक समृद्धि र विकासका अजेन्डा लिएर जाने र जनताको प्रतिक्रिया बुझने उद्देश्यसहित यो अभियान केन्द्रित हुनेछ।'
सोही बैठकले चैत ८–१२ गते 'राष्ट्रिय एकता यात्रा' गर्ने निर्णय गरेको छ। चुनावी माहोल बनाउन गोर्खा, काठमाडौं, झापा र कञ्चनपुरबाट एकैपटक उक्त यात्रा निकालिने श्रेष्ठले जनाए।
उता, सत्तारुढ माओवादी केन्द्रले स्थानीय तहको चुनावबारे अजेन्डा तय गर्न तथा चुनावी कार्ययोजना बनाउन फागुन २१ का लागि केन्द्रीय कार्यालय बैठक बोलाएको छ।
'स्थानीय तहको चुनावका अजेन्डा, नारा र कार्ययोजना निर्माणका लागि भोलि (शनिबार) केन्द्रीय कार्यालय बैठक बोलाइएको छ', माओवादी नेता गिरिराजमणि पोखरेलले नागरिकसँग भने, 'उक्त बैठकले चुनावलक्षित कार्ययोजना र कार्यक्रम तय गर्नेछ।'
उनका अनुसार स्थानीय तहको चुनाव लक्षित भई कार्यक्रम गर्न मातहात समितिहरुलाई केन्द्रीय कार्यालयले शनिबार औपचारिक रुपमा निर्देशन दिँदै छ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले देशवासीका नाममा विशेष सम्बोधन गरेर चुनावमा आउन सर्वसाधारणलाई आह्वान गरिसकेका छन्।
'असन्तुष्टिहरु मतपेटिका' उल्लेख गरेर निर्वाचनमा रुचि नदेखाएका मधेसकेन्द्रित दललाई पनि उनले निर्वाचनमा आउन आह्वान गरेका छन्।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि पछिल्लो समयमा संगठन विस्तारमा केन्द्रित छ। सरकारमार्फत निर्वाचनको वातावरण बनाउन व्यस्त कांग्रेसबाट नेतृत्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले लिइरहेका छन्। निर्वाचन अवधिभरको शान्ति सुरक्षा तथा 'प्रत्येक मतको सुरक्षाका लागि' निधिले सुरक्षा प्रमुखसँग छलफल गरिरहेका छन्।
निर्वाचन वातावरण बनाउन सभापति शेरबहादुर देउवा असन्तुष्ट मधेसकेन्द्रित दलका नेतासँग व्यक्तिगत छलफललाई तीव्रता दिइरहेका छन्। कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले चुनावी वातावरण बनाउन र पार्टी उम्मेदवारलाई जिताउन मातहात निकायलाई निर्देशन दिने कार्य सुरु भएको जनाए। 'स्थानीय निर्वाचन कुनै पनि हालतमा हुन्छ, लोकप्रियलाई उम्मेदवार बनाउन र तिनलाई जिताउन लागिपर्नुस् भनेर निर्देशन दिइरहेका छौं', श्रेष्ठले नागरिकसँग भने, 'देशैभरि अहिले चुनावकेन्द्रित आन्तरिक भेला र गोष्ठी भइरहेका छन्।' त्यही सिलसिलामा फागुन २६ गते पोखरा महानगरपालिकामा कार्यकर्ता भेला गरिन लागिएको श्रेष्ठले जानकारी दिए। तर, कांग्रेसले स्थानीय निर्वाचनका लागि नै भनेर केन्द्रीय तहमा कुनै औपचारिक तथा नीतिगत निर्णय भने लिइसकेको छैन।
विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि स्थानीय निर्वाचन तयारीमा लाग्न आन्तरिक रुपमा सर्कुलर नै जारी गरिसकेको सांसद योगेन्द्र चौधरीले बताए।
'लामो समयसम्म नभएको स्थानीय निर्वाचन घोषणा भइसकेको छ, त्यसैले जिल्ला कमिटीलाई आन्तरिक रुपमा सर्कुलर जारी गरेर तयारी सुरु गर्न सर्कुलर जारी गरिसकेका छौं', सांसद चौधरीले नागरिकसँग भने, 'यद्यपि संविधान संसोधन गरेर मात्र निर्वाचनमा जानुपर्छ भन्ने नीति भने छाडेका छैनौं।'
उनका अनुसार ६३ वटा जिल्ला कमिटीलाई उक्त सर्कुलर पुगिसकेको छ।
प्रकाशित: २१ फाल्गुन २०७३ ०३:३० शनिबार