८ वैशाख २०८१ शनिबार
समाज

वन डढेलो नियन्त्रण बाहिर, बस्ती जोखिममा

खोटाङ– खोटाङको उत्तरी गाविस माक्पास्थित भीर गाउँ सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ। सुक्खा मौसमका बेलामा माक्पा–७ र ८ स्थित भीरगाउँ सामुदायीक वनमा शुक्रबार दिउँसो सुरु भएको भीषण डढेलो नियन्त्रण बाहिर गएको हो। सल्लैसल्लाले ढाकिएको घना जंगल र जंगलभित्र प्रशस्त मात्रामा सुकेका काठदाउरा र पातपतिङ्गर भएका कारण डढेलो नियन्त्रणमा लिन कठिन भएको स्थानीय भानु निमावि लेवाका प्रअ डिल्लीकेशर भण्डारीले बताए। 

अहिले ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरी र स्थानीयले अग्नी रेखा बनाएर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्। दिउँसो नियन्त्रणमा आउन लागेकोबेलामा हावाहुरी चलेका कारण पुःन डढेलो फैलिएर नियन्त्रण बाहिर गएको हो। करिब सय हेक्टर क्षेत्रफलमा फैलिएको जंगलमा दुई वर्षअघि पनि भीषण डढेलो लागेको थियो। उसबेला पनि नियन्त्रणमा लिन नसक्दा जंगल सखाप भएपछि ५ दिनमा डढेलो आफै नियन्त्रणमा आएको प्रअ भण्डारीले बताए। 

जंगलमा डढेलो लाग्नुको कारण खुल्न सकेको छैन। ‘हाम्रो बाबुबाजेको पालादेखि नै डढेलो नलागेको वनमा दुई वर्षअघि डढेलो लागेको थियो,’ प्रअ भण्डारीले भने, ‘त्यसपछि बल्ल–बल्ल हुर्किन लागेको बोटबिरुवा फेरि नष्ट भएको छ, डढेलो नियन्त्रणमा लिन नसक्दा हामी रमिते भएर बसिरहेका छौँ।’ 

डढेलोबाट माक्पा–७ र ८ का बस्ती आगलागीको उच्च जोखिममा परेको छ। डढेलोले स्थानीय बञ्चरे खोला पार गरे माक्पा–१, २, ४ र ५ वडाका बस्ती समेत जोखिममा पर्ने स्थानीयले बताएका छन्। आगलागी भएको जानकारी आए लगत्तै ऐसेलुखर्कबाट प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। 

प्रकाशित: २० फाल्गुन २०७३ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App