७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपालको चुनावप्रति भारत असन्तुष्ट छैनः राजदूत उपाध्याय

काठमाडौं– भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपालको चुनाव बारे  भारतको कुनै पनि असन्तुष्टि नरहेकोे दाबी गरेका छन्।  

‘भारतले चुनावप्रति असन्तोष देखाएको छैन, नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयप्रति अरुलाई दोष दिन मिल्दैन,’ उनले भने, ‘त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाली नेताहरु मुक्त हुँदै र स्थानीय तहको निर्वाचन हुनैपर्छ।’

उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएको भन्दै उपाध्यायले भने, ‘अब चुनाव हुनुपर्छ, त्यो आफैले गर्ने हो, भारतलाई दोष दिएर हामी उम्कन मिल्दैन।’

नेपालका राष्ट्रपति भारत भ्रमण छिट्टै 

राजदूत उपाध्यायले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण पनि छिट्टै हुने विश्वास दिलाए । 

‘राष्ट्रपतिको भारत भ्रमणको लागि दुवै तर्फ प्रयत्नशील छौं,’ उनले भने, ‘गृहकार्य अन्तिम चरणमा पुगेको छ, भ्रमण मिति छिट्टै घोषणा हुन्छ।’ 

नेपाल–भारत सम्बन्ध सुध्रियो

नेपाल–भारत सम्बन्धमा अहिले कुनै पनि समस्याहरु नरहेको उपाध्यायले दाबी गरे। ‘सबै खाले चूनौतीहरु समाधान भइरहेको छन्, यो सकारात्मक कुरा हो,’ उनले भने। 

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध विश्वासमा परिणत भएको र अहिले उचाईमा पुगेको बताउँदै राजदूत उपाध्यायले भने, ‘अहिले त द्विपक्षीय ओभरराइड मेकानिजम बनेको छ, रेलमन्त्री र वित्तमन्त्री पनि हालै काठमाडौं आउनुभयो।’ कुटनीतिज्ञ कला, कौशल राम्रो भयो र संयमित रुपमा प्रस्तुत गर्न सकियो भने द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर हुने उनले बताए। 

उनले नेपालको समस्याको समाधान नेपाल आफैले गर्ने भएकोले अरुलाई दोष दिनुभन्दा न दलहरुबीच एकमत हुनुपर्नेमा जोड दिए।

समय छँदै चेत्नुपर्छ

‘अब चेत्नुपर्छ, समयले कसैलाई पनि प्रतिक्षा गर्दैन्, समय सिमाभित्रै हामीले सबै कामहरु गर्नुपर्छ, समय मुल्यवान छ।’ उनले संविधान कार्यान्वयनमा सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उपाध्ययाले थपे,‘जहाज डुब्यो भने सबै डुब्छौं, त्यसैले सबै सचेत भएर लाग्नुपर्छ।’

उनले स्थानीय तहको निर्वाचन धेरै वर्षपछि घोषणा भएकोले यसलाई सबैले भाग लिनुपर्नेमा जोड दिए। त्यस्तै धेरै वर्षपछि लगानी सम्मेलन भएकोले यो अत्यन्तै सकारात्मक काम भएको उनको भनाई थियो। उनले आर्थिक विकासको लागि अब राजनीतिक स्थायित्व आवश्यक रहेको बताए। 

 

प्रकाशित: २० फाल्गुन २०७३ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App