८ वैशाख २०८१ शनिबार
विचार

हाम्रो समावेशिता र मलसाँप्रो

वाल्यकालदेखिका कुनै कुनै घटनाले मानिसमा निकै गहिरो असर पारेको हुन्छ।  ममा पनि त्यस्ता केही दृश्य र घटनाको छाप नमेटिने गरी बसेको छ। घटना एकदम साधारण र गाउँघरमा शायद अहिले पनि अवश्य देख्न सकिन्छ जस्तो लाग्छ। एउटा निकै लामो पुच्छर भएको आवश्यक हुँदा केही परसम्म उड्नसमेत सक्ने, झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने तर अलिक ठूलो जनावर गाउँघरमा करेसाबारी, मकैबारी तथा फलफूल भएका पाखाबारीतिर देखिन्छ। मेरो अनुभवमा पोथी खुन्युको फेदमा फल्ने मीठो खुन्युको फल खान र जालझेल गरेर मौरी र मह दुवै खान यो मलसाँप्रो भन्ने जनावर धेरै माहिर हुन्छ। केटाकेटीमा हरेक दिन वा कहिलेकाहीँ दिन बिराएर पाकेको खुन्युको गेडा टिप्न र खान खुन्युका फेदमा हामी पुग्थ्यौं तर बारबार मलसाँप्रोले पाके जति खुन्यु निमिट्यान्न पारेर हिँडिसकेका हुन्थे वा कहिले खोतल्दै भकाभक खाँदै हुन्थे। हामी केटाकेटी डराउँथ्यौं मलसाँप्रोदेखि र तिनीहरू पनि ढुंगा डल्ला हानेपछि हामीदेखि डराएर भाग्थे। तर पाकेको खुन्युजति धेरैजसो मलसाँप्रोले खाएर वा खोतलेर र फुटाएर नाश पारिसकेको हुन्थ्यो हामी पुग्दा। बेलाबेलामा हामी खुन्यु टिप्न बोकेको ढक्की वा टोकरी रित्तै लिएर निराश र निन्याउरो मुख पारेर घर फर्कन बाध्य हुन्थ्यौं।

अहिले समावेशी वा सामेली आदर्शको परिभाषा नै कुण्ठित बनाउँदै हामी अगाडि बढिरहेका छौं। देशलाई उचित दिशाबाट अगाडि बढाउने हो भने यस गलत बाटो तुरुन्त रोक्नु जरुरी छ।

मेरो घरको पूर्वपट्टि जस्केलोको छेउमा अलिक माथि गोलाकार एक दुई खोपालाई बाहिरबाट एक डेढ इन्च जति व्यासको प्वाल राखेर घरको गाह्रोमै मौरीका घार राख्ने चलन थियो। बेलाबेलामा आमा बुबाले मह झिकेको र मह भरिएका चाकाका टुक्रा हामीलाई केराका पातमा राखेर बाँडेको तथा हामी केटाकेटी, कहिलेकाहीँ गाउँका हाम्रा खेल्ने साथीसमेत मिलेर रमाइरमाइ मह खाने गर्थ्यौं। बाहिरबाट देखिने प्वालबाट जहिले पनि अस्तव्यस्त भएजस्तो गरी भ्याइनभ्याई भित्रने र बाहिरिने गरिरहन्थे परिश्रमी मौरी। हामीलाई त्यो हेर्न मजा लाग्थ्यो। वरिपरिका तोरीको फूल, केराका बुङ्गा, कोइरालो, टाँकी, काव्रो तथा अनेकथरीका फूल र फलफूलका फूलबाट समेत रस ओसारेर मह बनाउने र जम्मा गर्ने काम तिनको हुन्थ्यो भन्ने कुरा हामी बुबा आमा वा हजुरबा हजुरआमाबाट सुन्थ्यौं। मह खान पाउने भएकाले हामीलाई मौरीप्रति श्रद्धा र प्यार पनि लाग्थ्यो।  तर मलसाँप्रो भने काम नगर्ने तर चोरी, छली गरेर मह र मह जम्मा गर्ने मौरी नै समेत खाएर हामीलाई दिक्क लगाउँथे।  कहिलेकाहीँ त पुरै मौरी २–४ वटा मलसाँप्रोले सखाप पार्थे भने कहिलेकाहीँ केही मौरी नाश गरेर महसमेत खाएपछि बाँकी मलसाँप्रो हिँडे पनि असुरक्षा ठानी मौरी घार छाडेर पुरै बसाइँ हिँड्थे। यसरी मौरी नष्ट भएको र बसाइँ हिँडेका घटना हामी केटाकेटीका निम्ति अत्यन्त दुःखद् हुन्थ्यो, कहिलेकाहीँ त हामी रित्तो भएका सुनसान मौरीका घार हेरेर रुन्थ्यौं पनि। 

अहिले त्यो केटाकेटीको दुःखद् घटना र त्यसको छाप तथा अहिलेको हाम्रो देश सञ्चालनमा असल सोचले पसाइएको समावेशी पद्धतिको सद्विचारमाथिको व्यापक र लज्जास्पद दुरुपयोगको अवस्था उस्तैउस्तै लाग्न थालेको छ। मेरो मातृभूमिमा देश बनाउने, बचाउनेदेखि धर्म, संस्कृति सभ्यताको निर्माण गर्ने, मलजल गर्ने जस्ता असल मानवीय सुकर्मको निरन्तरताको दरो इतिहास हुँदाहुँदै मलसाँप्रोजस्तै काम नगरी, कुनै कर्तव्यको बोध नभई, बनाउने/तुल्याउनेमा लाग्दै नलागी त्यस किसिमको सिप, ज्ञान र ध्यानमा लाग्दै नलागी समावेशीको असल पथलाई जस्केलोका रूपमा बुझेर मलसाँप्रोले मौरी र महमा झक्पा मार्दै अन्ततः घारै नष्ट पार्ने र सारा मौरी नै बसाइँ हिँडाउने जस्तै गरी देशमाथि अभ›रूपमा झक्पा मार्ने काम भइरहेको देखिन्छ। आजको युगमा न शुद्ध नेपाली न अंग्रेजी, न अरु भाषाको लिखत र बोलीको व्यापकता वा न कुनै न्यूनतम औपचारिक वा अनौपचारिक आधारशीलायुक्त शिक्षा यसै देशको उच्चतम पदमा पुग्न पाउने देश शायद विश्वमा नेपालमात्र होला। यस देशमा समावेशीका नाममा फिटिक्क अग्रेजी बोल्न र लेख्न नजान्ने र विषयगत ज्ञानको छिटोसमेत नभएका राजदूत नै भए, अझै त्यो क्रम बढ्दो छ। हालै भएका यस्ता घीनलाग्दा प्रयास र त्यसपछिका तमासा हामीले भर्खरै देख्यौँ। तीन वर्षको लामो शून्यतापछि गरिन लागेका समावेशी भनिएका नियुक्ति चारैतिरको विरोधका कारण र निर्वस्त्र नाङ्गेझार हुने किसिमका प्रमाण बाहिर आउन थालेको हुनाले तत्काललाई रोकिएको अवस्था छ। 

बुद्ध जन्मस्थलको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक व्यवस्थापन र समयसापेक्ष उन्नयनका निम्ति स्थापित राष्ट्रिय संस्थामा सम्बन्धित विषयका विद्वान् भन्दा त्यस्तो विषयइतरका कुनै जात, सम्प्रदायविशेष र लामा, वज्राचार्य आदिलाई मात्र समावेशीका नाममा कार्यकारी पदको जिम्मेवारी दिइन्छ भने त्यसलाई समावेशी प्रवृत्ति कसरी भन्ने? लुम्बिनीको मन्दिरमा वा कुनै गुम्बा वा बिहारमा प्रार्थना पूजा गराउन त्यस्ता धार्मिक आध्यात्मिक व्यक्तिलाई पठाउने परिपाटी हुनुपर्ने हो।  त्यस्तै गरी पुजारी सम्बन्धित आध्यात्मिक व्यक्तिलाई नियुक्त गरेपछि पशुपतिको विकास गर्ने संस्थामा पनि इतिहास, पुरातत्व तथा धर्म/संस्कृतिका विषयको प्राज्ञिक व्यक्तित्वलाई मात्र जात, सम्प्रदाय, वंश नहेरी नियुक्ति गर्ने व्यवस्था हुनुपर्ने हो। यसमा जोगी, संन्यासी, माडवारी, पुजारी ब्राह्मण, पण्डित खोज्नु आवश्यक हुनु नपर्ने हो। त्यस्तै गरी स्वयम्भू, बौद्ध, मुक्तिनाथ, जनकपुर धाम, रुरुक्षेत्र आदिको विकासका निम्ति बनेका र बन्ने संस्थामा पनि यसै किसिमले व्यवस्थापनमा सम्बन्धित प्राज्ञ पृष्ठभूमिकालाई नियुक्त गर्ने परिपाटी चलाउनुपर्ने हो। अब त विश्वविद्यालय जस्ता संस्थामा समेत कुनै निश्चित जात वा समुदायका लाई मात्र कूलपति, उपकूलपति वा पदाधिकारीको जिम्मेवारी दिने चलन चलेको छ भने यस्तो परम्परालाई कसरी समावेशी भन्ने? यस प्रसंगमा विषयगत ज्ञान महत्वपूर्ण कि जात वा समुदाय तथा वंशगत परिचय? त्यस्तै सम्बन्धित जीवित र क्रियाशील संस्थामा चाहिँ सम्बन्धित समुदाय वा परम्पराले स्वीकार गर्ने धर्मसंस्कृतिको प्रतिनिधित्व गर्ने व्यवस्था राज्यले गर्नुपर्ने हो तर त्यस्तो भइरहेको छैन अहिले। कुमारीको खड्ग साट्ने, वसन्त श्रवण गर्ने, जनकपुरमा पूजा प्रार्थना, तलेजु, भैरव आदिका तान्त्रिक पूजाआजा, सम्यक पूजा र यात्रा जस्ता, दशैंमा राँगा बोका भोगका चलन आदिका परम्पराका विषयमा समेत अहिलेको बदलिएको परिस्थितिमा राज्यले अहिले नै सम्बन्धित समुदाय, संस्थासँग समन्वय गरी गहन सोचसहित नीति तय गर्नुपर्ने हो।             

यस सन्दर्भमा समावेशी भनेको के र त्यस सुमार्गको उपयोग कसरी भन्ने आधारभूत कुरामा नै हामी विचलित भएको अवस्था टड्कारै देखिएको छ। यस विचलनले समाज, सभ्यता र राष्ट्र घातक विचलनलाई समेत एकपछि अर्को गर्दै निम्त्याइरहेको भयानक अवस्था देखिँदैछ। हामी समावेशीकरणको बाटोको पहिलो मुहानलाई नै छलछाम, कृत्रिमता र बनावटी प्रवृत्तिले निमोठेर एकैचोटि टुप्पोमा पुग्ने कुमार्गमा लागेका छौं। शिक्षा र प्रारम्भिक आधारबाट माथि उठ्ने र उठाउने समावेशीकरण दिगो र फलदायी हुने हुँदा सर्वप्रथम त्यसको उद्देश्यमै स्पष्ट हुन जरुरी हुँदाहुँदै हामीले त्यसतर्फ कुनै सोच नै राखेनौँ। अहिले विश्वमा प्रचलनमा भएको सतह अर्थात् तलबाट गम्भीरताका साथ माथि उठ्ने र उठाउने, गर्ने र गराउने 'बटम् अप' को सिद्धान्तको व्यावहारिक पक्ष पनि यस्तै नै हो जसले समावेशीको बाटो समातेको हुन्छ।  

कुनै पनि सार्वजनिक वा राजनीतिक जिम्मेवारी दिँदा र लिँदा त्यस कामको जिम्मेवारीमा कस्तो सिप, ज्ञान, अनुभव आदिको आवश्यकता पर्छ र त्यस्तो काममा कसरी कुनै सच्चा बहिष्करणमा परेको वा सीमान्तीकरणमा परेको व्यक्ति वा वर्गलाई आवश्यक सिप र ज्ञानले सज्जित बनाएर पुर्‍याउने भन्ने देशको सोच हुनुपर्नेमा सिप ज्ञानको पक्षलाई पुरै अलग राखेर सोझै जिम्मेवारी दिने र लिने पद्धति जुन अहिले चलेको छ त्यो समावेशीकै उद्देश्यविपरित र देश घातक बनिरहेको स्थिति छ। संख्या देखाउन, उपस्थिति देखाउन अनेक छलछाम र जबर्जस्ती त्यस्ता राष्ट्रिय जिम्मेवारीमा पुर्‍याउने चलनलाई 'टोकनिज्म' को पङि्तमा नै राखिन्छ र यस्तो चलनले अन्ततः संस्थागत र दरो व्यवस्थागत बाटोबाट अगाडि बढ्नमा बाधा नै पुर्‍याउँछ भन्ने हेक्का हामीमा हुनुपर्ने हो।

समावेशी र सामेलीको धारणाअन्तर्गत विभिन्न समुदायका ऐतिहासिक व्यक्तित्व, संस्था र परम्पराको खोजीमा गहनताभन्दा सतही, बनावटी तथा कृत्रिमता हावी हुँदै गरेको स्थिति देखिएको छ अहिले। यस्तो गलत प्रचलनले कतिपय समय र घटनामा संस्कृति र परम्पराको वास्तविक अध्ययन र मननभन्दा काल्पनिकतापूर्ण निर्माण वा आविष्कार (इन्भेन्सन अफ ट्रेडिसन)को भूमिका बढ्दै गएको पनि देखिएको छ।  यसमा कुनै समुदाय, व्यक्ति, क्षेत्र आदिका नारा वा 'एक्टिविज्म' को प्रभावको भरमा गलत व्यक्ति, संस्था वा परम्परालाई एकोहोरो दबाब दिंँदै राष्ट्रिय बनाउने काम भइरहेको छ भने के त्यही हो त समावेशीको प्रवृत्ति र मर्म भनेर प्रश्न उठाउनैपर्ने भएको छ अहिले। 

नेपालमा हिमाल, पहाड र तराईसमेत गरेर कम्तीमा पनि १०० जना जति वा त्योभन्दा अधिक संख्यामा विशेष ऐतिहासिक व्यक्तित्व भएको प्ररम्भिक अनुमानित आकडा छ र त्यस्तै संस्था, परम्परा, सभ्यता र धरोहरहरुको संख्या त्योभन्दा कम छैन। तर तिनको अध्ययन, अनुसन्धान, देशव्यापीरूपमा जानकारी तथा प्रचारप्रसारको साटो खुरूखुरु गलत, अप्रमाणित, कृत्रिम वा बनावटीलाई मनपरी ढंगले पहुँच र नाराको भरमा राष्ट्रिय मान्यता दिलाउने कुप्रथा चलाउन थालिएको छ। यसले समावेशी बाटोलाई नै अन्योलतिर घँचेटिरहेको स्थिति छ। उदाहरणका निम्ति हाम्रो हिमालका विद्वान् चाहे डोल्पो, मुगु, लोवो (मुस्ताङ), नुव् री, चुम, पाल्चोक (वाल् चो), खेन्पालुङ्, खुम्बु, नार नेश्याङ्, रसुवा, विगु, अरुण उपत्यकाको भोटखोला, वालुङ् (ओलांचुं) आदि क्षेत्रमा टाढाटाढा भोट, मंगोलियासम्म ख्याति कमाएका बौद्ध विद्वान् तथा तपश्वीहरूका तथ्यपूर्ण नाम र कृति देखिएका छन्। तिनका अनेकौं कृति परम्परागत पढाइमा समावेश पनि छन् तर तिनको आवश्यक व्यापक जानकारीसाथ मनन भने गरिएको छैन।

डोल्पाकी १७औं शताव्दीकी तान्त्रिक आनी खाँडोमा उर्ग्येन् छोक्यी, कुञ्येर शेरव ग्याल्छेन, आचार्य ज्याङ्छुव् निङ्गपोस मुस्ताङ्का अनुवादक लोवो लोचावा, महापण्डित शेरव रिञ्छेन, अर्का महापण्डित ङ्ग्याम्मे सोनाम ल्हुन्डुप, तान्त्रिक पण्डित कुन्साङ् ज्याललुई, महापण्डित कुङ्गा डोलछोग, त्यागी पण्डित तन्जिन रेपा, औतारी जोमो राजकुमारी श्यावढुङ् कुङ्गा छिमे पाल्देन वाङ्मो वा पाल्देन साङ्मो जस्ता विद्वान्, त्यागी र तपश्वीको अहिलेसम्म कुनै अध्ययन नै नगर्ने अनि कुनै समुदायमा मान्छे नै नपाएजस्तो गरी पासाङ्ल्हामु वा शंखधर जस्तालाई राष्ट्रिय विभूति नै घोषणा गर्ने/गराउने जस्ता हाँस्यास्पद र इज्जत हराउने गलत काम र परम्परा समावेशी बाटोमा भविष्यलाई समेत तगारो बन्ने किसिमले गरिएका छन्। योगी नरहरिनाथ, बालागुरु षडानन्द, सर्वार्थ योगवाणिकी कृतिकार योगमाया, स्वामी प्रपन्नाचार्य तथा केही किरात राई समुदायका जोसमनी त्यागी र नेवार समुदायका अनेकौं बौद्ध तान्त्रिक तथा हिन्दु पण्डित, न्याय परम्पराका कृतिकार, महेन्›मल्ल जस्ता जनकल्याणका चिन्तक राजा, ऐतिहासिक विवरणकार बहुभाषी नेपाली कास्मश्मिरी विद्वान्समेतलाई  र तराईतिरका नेपालको पहिलो कानुनी व्यवस्थामा कलम चलाउने लेशपति र लोकपति झा र अनेकौं मैथिली पण्डित जस्ता व्यक्तित्वलाई पनि यस प्रसंगमा सम्झनुपर्नेमा हाम्रो वर्तमान यथार्थ चाहिँ आफ्नै घुँडा काट्ने र नेपाल र नेपालीको इज्जतमा नकारात्मकता बढाउने खालका भइरहेका छन् चाहे सर्वोच्च पदहरुको चयनमा होस् वा अरु उल्लेखनीय जिम्मेवारीमा। 

राष्ट्रिय व्यक्तित्वको चिनारी र मान्यतामा पनि त्यस्तै नै भएको देखिएको छ। अर्को कुरा समावेश वा सामेलीको विषयलाई प्रशाशन र राजनीतिका पद र कुर्सीमा मात्र सीमित राखेर हेर्ने र अऐतिहासिकतालाई गलतरूपमा बु‰ने र बुझाउनेमा व्यस्त हुनाले सिंगो समावेशीको असल बाटोलाई नै गलत र कलंकित गराउनेतर्फ हाम्रा पाइला चलिरहेका छन। विभिन्न दलभित्रका नेतृत्त्व र संविधानसभा तथा सदनको प्रतिनिधित्वमा पनि समावेशी परम्परा दुरुपयोग भएका अनगिन्ति उदाहरण छन्। शैक्षिक क्षेत्रमा पनि यस्तै गलत परम्परा हावी भएको हुँदा विश्वविद्यालय र अन्य शिक्षण संस्थाको स्थिति पनि उस्तै दर्दनाक छ। अहिले कतिपय संस्था वा समाजमा समेत आचार्य, शास्त्री, पिएचडी अध्ययन नै नगरी कृत्रिम र बनावटी किसिमले झुक्याउने परम्परा पनि बढ्दो छ। आवश्यक ज्ञान र शिक्षा नै नभएकाहरू विश्वविद्यालयका कार्यकारी समिति जस्ता ठाउँमा समेत पुग्नु देशले पछ्याएको कुमार्गबाहेक केही हुन सक्दैन। यस कुपरम्परामा आर्थिक लेनदेन, व्यक्तिगत लोभ, राजनीतिक स्वार्थ र भ्रष्टाचारी प्रवृत्ति पनि त्यत्तिकै जिम्मेवार देखिन्छ।  यसरी अहिले समावेशी वा सामेली आदर्शको परिभाषा नै कुण्ठित बनाउँदै हामी अगाडि बढिरहेका छौं। यदि देशलाई उचित दिशाबाट अगाडि बढाउने हो भने यस गलत बाटो तुरुन्त रोक्नु जरुरी छ।    

प्रकाशित: २० फाल्गुन २०७३ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App