८ वैशाख २०८१ शनिबार
अर्थ

काठमाडौंले पोखरामै रोकिदिन्छ जहाज

पोखरा- ध्वजाबाहक नेपाल वायुसेवा निगमको टि्वनअटर जहाज मंगलबार बिहान पोखराबाट काठमाडौंका लागि उड्ने तयारीमा थियो। यात्रु चढाएर जहाज धावनमार्ग पुगिसकेको थियो। उड्न तयार जहाजलाई एयर ट्राफिकले एकाएक पार्किङस्थल फर्कन निर्देशन दिए। निर्देशनपछि जहाज पार्किङस्थलमा फर्कियो। जहाज पार्किङमा फर्किंदा यात्रु पनि झस्किए।

उड्न तयार जहाजलाई २० मिनेट पोखरामै रोकिन टावरमार्फत निर्देशन दिइएको थियो। यो निर्देशन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको थियो। कारण थियो– काठमाडौंको आकासमा अधिक हवाई ट्राफिक जामले गर्दा अवतरण गर्न अनुमति दिन सक्ने अवस्था थिएन। त्यसले आकासमा लामो समय होल्ड गर्नुपर्ने अवस्था आएपछि जहाजलाई पोखरामै रोकिन लगाइएको थियो।

'उड्नै लागेको जहाज समेत फिर्ता हुनुपरेको छ। यसले यात्रुलाई गन्तव्यमा पुग्न ढिलाइ त हुन्छ नै जहाज फर्किनुपर्ने कारण थाहा नपाउँदा यात्रुसमेत तनावमा पर्ने गर्छन्,' नेपाल एयरलाइन्सका पोखरास्थित म्यानेजर विजय बस्नेतले भने, 'पोखराको भन्दा काठमाडौंको आकासको समस्या हो। काठमाडौंको आकासमा भीड बढेपछि काठमाडौंले पोखरा विमानस्थलको टावरमार्फत जहाजलाई रोक्न निर्देशन दिन्छ। अहिले नियमितजसो यो समस्या हुने गरेको छ।'

आकासमा उडेर अवतरणका लागि लामो समय कुर्नुभन्दा उड्नै नदिई रोक्नु उचित भए पनि दिनहुँ ढिलाइ हुँदा यात्रु समस्यामा पर्ने गरेको उनले बताए। 'काठमाडौंको आकासको हवाई ट्राफिक जामको मार पोखराका उडानले खेप्नुपरेको छ। दिनहुँ उडान ढिलाइ हुँदा हतारका यात्रुलाई समस्या पर्ने गरेको छ,' बस्नेतले भने, 'सबैजसो उडानमा ढिलाइ हुन्छ। त्यसले समयमा गन्तव्यमा पुग्न चाहने यात्रुलाई अप्ठेरो पारेको छ। कनेक्टिङ फ्लाइट हुने यात्रु झनै तनावमा पर्छन्।'

काठमाडौंको आकासमा अधिक हवाई ट्राफिक जाम बढ्न जाँदा अहिले पोखरा लगायत विमानस्थलबाट हुने नियमित उडानमा निकै असर परेको एयरलाइन्स कम्पनीको भनाइ छ। पोखराबाट हुने हरेकजसो उडानलाई घन्टौंसम्म ढिलाइ हुने गरेको छ। हवाई कम्पनीका अनुसार कम्तीमा एक–डेढ घन्टा नकुरेको कुनै पनि उडान हुँदैन। सबैजसो उडानमा दिनहुँ ढिलाइ हुँदा बेलुकी अबेरसम्म उडान गनुपर्ने बाध्यता आइपरेको एयरलाइन्स कम्पनीका पोखरास्थित पदाधिकारी बताउँछन्। ढिलाइ हुँदै जाँदा उडान अनिश्चित हुने त्रास यात्रुमा हुने गरेको उनीहरु बताउँछन्।

काठमाडौं विमानस्थलले त्यहाँको आकासमा भीड बढेको भन्दै पोखरा आइसकेका जहाजलाई यतै (पोखरा) मै रोक्न लगाउने गरेको बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले बताए। 'काठमाडौं विमानस्थलले आकासमा भीड बढेपछि डिपार्चर (बाहिरिन) दिन्छ, तर, अराइभल (भित्रिन) दिँदैन,' बरालले भने, 'घन्टौंसम्म उडानमा ढिलाइ हुँदा यात्रु व्यवस्थापनमा समस्या हुन्छ। उड्न तयारी गरेका जहाज एकाएक रोकिँदा यात्रुलाई सास्ती भएको छ।' ढिलाइ हुँदै जाँदा कतिपय उडान नै रोकिने अवस्था आउने गरेको उनले बताए।

काठमाडौं आकासको जामले पोखराबाट उड्न तयार भएका जहाज बारम्बार फर्काउनुपरेको छ। 'यतिबेला पोखरा–काठमाडौं रुटमा हवाई उडान बढेका पनि छन्। काठमाडौंमा भीड बढ्नासाथ यतै रोकिदिन्छ। त्यसको व्यवस्थापन गर्न समस्या हुने गरेको छ,' पोखरा विमानस्थल टावरका एक वरिष्ठ कर्मचारीले भने, 'उडान बढेका छन्। तर, कर्मचारी कम छन्। व्यवस्थापन चुस्त गर्न निकै समस्या छ।' उनका अनुसार पछिल्लो केही दिनदेखि काठमाडौंको आकासमा लागेको बाक्लो तँुवालोले पनि उडानमा अवरोध गर्दै आएको ती कर्मचारीको भनाइ छ।

पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईं पनि काठमाडौं विमानस्थलमा अवतरणका लागि क्षमताभन्दा बढी माग हुँदा बाहिरका उडानले सास्ती खेप्नुपरेको बताउँछन्। 'हवाईजहाज आउन नदिन भएन। विमनास्थललाई दिइएको समयअनुसार उडान हुने हो भने सबै मिल्छ। तर, अन्यत्रको डिस्टर्बले पनि असर पार्छ,' गुरागाईंले भने, 'मौसम, भिआइपी मुभमेन्ट लगायतले पनि असर पार्छ।' काठमाडौं भित्रिने आन्तरिक उडानमा पोखरा, सिमरा, भरतपुर, जनकपुर, लुक्लाका जहाजलाई नजिकको दुरी मानिन्छन्। ती ठाउँबाट उड्ने जहाजलाई लामो समय आकासमा होल्ड गर्न नपरोस भनेर काठमाडौंमा विमानस्थलले सम्बन्धित विमानस्थलमै रोकिन लगाउने गरेको उनले बताए।

'आकासमा लामो समय होल्ड गर्नुभन्दा भुइँमै रोकिराख्नु राम्रो हुन्छ। आकासमा लामो समय होल्ड गर्नुपर्दा मान्छे आत्तिन्छन्, त्यसले इन्धन खपत पनि बढाउँछ,' उनले भने, 'काठमाडौंको आकासमा अन्तर्राष्ट्रिय सहित आन्तरिक उडानको भीड बढ्दा छोटो दुरीका उडानले बढी मार खेप्नुपर्छ। त्यसमा पोखरा पनि परेको हो।'

उनले पनि काठमाडौंका कारणले ढिलाइ हुँदै जाँदा उडान नै रद्द हुने सम्भावना बढ्ने बताए। 'रात्रिकालित उडान हुने ठाउँमा खासै समस्या हुँदैन। जहाँ भिजुअल फ्लाइट रुल्स (भिएफआर) मा उडान गर्नुपर्छ, त्यहाँ समस्या पर्छ,' उनले भने, 'इमर्जेन्सीका यात्रुलाई ढिलाइले अप्ठेरो पारेको छ।' उनका अनुसार भएफआरमा उडान गर्दा धावनमार्गबाट पाँच किलोमिटर दुरी देखिनुपर्छ। पोखरामा भिएफआर उडान हुन्छ।

प्रकाशित: २० फाल्गुन २०७३ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App