७ वैशाख २०८१ शुक्रबार
समाज

मंगलबारसम्म गुड्ने २० वर्ष पुराना सवारी बुधबार भेटिएनन्

काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा बुधबारदेखि निषेध गरेसँगै २० वर्ष पुराना सवारीसाधन सडकमा देखिन छाडेका छन्। मंगलबारसम्म सडकमा पर्याप्त मात्रामा गुडेका पुराना सवारीसाधन बुधबार भने सडकमा देखिएनन्।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको संयुक्त टोलीले बुधबार बागबजार बसपार्क, पुरानो बसपार्क, शान्तिवाटिका रत्नपार्क र लगनखेल बसपार्कमा रहेका साढे दुई सय सवारीसाधन अनुगमन गरेको थियो।

विभाग प्रवक्ता डा. टोकराज पाण्डेले अनुगमन क्रममा २० वर्ष पुरानो एउटा मात्रै ट्याक्सी भेटिएको जानकारी दिए। उनका अनुसार २० वर्ष पुरानो बा१ज ५५३१ नम्बरको ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ। ट्याक्सीका चालक युवराज विश्वकर्माले ट्याक्सी २० वर्ष पूरा नभएको बताए। 'मेरो ट्याक्सी २० वर्ष मात्रै लागेको हो। महिनाले अझै २० वर्ष पुगेको छैन। त्यसैले चलाएको हुँ,' उनले भने।

पुराना सवारीसाधनले वातावरण प्रदूषण गराउने, ट्राफिक जाम गर्ने तथा दुर्घटना निम्त्याउने उच्च जोखिम भएकाले विस्थापन गर्न लागेको प्रवक्ता पाण्डेले बताए।

'हामीले पर्याप्त मात्रामा पुराना गाडी भेटिएला भन्ने अनुमान गरेका थियौं। व्यवसायीले सरकारको निर्णयलाई पालना गरेको भेट्यौं,' उनले भने, 'पुराना सवारीसाधन विस्थापित गर्न यातायात व्यवसायीको सहयोग अपरिहार्य छ।' विभागले पुराना गाडीको अनुगमनलाई नियमित सञ्चालन गर्ने उनले बताए।

सवारी तथा यातायात व्यवस्था ऐन– ०४९ को दफा १६४ ले २० वर्ष पुराना सवारीसाधन चलाए एक हजार रुपैयाँदेखि ५ हजारसम्म जरिवाना र सडकबाटै नियन्त्रणमा लिन सक्ने व्यवस्था छ।

प्रवक्ता पाण्डेले २० वर्ष नाघेका सार्वजनिक बस, मिनिबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पो बुधबारदेखि स्वतः अवैधानिक भएको बताए।

'२० वर्ष पुराना गाडीको रुट परमिट र दर्ता नवीकरण म्याद सकिएकाले ती गाडी सडकमा निकाल्नु गैरकानुनी हो,’ उनले भने, 'अब थोत्रा गाडी सडकमा निकाल्न पाइँदैन। कसैले मनोमानी गरे जफत गरिन्छ।'

उपत्यकामा २० वर्ष नाघेका झन्डै दुई हजार पाँच सय सार्वजनिक सवारीसाधन रहेको विभागको अनुमान छ। ललितपुर लगनखेेलबाट छुट्ने अधिंकाश सवारीसाधन २० वर्ष पुराना भए पनि बुधबार अनुगमनका क्रममा नभेटिएको विभाग सवारीसाधन शाखाका अर्जुन रिजालले बताए।

'यो बसपार्कबाट छुट्ने अधिकांश सवारी २० वर्ष नाघेका देखिन्थे। सवारीचालकले केही चलाखी गरेका हुन सक्छन्,' उनले भने, 'उनीहरूको सवारीधनी प्रमाणपत्र हेर्नका लागि ट्राफिक प्रहरीलाई अनुरोध गरेका छौं।'

विभाग र प्रहरीको संयुक्त टोलीले कागजपत्र नहुने सवारीसाधनलाई जरिवाना गरेर कागजपत्रसहित उपस्थिति हुने भन्दै छाडेको छ।

लगनखेल बसपार्कमा भेटिएका केही सवारीचालकले सहुलियत दिएर मात्रै सवारीसाधन विस्थापित गर्नुपर्ने माग गरेका छन्। 'सरकारले कर्मचारी रिटायर्ड हुँदा पेन्सन उपलब्ध गराउँछ,' चालक सत्यनारायण अवालले भने, 'पुराना सवारीसाधन विस्थापित गर्दा यातायात व्यवसायीलाई सहुलियत दिनुपर्छ।'

उनका अनुसार २० वर्ष पुराना सवारीसाधन ग्रामीण क्षेत्रमै थन्काइएको छ। राष्ट्रिय यातायात व्यवसायी महासंघ वागमती अञ्चल संयोजक निरत्न नेवाले विभाग र प्रहरीको धडपकडले २० वर्ष पुराना सवारीसाधन नगुडाएको बताए। 'विभागको धडपकडले नै पुराना सवारीसाधन सडकमा ननिकालेका हौं,' उनले भने, 'घरघरमै थन्काएका छौं।'

महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरिरहेकाले पुराना सवारीसाधन नचलाएको उनको भनाइ छ।

०७१ भदौ १९ को मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन विस्थापित गर्ने निर्णय गरेको थियो। ०७१ फागुन १८ को राजपत्रमा २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय छापिएको थियो। यातायात व्यवस्था विभागले ०७३ मंसिर २२ गते सार्वजनिक सूचना निकालेर २० वर्ष पुराना सवारीसाधन ०७३ फागुन १८ बाट उपत्यकाभित्र सञ्चालनमा पूर्ण रोक लगाउन पत्राचार गरेको थियो।

प्रकाशित: १९ फाल्गुन २०७३ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App