डिस्कोर्स

कविताको 'फेसन'

शनिबार, २५ असार २०७३, १० : २४ प्रसन्न घिमिरे

रविन्द्रनाथ टैगोरको 'गीताञ्जली' वा खलिल जिब्रानको 'प्रोफेट' अथवा नित्सेको 'जराथ्रुस्ट' सबै इस्युबाहिर छन् अहिले। कुनै समय ती पनि इस्यु भएका थिए। तर, अहिले इस्युबाहिर हुनुले ती 'झुर' भएका छन्। त्यस्ता झुर कविताको कोही किन चर्चा गरोस्, चर्चा गर्नको लागि हाम्रै आँखाअगाडि चटक गर्ने, इस्टन्ट गर्ने थुप्रै कविता छँदैछन्! वास्तवमा कुरा के हो भने, इस्युबाहिरको कविता झुर नै हुन्छ। त्योभन्दा त नेताहरूले बोल्ने बकवास चल्छ बजारमा, बिक्छ गज्जबले। इस्युबाहिर रहेको कविता यस्तो खोटो सिक्का हो, जसलाई टिप्न पैसा र ढुंगाको फरक थाहा नपाउने केटाकेटी हुनुपर्छ अथवा जेन फकिर जो सिक्काको पछि दौडिरहेका मानिसहरू देखेर हाँस्न थाल्छ।

पश्चिमाहरू कवितालाई 'ओसन ड्रप' भन्छन्। हामी पूर्वीयहरू मन्त्र भन्छौँ। अनि अरबीहरू भन्छन् 'म्याजिक अफ द विलिसनेस'। तर, कविताले ड्रप, मन्त्र अनि विलिसनेसको आशयबाट आफूलाई लगभग अलग गरिसकेको छ। अहिले कविता इस्युमाथि गरिएको बहस भइरहेको छ, हल्ला भइरहेको छ अनि रुवाबासी भइरहेको छ। खासमा यतिबेला हाम्रा कविता इस्युबाहिर छँदैछैनन्। किनकि, अहिलेका कविहरूले पहिलेजस्तो बिनाउद्देश्य हिँड्ने जेन फकिरको गोरेटो छाडिसकेका छन्। यत्ति हो कि अहिले हामी कोही धर्मलाई इस्यु बनाइरहेका छौँ, कोही जातलाई, कोही भातलाई त कोही नाकलाई। अलि बाहिर छु भन्ने पनि इस्युमा नै छन्, कोही प्रेमको चौघेरामा, कोही फेन्टासीको आयतनमा, कोही स्मृति अनि कोही प्रेतहरूको लयको चौघेरामा। उल्लिखित घेराहरूमा नपर्ने पनि होलान्। ती पनि यो सबैभन्दा परको चौघेरामा पक्कै पनि भेटिन्छन्।

स्वास फेर्नुमा पनि हामी अर्थको खोजी गछर्ौं। यतिसम्म हामी बौद्धिक उहिल्यै भएका हौँ। अल्बेयर कामुले सिसिफसको कथा सुनाएको वषर्ौंवर्ष भयो। खानु, पिउनु अनि सम्भोग गर्नु, योभन्दा बाहिर पनि जीवन छ? प्रश्न गर्न मन लाग्छ। छ भन्ने आवाज आउँछ, तर त्यो यति मसिनो छ कि इस्युबाहिर कविता सोच्नेको आवाजजस्तै लाग्छ। पत्रपत्रिकामा दैनिक छापिने कविता हेरौँ, इस्युबाहिर भेट्टाउन मुस्किल पर्छ। केही न केही इस्यु त त्यहाँ हुन्छ नै। केही न केही इस्युको के कुरा त्यहाँ त उस्तै इस्युको मात्र कविता हुन्छ। केही नयाँ बिम्ब अनि पदावलीमा धेरै कविता फोटोकपी भएर आएका हुन्छन्।

एकपटक एउटा क्याफेमा बसेर एलेन गिन्सबर्गको नेपालीमा छापिएको कविता पढेपछि मैले सँगैका कविलाई पढ्नु त यो कविता भनेर दिएँ। उनले पढिसकेपछि, मैले सोधेँ– 'तपार्इंलाई यो लाग्दैन हाम्रा धेरै कवितामा यिनकै कथ्य मिसिएर आएको छ?' उनले भने– 'अंग्रेजी नपढ्ने हाम्रा पठकलाई यो राम्रै भएको छ।' यहीँनेर 'कवितामा नेपाल' भनेर नेपालीपनले भिजेको कविता खोजी हिँड्ने महेश पौड्याललाई सम्झन्छु। उनको त्यो अभियान अहिले कोमामा पुगे–पुगेजस्तो लाग्छ। अब त उनलाई पनि हेक्का भएको हुनुपर्छ, नेपाली कवितामा अलग लेख्न खोज्नु भनेको भीडको पैताला तल चेपिनु हो। बजारभन्दा बाहिर सोच्नु भनेको, कविताको समाजबाट बाहिरिनु हो। यसरी बाहिरिने कति कवि अनि लेखक होलान्?

चलचित्रमा मूलधार अनि अलगधारको कुरा भइरहेको छ। साहित्यमा भने अहिलेसम्म भएको छैन, कवितामा झन् कसरी हुनु! बजारले पनि चाहेको छैन, अलगधारको सहित्यको कुरा होस्, कविताको कुरा होस् भनेर। कुनै दिन बजारले चाहेमा पक्कै हुन्छ, बजारले चाहेपछि के हुँदैन र? राम्रो कविता लेख्ने बुद्धिसागर उपन्यासकार भए। बजारले चाहेकै हो उनी उपन्यासकार बनून् भनेर। बजारले त चाहेको छ कवि मनु मञ्जिलले पनि कविता लेख्न छोडेर उपन्यास लेखून्, अहिलेको इस्युमा कविता लेखून्। हेरौँ, उनी कहिलेसम्म बजारलाई बेवास्ता गर्न सक्छन्! कसैकसैलाई लाग्ला कवितामा अलगधार नै कहाँ छ र? जस्तो कि चलचित्रमा छ। ठीकै हो कुरा, पत्रपत्रिका जताततै उस्तै त कविता छन्। अलगधारको भन्न सकिने कविता कतै छैन। सायद, अलगधारको कविता डस्टबिनमा छ।

भर्खरै कवि सिजन श्रेष्ठको 'ईश्वर भएँ भने' शीर्षक कविता पुरस्कृत भयो देवघाटको कविता महोत्सवमा। 'प्रथम भएको कविता एकदमै फरकखालको छ, हामी अचम्मित भयौँ' कवि श्यामलले त्यहाँ भनेका थिए। तर, विडम्बना त्यो त्यही अभागी कविता थियो, केही समयअगाडिसम्म, पत्रिकामा छाप्न अयोग्य छ भनेर डस्टबिनमा फ्याँकिएको थियो।

बजार त यस्तै हुन्छ। भ्यानगगको चित्रलाई चिन्न कति हजार वर्ष लागेको थियो बजारलाई? यस्तो भइरहन्छ, हरेक समयमा। यत्ति हो जमिनको घाँस जसरी बताससँग खेलीमात्र रहन सक्नुपर्छ, खस्छन् आकाश छुन अग्लिएका वृक्षका पातहरू। ताराहरू चम्कन त चम्कन्छन् आकाशमा तर ती पनि आउँछन् घाँसकै नरम बिछ्यौनामा लडिबुडी खेल्न। उही घाँसलाई न्यानो नपारी घामलाई पनि कहिल्यै निद्रा आउँदैन। घाँसजस्तो हुनु, तलतल पिँधको जमिनमा रहनु अनि बतासको संगीतमा मग्न रहनु, यो पनि एउटा कला हो। यसमा पनि मजा छ, रुवाबासी गर्नु अनि आवेगमा आएर प्रतिक्रिया जनाउनुमा मात्र छैन मज्जा। केही कविलाई यो सब थाहा छ। थाहा हुनु पर्याप्त छ।

इस्युमा त बहस हुन्छ। बहस हुन छाडेका सबै कुरा अनि विषय इस्युबाहिरका हुन्छन्। यसरी कुरा गर्दा भने इस्युबाहिर पनि कविता हुन्छ। तर, इस्युमा लेखिएको कविताले बहसको निर्माण गर्छ। कवितालाई धेरै जनासम्म पुर्‍याउन बहसको ठूलो भूमिका हुन्छ। पछिल्लो समय नेपाली कविता इस्युबाहिर खासै गएको छैन, भलै इस्युमा कविता लेखन धेरै अगाडि सुरु भएको हो। केही इस्यु पहिले जस्तै आज पनि उस्तै छन्। नेपाली राजनीतिमा बाह्य हस्तक्षेप धेरै अघिदेखि सुरु भएको हो। त्यो आज झन् बढ्तै मुखर भएर देखापरेको छ। हाम्रा हरेक संरचनामा नै त्यसले जरा गाडिसकेको भयानक अवस्था छ। हामी झन् बढी गोटी हुँदै गएका छौँ। गोटी हुन इन्कार गर्दा के सहनुपर्छ, हामीले केही समयअगाडि भोगी पनि सकेका छौँ। तब त आज पनि भूपि शेरचनको 'हामी' कविताको सन्दर्भ ताजै छ।

राणाकालको समयमा लेखिएको कवि लेखनाथको 'पिँजडाको सुगा' पछिल्लो समयको चर्चित कविता 'बिसे नगर्चीको बयान', कवि श्यामलको 'हतारमा यात्रा', कवि भूपिनको 'हल्ट' सबै इस्युभित्रका कविता हुन्। कुनै समय माधव घिमिरेको 'मालती मंगले' इस्युमा थियो, त्यही इस्यु छ आज पनि। तर, किन हो त्यसको अहिले चर्चा छैन्। किन होला? सायद उनको अनुहार अनि नाकको रूपरेखाका कारणले हो कि! या अरु नै केही छ गुह्य कारण?

इस्युमा लेखिएका कविता जब शक्तिशाली हुन्छन्, त्यसको तरंग बृहत् भएर जाँदो रहेछ। बिसे नगर्चीको बयान कविता नै हेरौँ, त्यो कविता एउटा समयको इतिहास हो। माओवादी आन्दोलनलाई हेर्ने एक किसिमको दृष्टिकोण बोकेको 'हतारमा यात्रा' लाई लिएर बहस कहिले सकिएला र? 'हल्ट' शीर्षकमा कविता छापिएपछि उनलाई ब्राह्मणवादी कविको रूपमा बहस गर्ने अनि हेर्ने काम सुरु भएको छ। इस्यु बनोस् अनि त्यसलाई बेच्न सकियोस् भन्ने एउटा बजार पनि बनिसकेको यो समयमा इस्युभित्रका कविताले मात्र ठाउँ बनाउनु स्वाभाविकै छ। तर, कविहरूले पनि बजारको मागलाई हेरेर त्यस्तै मात्र लेखिदिए भने के होला? अरु केही नहोला, बहस होला! देशमा नाकाबन्दी हुन्छ, सर्वसाधारणले सास्ती भोग्नुपर्छ, त्यसको प्रतिक्रियास्वरूप कविता आउँछन्। कोही नेताले केही बोल्छन् त त्यसको प्रतिक्रियामा पनि तत्काल कविता आउँछन्। पहिरो जान्छ कतै, कविता आउँछ। कोही पहिरो गएको हेर्न जान्छन त कविता आउँछ। कतै युद्धले मानिस मरेका छन्, अनि त्यसकै बारेमा जान्न केही विदेशी पर्यटक बनेर आउँछन्, त्यसकै प्रतिक्रियामा पनि कविता आउँछ। नआओस पनि किन? इस्यु त त्यहीँनेर बन्ने र भेटिने हो। बहस त त्यहीँनेर उठ्ने हो। अनि बहसमा सबैलाई मज्जा आउँछ। मौनतामा मज्जा आउने त बुद्धलाई मात्र हो। अब बुद्ध कता हुनु अनि उनको लागि कविता लेख्नु कविले? समय अनि परिस्थितिसँग आफूलाई रूपान्तरण गरेर नै यहाँसम्म आएको हो मानिस। कविहरूलाई पनि यसैगरी बाँचिरहनु छ। बजारलाई यो सब थाहा छ, तब त इस्युबाहिर कविता हुँदैन अर्थात् बाजारमा उठेको–चलेको इस्युबाहिर कविता हुँदैन, बजारले कविहरूलाई यस्तो महसुस गराउँदै लगेको छ।

बजारले उपन्यास बिक्छ भनेर भनिदिँदा कविहरू कवितालाई बीचबाटैमा छोडेर उपन्यास नै लेख्न थाल्छन्। अनि इस्युसहितको कविता चल्छ भन्दा त्यस्तो कविता नलेख्नु किन? यो त्यही समय हो, आफ्नो बजारको खोजी गर्दै सबै हिँडिरहेको। सके अमेरिका, नसके कुनै अरबी देश। यस्तो समयमा लोककथाको पन्छी कहाँ भेटिनु? जुन पन्छी वृक्ष सुकेपछि पनि त्यो वृक्षलाई छोड्दैन! अब त्यो लोककथा भइसक्यो अनि नयाँ कथामा पाइन छाडिसक्यो त्यस्तो पन्छी। बजार जता छ, उतै सबैको पाइला सर्छ। बजार छ भन्दै गाउँबाट सहर, सहरबाट विदेश सबैको यात्रा छ, तब कविताबाट इस्युको कवितामा किन नजानु कविहरू? कविहरू पनि यहीँका हुन्, अर्को ग्रहबाट आएका प्राणी होइनन्।

जीवन अनि जगत्को केन्द्रमा मानिस छ भन्ने सोच राख्ने, एन्थ्रोपोसेन्ट्रिक दृष्टिकोण हावी छ हामीमा। यसले हाम्रो मानवीय अहम्लाई सन्तुष्ट पनि पारेको छ। अहम् सन्तुष्टिको सुखको भोग गरिरहेका छौँ हामी। हाम्रा इस्युहरू यही सोचले बनेका छन्, निर्मित भएका छन्। अनि कविहरू पनि तिनै इस्युको चौघेरामा छन्। मानिस अनि मानिस आफैले निर्मित गरेका अनेक इस्युहरू केन्द्रमा छन्। जस्तो कि मानिसले नै निर्माण गरेको हो धर्म, त्यही कुरा इस्युमा छ। जस्तो कि जात अनि नाकको आधारमा, अनुहारको बनोटको आधारमा परिचयको सिलसिला मानिसले नै हो बनाएको, अहिले त्यही कुरा इस्युमा छ। नयाँ इस्यु भनेको नयाँ फेसनजस्तो हुँदो रहेछ। बिक्दो रहेछ बजारमा मज्जैले! यस्तो फेसन कविता लेखनमा पनि देखापरेको छ। बजार त्यसमा रमाइरहेको छ।

मनिसले सबैभन्दा पहिले आफूलाई सर्वश्रेष्ठ प्राणी घोषित गर्‍यो। अनि अहिले आएर आफ्नो जात अनि नाकलाई सर्वश्रेष्ठ घोषित गर्न लागिपरेको छ। मानिसको अस्तित्व मानिसको भलोमा मात्र त सम्भव छैन, तर ऊ आफ्नो पहिचानको मात्र कुरा गरिरहेको छ। मानिस यो सोच्दछ कि म भइनँ भने यो हिमालको के काम? यो खोलाको के काम? सोच्नु त यो पर्ने हो यो हिमाल भएन भने म मानिसको के काम? यो खोलामा पानी भएन भने म मानिसको के कस्तो हालत होला? तर, यसरी सोचिरहेको छैन मानिस। अर्काको बारेमा सोच्न मानिसले छोडिसकेको छ। तब त मानिसका जात, भेष, रंग, नाक, धर्म अनि पहिचान बाहिरको इस्यु नेपथ्यमा छन्। अनि नेपथ्यमा भएका इस्युमा लेखिएका कविता पनि नेपथ्यमै छन्। ती नेपथ्यमा भएका कविता जहाँ हुनुपर्ने हो, अहिले त्यहीँ छन्। कुनै दिन देखिएलान् त्यस्ता कविता पनि। अहिले इस्यु नबनेको इस्यु पनि कुनै दिन त बन्ला अनि आउला त्यस्तो कविता। अनि ती कविताले आफ्नो टाउको उठाउलान् चिहानबाट पनि। चिहानबाट टाउको उठाएर आउने ती कविता पढ्न, म हुँला कि नहुँला! तथापि यो सब जान्न–बुझ्न अनि भोग्नका लागि अझै त म जिउँदै छु। यति नै पर्याप्त छ, आभारी छु जिन्दगीप्रति।  





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad