coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हंगेरीले जलविद्युत् विकासमा ऋण दिने

काठमाडौं- हंगेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि १० करोड युरो (करिब ११ अर्ब २० करोड रुपैयाँ) ऋण सहयोग उपलब्ध गराउने भएको छ। युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतसँगको भेटमा हंगेरीका विदेशमन्त्री पिटर सिजार्तोले उक्त जानकारी गराएका हुन्।

हंगेरीले एक प्रतिशतभन्दा कम ब्याजदरमा उक्त ऋण उपलब्ध गराउन लागेको परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बुधबार जारी गरेके विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३४औं सत्रमा सहभागी हुन जेनेभा पुगेका परराष्ट्रमन्त्री महत र हंगेरीका विदेशमन्त्री सिजार्तोबीच मंगलबार द्विपक्षीय वार्ता भएको थियो। वार्ताक्रममा मन्त्री सिजार्ताेले हंगेरी सरकारले प्रत्येक वर्ष दस नेपाली विद्यार्थीलाई हंगेरीका विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको जानकारी समेत गराएका थिए। 

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको थियो। विदेशमन्त्री सिजार्ताेले नेपालले राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यका लागि दिएको उम्मेदवारीको समर्थन गरेका थिए। जेनेभामा रहेका परराष्ट्रमन्त्री महत उच्चस्तरीय भेटवार्तामा व्यस्त भएको विज्ञप्तिमा जनाइएको छ।

उनले मंगलबार नै राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३४औं सत्रलाई सम्बोधन गरेका थिए। बुधबार राष्ट्रसंघीय मानवअधिकार आयोगका उच्चायुक्तसँग भेटवार्ता गरी नेपालको मानवअधिकारको अवस्था तथा परिषद्मा नेपालको उम्मेदवारीबारेमा उनले छलफल गरेका छन्। नेपालले सन् २०१८ देखि २०२० का लागि राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७३ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App