coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुनकुमारीका श्रीमानले सफाइ पाए, बहिनीलाई १० वर्ष कैद

लिबाङ (रोल्पा)-  श्रीमान् र बहिनीको कुटपिटबाट हत्या गरिएको भनिएकी थबाङ, रोल्पाकी सुनकुमारी नेपालीका श्रीमान्ले अदालतबाट सफाइ पाएका छन् भने सुनकुमारीकी (सानीआमाकी छोरी) बहिनीलाई जिल्ला अदालत रोल्पाले १० वर्षका लागि कैद हुने गरी फैसला गरेको छ।

विसं २०७३ असोज २५ गते विजयादशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेर भइरहेको बेला रातको करिब १२ बजे सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद परेपछि जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटक मसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको र सोही चोटबाट सुनकुमारीको मृत्यु भएको पुष्टि भएपछि जालकुमारी नेपालीलाई १० वर्ष कैद हुनेगरी फागुन ३ गते फैसला भएको जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीले राससलाई मंगलबार जानकारी दिए।

उनका अनुसार मृतक सुनकुमारीको हत्यामा संलग्न रहेको भनिएका अर्का प्रतिवादी (सुनकुमारीका श्रीमान्) ध्रुव नेपालीले मृतक सुनकुमारीलाई कुटपिट गरेको पुष्टि नभएको हुँदा ध्रुव नेपालीले सफाइ पाएका हुन्।

जिल्ला न्यायाधीश ज्ञवालीका अनुसार नियतवश कसैको ज्यान लिएमा जन्मकैद हुने व्यवस्था भए पनि जालकुमारी नेपालीले आवेशमा आएर घटना घटाएको हुँदा १० वर्ष कैद सजाय तोकिएको हो। मृतकका श्रीमान् ध्रुव नेपाली र बहिनी जालकुमारी नेपालीले सुनकुमारी नेपालीलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी घाइते बनाई उपचारका क्रममा सुनकुमारीको मृत्यु भएको अभियोगमा दोषीउपर कारबाहीका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता भएको थियो।

घटना घटेको करिब एक महिनापछि कात्तिक २७ गते भैरहवाको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनकुमारीको मृत्यु भएपछि पीडक जालकुमारी नेपाली र धु्रव नेपालीलाई कारागार कार्यालय रोल्पामा थप अनुसन्धानका लागि थुनामा राखिएको थियो।

अदालतको फैसलाअनुसार जालकुमारी नेपालीले फागुन ३ गतेदेखि १० वर्ष कैद सजाय भोग्नेछिन्। काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् घटना घट्ने समयमा रोजगारीका लागि साउदी अरबमा हुनुहुन्थ्यो भने जालकुमारी भने करिब ६ महिनादेखि ७ वर्ष, ४ वर्ष र ३ वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन्। रासस
 

 

प्रकाशित: १८ फाल्गुन २०७३ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App