७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

दिनमा १० पटक फल खानुस्

दिनभरिमा १० पटक फल तथा तरकारीजन्य खाद्य खाँदा तपाईंको उमेर लम्बिन्छ। इम्पेरियल कलेज लन्डनका शोधकर्ताले २० लाख मानिसहरुमा गरेको अध्ययनपछि यस निष्कर्षमा पुगिएको हो। शोधमा के पाइयो भने यस किसिमको बानीले हरेक वर्ष ७८ लाख मानिस असमयमै हुने मृत्युबाट बच्न सक्छन् ।

शोध टोलीले ती फल र तरकारीको पहिचान गरिसकेका छन्, जसले क्यान्सर र हृदय रोगको खतरा कम हुन्छ।

वैज्ञानिकहरुका अनुसार, यस्ता फल तथा तरकारी खाने तरिका पनि विशेष छ । एक पटकमा यी खाद्य लिँदा ८० ग्राम मात्र लिनुहोस्। ८० ग्राम भनेको एउटा सानो केरा, एउटा नासपाती या मटर अथवा पालकको सानो कटौरा बराबर हुन्छ। फल र तरकारीको यो मात्रा दिनमा १० पटक लिनुहोस् । २० लाख मानिसको बानीका बारेमा ९५ बेग्लाबेग्लै अध्ययन गरिएको छ।

पालकको साग, फूलकोबी लगायतका तरकारी खाँदा त्यसले तपाईंलाई क्यान्सर हुने खतरा कम हुन्छ । तर ध्यान दिनुपर्ने कुरा के छ भने नेपालजस्ता मुलुकमा बढीभन्दा बढी उत्पादन गर्न अत्यधिक विषादी मिसाइएको हुन्छ । त्यस्ता पालकको साग र फूलकोबी खाए, तपाईंलाई रोगले झन् चाँडो च्याप्ने सम्भावना हुन्छ । त्यसैले विषादी नमिसाइएको तरकारी वा फलका कुरा यहाँ हुँदैछ भन्ने कुरा तपाईंले बिर्सनु हुँदैन ।

विषादी नमिसाइएका यस्ता तरकारी वा फलको नियमित सेवन तपाईंलाई मुटुको व्यथाको खतरा कम हुन्छ । त्यस्तै स्याउ, नासपाती, अमिला फल, सलाद, हरिया पात भएका तरकारी खानै पर्छ।

यस शोधको परिणाम इन्टरनेसनल जर्नल अफ एपिडेमियोलजीमा प्रकाशित भएको छ । शोधको निष्कर्षका रुपमा यस्ता तरकारी र फलको सेवनले असमयमै हुने मृत्युको खतराबारे पनि बताइएको छ । जसले दिनभरिमा कुनै फल या तरकारी खाँदैन, त्यसको तुलनामा निश्चित मात्रामा तरकारी र फल खानेहरुबीच हुने हृदय रोग, क्यान्सर तथा असमयमै हुने मृत्युको खतराबारे आँकलन गर्ने प्रयास गरिएको छ।

२०० ग्राम फल–तरकारी खानेलाई मुटुको व्यथा लाग्ने खतरा १३ प्रतिशत कम र ८०० ग्राम खाँदा २८ प्रतिशत कम हुन्छ । २०० ग्रामले क्यान्सरको खतरा ४ प्रतिशत कम हुन्छ जबकि ८०० ग्रामले १३ प्रतिशत कम हुन्छ । यस्तै फलफूल तथा तरकारी २०० ग्राम मात्र खाँदा असमयमै हुने मृत्युमा १५ प्रतिशतले कमी हुन्छ भने ८०० ग्राम खाँदा ३१ प्रतिशत कम हुन्छ।

शोधमा संलग्न चिकित्सक डगफिन अन भन्छन्, ‘फलफूल तथा तरकारी खाँदा कोलेस्ट्रल तह र रक्तचाप निकै कम हुन्छ । यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई उम्दा बनाउँछ। साथै यसले हाम्रो रक्तधमनीलाई स्वस्थ बनाउँछ । यसमा भएको पोषक तŒवहरुका कारणले हामीलाई फाइदा पुगेको हो भन्ने बिर्सनु हुँदैन। किनभने यिनमा कैयौँ किसिमका एन्टीअक्सिडेन्ट हुन्छ । यसले डिएनएलाई पार्ने कुनै पनि किसिमको क्षतिलाई कम गराउँछ । जसै डिएनएको क्षति कम हुन्छ, हामीलाई क्यान्सरको खतरा पनि कम हुन्छ।

हुन त विश्व स्वास्थ्य संगठनले दिनभरिमा पाँच पटक (चार सय ग्राम) खानुपर्ने सुझावलाई पनि सर्वसाधारणले मानिरहेका हुँदैनन् । लन्डनमा त यति मात्रामा फलफूल तथा सागपात तीन जनामध्ये एक जनाले मात्रै खान पाउने गरेको वा खाने गरेको एउटा अध्ययनले देखाएको छ।

बिबिसी

प्रकाशित: १८ फाल्गुन २०७३ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App