coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

साहित्यमा राज

'राजनीति चारैतिरबाट बन्द छ र कला चारैतर्फ खुल्ला।'

'राजनीतिमा म प्रजातन्त्रवादी हुँ भने साहित्यमा अराजकतावादी।'

राजनीति र साहित्य दुवै क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विश्वेश्वरप्रसाद कोइरालाका यी भनाइले कला र साहित्य राजनीतिको तुलनामा कति विशिष्ट छ भन्ने पुष्टि गर्छ। तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदी आइन, श्वेत भैरवी, दोषी चस्मा, हिटलर र यहुदीलगायतका कृतिका लेखक कोइरालाका सिर्जना नेपाली साहित्यमा अब्बल  तथा अजरअमर मानिन्छन्। विद्यार्थीकालदेखि नै साहित्यमा निकै रूचि राख्ने उनको किशोर छँदा नै केही कविता भारतको 'हंश' नामक चर्चित पत्रिकामा छापिन थालेको थियो।

अनुहार एउटै भए पनि राजनीति र साहित्य दुई फरक विधामा योगदान पुर्‍याएका लेखक नेपालमा धेरै छन्। जेलमा बस्दा साहित्य सिर्जना गर्ने हुन् वा सक्रिय राजनीतिक जीवनबाट केही समय निकालेर साहित्य लेखन गर्नेहरू कसैले साहित्य र राजनीति एकै ठान्छन् त कोही भने नितान्त फरक देख्छन्। २००७ सालमा राणा शासन अन्त्य हुनुअघि आन्दोलनमा लागेका राजनीतिकर्मी हुन् या नयाँ पुस्तासम्मका थुप्रै राजनीतिकर्मी साहित्य सिर्जनामा लागिपरेका देखिन्छन्। कतिका फुटकर रचनाहरू पत्रपत्रिका र म्यागेजिनमा छापिने गरेका छन् भने कतिका पुस्तक नै प्रकाशित छन्। तीमध्ये कतिपय पाठकका प्रिय बन्न पुगेका छन् त कतिपय त्यसै ओझेल परेका छन्।

नेपालमा मात्र होइन, विश्वमै राजनीतिकर्मीहरू साहित्यमा उस्तै दख्खल राख्छन्। बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल लेखक, कलाकार र इतिहासकर्मी थिए। साहित्यतर्फको नोबेल पुरस्कारसमेत प्राप्त गरेका उनको योगदानको बारेमा साहित्यको पाठ्यक्रममा प्रशस्त चर्चा हुँदै आएको छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले लेखेको 'ड्रिम्स फ्रम माइ फादर' सबैभन्दा धेरै बिक्री (बेस्ट सेलर) हुने पुस्तकको सूचीमा पर्छ। सन् १९९५ मा पहिलो पल्ट छापिएको यो पुस्तक अहिले पनि संसारभर धेरै पढिने पुस्तकको कोटीमा पर्छ।

कोइरालाको साहित्यलाई निकटमा रहेर नियालेका साहित्यकार तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरी कोइरालालाई साहित्यमा असाध्यै चासो भएको र पढिरहन मन लाग्ने भएकाले साहित्यमा प्रवेश गरेको बताउँछन्। कोइरालाको परिवार राजनीतिमा भएका कारण दायित्वबोध भएर राजनीतिमा होमिए पनि साहित्यप्रति उनको लगाव र चासो निरन्तर रहेको उनको बुझाइ छ। 'यसले गर्दा पनि कोइराला राजनीतिज्ञ र साहित्यकार एकैसाथ हुन सफल भएका हुन्,' गिरी भन्छन्, 'उनले विश्व साहित्यको राम्रो अध्ययन गरेका थिए। बीपीको उचाईसँग अन्य राजनीतिकर्मीको तुलना गर्न सकिँदैन।'

राजनीति भर्सेज साहित्य

साहित्य तथा राजनीतिमा सक्रिय कवि कुन्ता शर्माको बुझाईमा राजनीति भनेको विचार र आफ्नो आस्थाको विषय हो। उनी साहित्य र राजनीतिलाई छुझ् ठान्दिनन्। उनको विचारमा साहित्य लेख्नेहरूले साहित्यमार्फत् आफ्नो भावना र विचार पोख्छन् भने समाजदेखि जीवन–जगत्सम्मलाई हेर्ने दृष्टिकोणलाई राजनीतिले सन्तुलन गरेको हुन्छ। 'राजनीति र साहित्य छुट्टै हो जस्तो मलाई लाग्दैन। परिवार, राजनीति र साहित्यलाई मैले सँगसँगै लगेँ,' उनी भन्छिन्। 

एमाले नेता तथा साहित्यकार मोदनाथ प्रश्रितको विचारमा भने राजनीति र साहित्य फरक–फरक कुरा हुन्। राजनीति नभई कानुन व्यवस्था नचल्ने भएकाले यसको सरोकार सबै हिसाबमा भएको उनी बताउँछन्। 'तर, साहित्यप्रति रूचि राख्ने, कल्पनाशील मान्छेको विषय साहित्य हो,' उनी थप्छन्, 'सबैसँग कल्पना हुन्छ, भावुकता पनि हुन्छ र जीवनको उचित व्यवस्थापन होस् भन्ने सोच पनि हुन्छ।' यसलै राजनीति र साहित्य दुवै पक्षलाई सामञ्जस्य गर्न आवश्यक हुने उनी बताउँछन्। राज्य नभई मान्छे स्थिर भएर बस्न नसक्ने र आफ्ना कल्पनालाई भावनासँग जोडेर नयाँनयाँ सिर्जना गर्न चाहनेले नलेखी पनि नछोड्ने कारणले राजनीतिकर्मी र साहित्यकार दुवै एउटै व्यक्ति हुन पुगेको प्रश्रितको अनुभव छ।

त्यसो त, सबै लेखक एकनासका हुन्छन् भन्ने पनि हुँदैन। राज्यसँग सबैको सरोकार हुन्छ, तर साहित्यमा सरोकार थोरैको हुन्छ। जस्तो अवस्थामा पनि मानिस राज्य र राजनीतिसँग अलग हुन सक्दैन। राज्यका समस्या र सुविधासँग अलग हुन पनि सक्दैन। त्यसैले पनि साहित्य लेख्नेहरू राज्य र साहित्यसँगै हिँड्छन्।

साहित्यकार, स्तम्भकार तथा राजनीतिकर्मी लोकेश ढकाल साहित्य र राजनीति अलगअलग विधा भए पनि राजनीतिकर्मीले साहित्यमा लाग्न नहुने र साहित्यकार राजनीतिमा लाग्न नहुने भन्ने नभएको बताउँछन्। नेपालमा भानुभक्त आचार्यको समयदेखि नै साहित्यकारहरूले राजनीतिप्रति चासो राख्ने गरेको इतिहास भएको उनको भनाइ छ। प्रतिबन्धितकालमा समेत राजनीतिकर्मीहरूले साहित्यमार्फत् राजनीतिक–वैचारिक सन्देश प्रवाह गर्ने गरेको उनी बताउँछन्।

सात सालमा राणा शासनको अन्त्य हुनुअघि भारतको बनारसतिर पढेका व्यक्ति समाज खुला भएपछि नेपाल आएर राजनीतिमा लाग्न थाले। तिनले विशाल भारतमा बसेर राजनीतिबारे धेरै कुरा बु‰ने अवसर पनि पाए। त्यस्तो अवसर नेपालमै रहेका तथा स्थानीयवासिन्दालाई थिएन। भारतमा बसेर राणाशासनविरुद्ध सक्रिय रहेका कतिपय नेता उतै बस्दा पनि फुर्सदमा साहित्य सिर्जनामा तल्लीन हुने गर्थे। नेपाल फर्केपछि राजनीति र साहित्य सँगसँगै लैजान सक्ने वातावरण बन्यो। प्रजातन्त्रपछि गाउँगाउँमा विद्यालय खुले। त्यस क्रममा पढेलेखेका व्यक्ति, साहित्यकारहरू लेखनका साथै राजनीतिमा आउने क्रम सुरु भयो।

ढकाल पनि साहित्य र राजनीतिको सम्बन्ध खोज्दा बीपी कोइरालालाई सम्झन्छन्। 'कोइरालाजस्तो विशिष्ट राजनीतिक उचाइं भएको स्रष्टा अर्को कोही छैन। उनको साहित्यिक योगदान अतुलनीय छ,' उनी भन्छन्। तीस वर्षको पञ्चायतकालमा कतिपय राजनीतिकर्मीलाई सत्ताले लामो समयसम्म जेलमा राख्नुका साथै कष्ट दिएकाले भोगाइ र अनुभव साहित्यको रूपमा आउन सकेको उनी बताउँछन्। 'नेपालमा राजनीति र साहित्य सात सालको क्रान्ति सफल भएपछि खुल्ला भयो,' ढकाल भन्छन्। बीपीको तुलनाको राजनीतिक र साहित्यिक व्यक्तित्व नेपालमा कोही पनि नभएको उनी ठोकुवा गर्छन्। 'उनले राजनीति र साहित्य दुवैलाई आआफ्नो मर्यादामा हिँडाउन सके,' उनी भन्छन्, 'त्यसैले त दुवै क्षेत्रमा उनको नाम आदरका साथ लिइन्छ।' बीपीका अधिकांश कृति पढेका उनलाई बीपीले लेखका रचनामा राजनीतिक विचार कहीँ झल्केको जस्तो लाग्दैन। साहित्यमा राजनीतिको छायाँ पर्न नदिएजस्तै राजनीतिमा पनि साहित्यलाई 'इम्पोज' गर्ने काम बीपीले नगरेको ढकालको भनाइ छ। 'त्यसैले पनि उनी साहित्यमा बढी स्वच्छन्दतावादी र राजनीतिमा एउटा विचार, दर्शन र अनुशासनमा चले,' उनी भन्छन्। साहित्य सीमारहित हुने र राजनीति सीमासहितको अनुशासनमा हुने उनको भनाइ छ। 

विषयवस्तु

अपवादलाई परै राख्दा, राजनीति गर्नेहरूले लेखेको साहित्यमा अधिक राजनीतिक विषयवस्तु वा गन्ध हुन्छ। कथा, कविता, उपन्यासजस्ता विधामा कलम चलाए पनि त्यसमा कतै न कतै राजनीति र समाजको गलत व्यवस्था जोडिएकै हुन्छ।

प्रश्रितको अनुभवमा विशुद्ध राजनीतिकर्मीहरूले लेख्ने विषय राजनीति र समाजको व्यवस्थासँग गाँसिएको हुन्छ। साहित्यमा धेरै दख्खल राख्नेहरूको भने छुट्टै स्वाद हुने उनी बताउँछन्। 'उनीहरूको भावमा समाजका मनोभाव समेटिन्छन्। सेनाले पनि गीत गाउने काम गर्छ। वकिलले कविता लेख्छ। राजनीतिकर्मीले हास्यव्यंग्य गर्छ,' उनी भन्छन्।

लेखकले मनमा लागेको कुरा लेख्नु साहित्य भएको शर्माको अनुभव छ। चेतना, समाज, यसका बेथितिलगायतले मानिसलाई साहित्य लेख्न प्रेरित गर्ने उनी बताउँछिन्। यसका लागि लेखक इमानदार हुन सक्नुपर्नेमा उनको जोड छ। 'राजनीतिकर्मी र लेखक दुवै इमानदार हुनैपर्छ। राजनीति गर्ने मान्छे इमानदार भए देश राम्रो बन्छ र लेखकले इमानदार भएर लेख्दा सुन्दर तथा स्तरीय साहित्य सृजना हुन्छ,' उनी भन्छिन्, 'यसले समाजलाई थप शक्ति दिँदै उज्यालोतर्फ डोर्‍याउँछ।'

त्यसो त, एउटा लेखकको एउटा कृतिमात्रै पढेर कसैलाई पनि चिन्न वा मूल्यांकन गर्न नसकिने प्रश्रित बताउँछन्। कम्तीमा २० वटा कविता वा केही कृति पढिसकेपछि मात्र लेखकका चिन्तन र भावना कस्ता रहेछन् अनि सुरुमा कस्तो थियो पछि कसरी परिवर्तन आयो भनेर मूल्यांकन गर्न सकिने उनको भनाइ छ। 'त्यस्तै, राजनीति गर्ने मान्छे सुरुमा कस्तो थियो, पछि कस्तो निस्कियो भनेर विचार गर्नुपर्छ,' उनी थप्छन्, 'राजनीतिमा धेरै लस्कँदै गए साहित्य कमजोर हुन्छ र साहित्यमा राजनीति मिसाउँदै गए साहित्य कमजोर हुन्छ। त्यसैले यी दुईको सन्तुलन अत्यन्त आवश्यक छ।' तर, यसरी तालमेल मिलाउन सक्ने लेखकहरू अहिले कमै भेटिने प्रश्रितको अनुभव छ। उनको विचारमा तालमेल मिलाउन त्यति सजिलो भने छैन। साहित्यकार अथवा कवि बन्नका लागि भावना, भावुकता र कल्पनाशीलता आवश्यक छ भने राजनीतिमा बौद्धिकता, निर्णय क्षमता र नेतृत्वदायी खुबी चाहिने उनी बताउँछन्।

कस्तो साहित्य सिर्जना गर्ने भन्ने कुरा व्यक्तिको आचरणमा भर पर्ने शर्मा बताउँछिन्। राजनीति गरेका कारण लेखन कमजोर नहुने उनको बुझाइ छ। सबैको विचार, दर्शन बेग्लाबेग्लै हुने भएकाले जसलाई जुन विचारले डोर्‍याउँछ त्यही कुरा उसको लेखनीमा पोखिने उनी बताउँछिन्। 'पाठकलाई तान्न सक्ने वा नसक्ने भन्ने कुरो लेखकको शिल्पमा भर पर्छ । शैली सुन्दर भए पक्कै पनि पाठकले राजनीतिको आधार आग्रह राख्ने छैनन्,' उनी भन्छिन्। रसियाली साहित्यकार तथा राजनीतिज्ञ म्याक्सिम गोर्कीले लेखेको  मदर (आमा) भन्ने किताब धेरै भाषामा अनुवाद भएको र त्यो कृति संसारमा सबैभन्दा बढी पढिएको उदाहरण दिँदै शर्मा थप्छिन्, 'हामी जसलाई वामपन्थीको विरोधी भन्छौँ, त्यस्तो मान्छेको कृतिमा जीवनको भोगाइ, वास्तविकता निष्ठापूर्वक पालन गरिएको छ।'

कविता, लेख र अन्य साहित्यिक रचना लेख्दै आएका ढकाल प्रतिबन्धित कालमा राजनीतिमा व्यस्त भए। फुर्सदको समयलाई सदुपयोग गर्न कविताहरू लेखे। कविता र साहित्यका माध्यमले पनि चेतना जगाउने काम गर्ने प्रयास गरे। त्यो दृष्टिकोणले पनि राजनीति र साहित्य सँगै आएको बताउने उनी यी दुई विधा फरक भएको बताउँछन्। 'साहित्य वा राजनीति जुन विधामा लागे पनि समाजको मूल्य मान्यता बु‰नुपर्‍यो,' उनी भन्छन्, 'चाहे राजनीति होस् वा साहित्य, दुवैमा गुणात्मक योगदान पुर्‍याउन सक्दा नै मान्छेले सम्झने हुन्।'

कतिबेला लेख्छन्?

कथा, कविता र निबन्धमार्फत आफ्ना भावना पोख्ने शर्मा साहित्यमार्फत् समाजमा देखेका र भोगेका विषयवस्तुमा आफ्नो धारणा र दृष्टिकोण राख्छिन्। 'म उभिएको ठाउँ' नामक कवितासंग्रह प्रकाशित गरेकी उनको विचारमा साहित्य अचार बनाएजस्तो होइन।

प्रश्रितको लेखनको ढाँचा भने छुट्टै छ। समयअनुसार उनको मस्तिष्कमा विषयवस्तु फुर्छ। बिहान उठ्दा दिमागमा कलाका भाग आउन सक्छ। यसले साहित्य सिर्जनामा सहयोग गर्छ भने दिउँसो राजनीति र विचारका भावना बढी आउँछन्। त्यस्तै, उनलाई हावा चलेको, पात हल्लिएको, एकान्तमा बसेको, जून लागेको बेलामा कविता फुर्छ।

राजनीति गर्ने मान्छे धेरै व्यस्त हुने भएकाले साहित्य सिर्जनाको लागि कम समय हुने ढकाल बताउँछन्। २०४६ सालको राजनीतिक परिवर्तनअगाडि आफू साहित्यिक गतिविधिमा बढी संलग्न हुने गरेकोमा अहिले राजनीतिक संलग्नता बढेकाले लेखनी केही कम बन्दै गएको स्वीकार्छन्। 'जेलमा बस्दा समय दिन सकिन्छ। जेल साहित्यिक सिर्जनाको उर्वर स्थान हो,' उनी भन्छन्, 'तर, साहित्य जेल बाहिर होस् या भित्र, लेख्ने भनेको समाजलाई सही बाटोमा ल्याउनकै लागि हो।' जुनसुकै विधामा लेखे पनि समाजलाई डोर्‍याउने र बाटो देखाउने काम साहित्यले गर्ने भएकाले उद्देश्यबिनाको लेखनको अर्थ नहुने उनी बताउँछन्।

विगतमा राजनीति एउटा मूल्यमा आधारित थियो। अहिले त्यो मूल्य हराउँदै गएको छ भने स्वार्थ र पदका लागि राजनीति गर्नेहरूको संख्या बढ्दै गइरहेको छ। पछिल्लो समय देशको राजनीति झनै जर्जर हुँदै गएकाले जनताले राजनीतिकर्मीलाई सकारात्मक आँखाले हेर्न छाडेको ढकालको भनाइ छ।  जनतामा राजनीतिप्रति उदासीनता बढ्दै गएकाले आममान्छेले राजनीतिकर्मीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको उनी बताउँछन्। त्यसको प्रभाव राजनीतिकर्मीले लेख्ने साहित्य र उनको आफ्नै लेखनीमा समेत परेको उनको भनाइ छ। 'पछिल्लो समय साहित्य र राजनीति दुवैमा उचाईं बनाएका व्यक्ति मैले देख्न पाएको छैन,' उनी भन्छन्।

नेता गिरी भने अहिलेको परिवेशमा राजनीतिकर्मीहरूले साहित्य लेखे पनि त्यसमा साधना भएको देख्दैनन्। अहिले कतिपय नेताले मनको रहर पोख्नलाई किताब लेख्न थालेको उनको आरोप छ। 'नेताहरूका कृति पढ्दा तिनले साहित्य साधना गरेर लेखेको मैले पाएको छैन। मनको तरंग पोख्न, रहरमा लेखिएको देखिन्छ,' उनले भने। नेपालमा अहिले साहित्य र राजनीति दुवैमा क्षमता भएका व्यक्ति नभएको गिरीको भनाइ छ। नेपालका नेताहरूले साहित्य अध्ययनसमेत नगरेको उनको आरोप छ। हरेक व्यक्तिको आफ्नो रूचि र पेशा हुने भएकाले राजनीति र साहित्यको सन्तुलन गर्नु जरुरी नभएको उनी बताउँछन्।

 

• नेताहरूका कृति पढ्दा तिनले साहित्य साधना गरेर होइन, मनको तरंग पोख्न, रहरमा लेखेका छन्। प्रदीप गिरी

• पछिल्लो समय साहित्य र राजनीति दुवैमा उचाईं बनाएका व्यक्ति मैले देख्न पाएको छैन। लोकेश ढकाल

• हामी जसलाई वामपन्थीविरोधी भन्छौँ, त्यस्तो मान्छेको कृतिमा पनि जीवन भोगाइ, वास्तविकता निष्ठापूर्वक पालन गरिएको पाइन्छ। कुन्ता शर्मा

• राजनीतिमा धेरै लस्कँदै गए साहित्य कमजोर हुन्छ र साहित्यमा राजनीति मिसाउँदै गए साहित्य कमजोर हुन्छ। मोदनाथ प्रश्रित

प्रकाशित: २५ असार २०७३ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App