८ वैशाख २०८१ शनिबार
खेल

रेलवे र एपिएफ फाइनलमा

 नेपालगन्ज- दोस्रो सेटमा लिएको अग्रतालाई जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप चौथो महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा रेलवे टिम इन्डियासँग सोझो सेटमा पराजित हुनुपरेको छ।

नेपालगन्ज रंगशालामा आर्मीले रेलवेलाई २५–१६, २५–२३, २५–१४ ले नतिजा सुम्पियो। जितपछि रेलवे टिम इन्डियाले बुधबार प्रतियोगिताको फाइनलमा लगातार दोस्रो पटक एपिएफसँग खेल्नेछ। एपिएफले नेपाल पुलिस क्लबलाई २५–१३, २५–७, २५–२२ को सोझो सेटमा हराउँदै उपाधि नजिक पुग्यो।

समूह चरणको अन्तिम खेलमा आर्मी एपिएफविरुद्ध अन्डर १० मा पराजित भएको थियो। तर मंगलबार आर्मीले उत्कृष्ट सुरुआत गरेको थियो । दोस्रो सेटमा आर्मी थप बलियो देखिएको थियो। २१–१९ ले अग्रता लिएको आर्मीलाई जित हासिल गर्न ४ अंकको आवश्यकता थियो । तर भारतीय टोलीका दुई खेलाडी सम्मिलित रेलवेले आर्मीको अग्रतालाई रोक्दै दोस्रो सेट आफ्नो पक्षमा पा¥यो ।

जारी प्रतियोगितामा लिग चरणको खेल सकिँदासम्म रेलवेले नेपाल पुलिस र आयोजक मध्यपश्चिमलाई सहजै सोझो सेटमा हराएको थियो । तर आर्मीविरुद्ध भने रेलवेले दबाबको सामना गर्नुपरेको थियो ।

 दोस्रो सेटमा २३–२३ को बराबरी भएका बेला आर्मीले लगातार दुई अंक गुमाएपछि खेलमा पछि परेको थियो । कप्तान मनीषा खाँडको स्पाइक ब्लक भएलगत्तै आर्मीकी अर्की स्पाइकर गीता डाँगीको स्पाइक आउट भएपछि रेलवेले जित हासिल गरेको थियो ।

दोस्रो सेट गुमाएपछि आर्मीले रेलवेलाई कडा चुनौती दिन सकेन । आर्मीका प्रशिक्षक लोकबहादुर बुढाले रेलवे टिम इन्डियाजस्तो सशक्त टोलीसँग उत्कृष्ट खेल खेलेको बताए । उनले भने, ‘हामीले सुरुआत उत्कृष्ट लयमा गरेका हौं । सबैको समन्वय मिलेको थियो । स्पाइकमा हामीले राम्रो गरेका थियौं । तर फिनिसिङ मोडमा गएर खेलाडी नर्भस भए । त्यसले एउटा सेट जित्ने लक्ष्य पूरा भएन ।’

घरेलु भलिबलको कान्छो विभागीय टोली आर्मी सात महिनापछि राष्ट्रिय स्तरको प्रतियोगितामा सेमिफाइनल पुगेको हो ।

भदौमा लामाचौरमा भएको खुला महिला भलिबलको सेमिफाइनलमा पुगेयता आर्मीले अन्य प्रतियोगितामा गतिलो नतिजा निकाल्न सकेको थिएन ।

आर्मीका प्रशिक्षक प्रधानमन्त्री कपमा सेमिफाइनल पुग्नुलाई उपलब्धि मान्छन् । उनले भने, ‘पोखराको तुलनामा प्रधानमन्त्री कपमा सहभागी टोलीको स्तर माथि छ । हामीले हरेक खेलमा सुधार गरिरहेका छौं। आज टोलीले सन्तोषजनक खेल्यो । यसबाट निराश हुनुपर्ने कारण छैन । भारतीय टिमको स्तर धेरै माथि छ ।’ आर्मीले अब बुधबार तेसो स्थानका लागि नेपाल पुलिससँग खेल्नेछ ।

गत वर्ष रेलवेले एपिएफलाई फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । एपिएफमा नेपाली राष्ट्रिय टोलीका पाँच जना कप्तान विनीता बुढाथोकीसँगै सरस्वती चौधरी, नेविका चौधरी, रेश्मा भण्डारी र उषा विष्टले खेल्ने गर्छन् । रेलवे टिममा भारतीय टोलीकी स्पाइकर प्रीति सिंह र अनुश्री घोष छन् ।

वर्षको अन्त्यतिर आइपुग्दा एपिएफले घरेलु तीन प्रतियोगिता जितेको छ । एपिएफले पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद, शेरबहादुर खड्का स्मृति भलिबल र पोखरामा भएको आमन्त्रण महिला भलिबल जितेको थियो ।

एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरीले गत वर्षको फाइनलको बदला लिने बताइन् । उनले भनिन्, ‘गत वर्षभन्दा हामी अहिले बलियो भएका छौं । सोझो सेटमा रेलवेलाई हराउने लक्ष्य छ । गत वर्ष हाम्रो ब्लकमा समस्या थियो । तर अहिले त्यो छैन ।’

सर्भिस, रिसिभ र स्पाइक तीनै पक्ष एपिएफको बलियो भएको सरस्वतीले दाबी गरिन् । उनले थपिन्, ‘भारतीय टिमलाई हराउन ब्लक बलियो हुनुपर्छ । उषा  मुख्य ब्लकर हुन् । अहिले अन्य खेलाडीको ब्लक राम्रो छ । एपिएफ राम्रो टिम हो । सबैले हामीबाट राम्रो नतिजाको आशा गर्छन् । रेलवेलाई हराउँदै सुखद नतिजा लिएर फकर्ने कोसिस गर्छौं ।’

 

 

 

प्रकाशित: १८ फाल्गुन २०७३ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App