७ वैशाख २०८१ शुक्रबार
खेल

रोकाया आदर्श व्यक्तित्व वर्ष खेलाडी

 काठमाडौं– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपी)ले मंगलबार एथलेटिक्स प्रशिक्षक तथा पूर्वधावक हरिबहादुर रोकायालाई गजराज स्मृति आदर्श व्यक्तित्व वर्ष खेलाडी पुरस्कारबाट सम्मानित गरेको छ ।
खेलको कुम्भमेला ओलम्पिकमा १९८८ र १९९२ मा सहभागिता जनाएका हरिबहादुरले विश्वकै उच्च स्थानमा हुने एभरेस्ट म्याराथनमा लगातार तीन पटक विजय हासिल गरेका थिए । एभरेस्ट म्याराथनमै पाएको सफलताबाट उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका थिए । खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै एनएनआइपीले हरिबहादुरलाई सम्मान गरेको हो।
हरिबहादुरलाई पूर्वअर्थमन्त्री शंकर कोइरालाले सम्मानपत्र र गजराज स्मृति प्रतिष्ठानका मनीष जोशीले नगद २५ हजार रुपैयाँ प्रदान गरी सम्मानित गरेका थिए ।
त्यसका साथै २०७२ मा अब्बल प्रदर्शन गरेका २२ खेलाडीलाई पनि उत्कृष्ट वर्ष खेलाडीका रूपमा सम्मान गरिएको थियो । गजराज स्मृति प्रतिष्ठानबाट नगद २५ हजारसहित सम्मानित भएका हरिबहादुरले यस्तो सम्मानबाट खेलाडीको मनोबल बढाउन सहयोग पुग्ने बताए ।
‘मैले खेलजीवनका साथै अहिले जुन काम गरिरहेको छु त्यसको मूल्याङ्कन भएको महसुस भएको छ,’ सम्मान थापेपछि हरिबहादुरले भने, ‘यस्तो सम्मानले खेलाडीको मनोबल बढाउने काम गर्छ । विशेष गरी नयाँ खेलाडीहरूलाई उत्साह दिन्छ । देशका कुनाकाप्चामा रहेका खेलाडीको पहिचान गरी सम्मान गर्ने दायित्व संघसंस्थाभन्दा पनि सरकारको हो ।’
थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौडमा भाग लिइसकेका हरिबहादुर पछिल्लो समय जन्मभूमि जुम्लामा आफूजस्तै खेलाडी उत्पादन गर्नमा क्रियाशील छन् । एभरेस्ट म्याराथनको सुरुका दुई सहभागितामा दोस्रो स्थान हासिल गरेका हरिबहादुरले १९९८, १९९९ र २००० पहिलो स्थान हासिल गरेका थिए ।
त्यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगर तथा फुटबलका नवयुग श्रेष्ठ पनि उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भए । उसुकी निमालाई गायक तथा पूर्व उसु खेलाडी हेमन्त रानाले नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरे । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा हेमन्तले आफ्नो प्रस्तुति दिएका थिए ।
त्यस्तै ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी बनेकी पौडीकी गौरिका सिंह, एथलेटिक्सका हरि रिमाल तथा  ब्याटमिन्टनकी नङसलदेवी तामाङ सम्मानित भए । सम्मानित खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, एनएनआइपीका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक दीपक विष्ट र महासचिव दीपक श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए । सम्मानित खेलाडीले १० हजार रुपैयाँ नगद हात पारेका थिए ।
उत्कृष्ट भलिबल खेलाडीबाट एपिएफकी सरस्वती चौधरी सम्मानित भइन् भने बक्सिङबाट सरस्वती राना सम्मानित भइन् । भारोत्तोलनबाट विकास थापा उत्कृष्ट हुँदा तेक्वान्दोमा वीरबहादुर महरा उत्कृष्ट बने । आर्चरीबाट प्रेमप्रकाश पुन, लन टेनिसमा अविशेक बास्तोला, स्क्वासमा अरहान्त केसी तथा टेबलटेनिसबाट दीप साउद उत्कृष्ट घोषित भए ।
त्यस्तै, ट्रायथोलनबाट रोजा केसी, ह्यान्डबलबाट रञ्जना राई, हक्कीबाट पुष्प रानामगर, सुटिङकी राज्यलक्ष्मी राणा र साइक्लिङबाट अजय पण्डित क्षत्री सम्मानित भए ।
एनएनआइपीले प्रत्येक वर्ष उत्कृष्ट खेलाडीले सम्मानित गर्दै आएको छ । रियो ओलम्पिकको ब्याटमिन्टन खेलमा लाइनरेफ्रीको जिम्मेवारी सम्हालेका काठमाडौं ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापालाई पनि मंगलबार सम्मानित गरिएको थियो । ओलम्पिकमा रेफ्रीको जिम्मेवारी पाउने उनी पहिलो नेपाली खेलाडी हुन् ।  
 

प्रकाशित: १८ फाल्गुन २०७३ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App