coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जरिवाना तिर्छन्, आय–व्यय देखाउँदैनन् दल

काठमाडौं-‘अबको निकास आर्थिक विकास’ नारा लिएर  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आयोगमा सय रुपैयाँ जरिवाना तिरेको छ । यो वर्ष यसरी जरिवाना तिर्ने दलको संख्या ११ पुगेको छ ।

आर्थिक पारदर्शिताको कुरा गर्ने राजनीतिक दलहरूले आयोगले तोकेको समयभित्र आम्दानी–खर्च विवरण नबुझाउँदा जरिवाना तिरेका हुन् । लेखापरीक्षण सहितको आय–व्यय विवरण आयोगमा नबुझाउँदा सोमबारसम्म ११ वटा दलले सय रुपैयाँ जरिवाना तिरेका छन् ।

नयाँ शक्तिसँगै उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल, राजकिशोर यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले पनि आयोगमा सय रुपैयाँ जरिवाना तिरेका छन् ।

त्यसैगरी नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक, गान्धीवादी पार्टी नेपाल, नेपाली जनता दल नेपाल, नेपाल सुकुमबासी पार्टी लोकतान्त्रिक, राष्ट्रिय चुरेभावर पार्टी, हाम्रो पार्टी, युवा नेपाल पार्टी, जनता दल पार्टीले सिन समयमै आय–व्यय विवरण नबुझाएबापत सय रुपैयाँ जरिवाना तिरेका छन् ।

निर्वाचन आयोगका अनुसार फागुन ११ को निर्णयले आम्दानी–खर्च बुझाउन अटेर गर्ने दलहरूलाई सय रुपैयाँ जरिवाना बुझाउन ताकेता गरिएको थियो । राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १२ अनुसार तोकिएको म्यादभित्र वार्षिक प्रतिवेदन नबुझाउने दलहरूलाई सय रुपैयाँ जरिवाना गरिन्छ ।

जम्मा सय रुपैयाँ जरिवाना तिरेर उम्किन मिलेपछि दलहरूले समयमै आय–व्यय नबुझाउने गरेको देखिन्छ। अधिकांश साना राजनीतिक दलले आम्दानी–खर्च विवरण बुझाएको पाइँदैन । निर्धारित म्यादभित्र आम्दानी–खर्च नबुझाउँदा ३० वटा दललाई आयोगले पत्र पठाउँदै स्पष्टीकरणसहित जरिवाना तिर्न भनेको थियो ।

पटकपटक पत्र पठाएर विवरण बुझाउन ताकेता गर्दासमेत दलहरूले नमानेको आयोगको गुनासो छ ।

निर्वाचन आयोगले दलहरूलाई अघिल्लो आर्थिक वर्षको आम्दानी–खर्च विवरण बुझाउन गत पुस मसान्तसम्म समय दिएको थियो । सो अवधिमा यस्तो विवरण नबुझाउने दलसँग आयोगले पहिलोपटक जरिवाना गर्नु नपर्ने चित्तबुझ्दो जबाफ मागेको थियो । त्यसको जबाफ नपाएपछि आयोगले दोस्रोपटक जरिवाना र्तिन सूचना प्रकाशित गरेको थियो । निर्वाचन आयोगको फागुन १४ मा बसेको बैठकले २१ गतेसम्म सय रुपैयाँ जरिवाना बुझाउन ३० दललाई पत्र पठाएको थियो।

अझै १९ वटा दलले सय रुपैयाँ जरिवाना तिर्न बाँकी छ । नबुझाउनेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), दलित जनजाति पार्टी नेपाल, नेपाली जनता दल, राष्ट्रिय जनएकता पार्टी, शान्ति पार्टी नेपाल, नागरिक समाजवादी पार्टी, नेपाली कांग्रेस राष्ट्रवादी, चुरेभावर राष्ट्रिय पार्टी, हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल वादले जरिवाना बुझाएका छैनन्।

त्यसैगरी राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, मातृभूमि नेपाल पार्टी, श्रमिक जनता पार्टी नेपाल, नेपाली ग्रिन्स पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी, नेपाल न्यायिक दल, राष्ट्रिय दल नेपालले पनि जरिवाना तिरेको छैनन् । उनीहरूलाई छिटो सय रुपैयाँ जरिवाना तिर्न आयोगले आग्रह गरेको छ ।

संविधानको धारा २६९ मा राजनीतिक दलसम्बन्धी व्यवस्था छ । सो अनुसार निर्वाचन प्रयोजनका लागि आयोगबाट मान्यता प्राप्त गर्न आयोगमा दर्ता हुनुपर्ने प्रावधान छ । निर्वाचन आयोगमा हाल १ सय १० दल दर्तामा छन्।

प्रकाशित: १८ फाल्गुन २०७३ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App